क्राइमियास्थित रुसी सैन्य हवाई अड्डामा विस्फोटले नराम्रो क्षति

राजनीति विश्व समाचार

श्रावण २६, १०७९-

भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा यस साताको सुरुमा भएका विस्फोटहरूपछि क्राइमियाको एक रुसी हवाई आधारक्षेत्रमा ठूलो हानि र कैयौँ रुसी युद्ध विमानहरू ध्वस्त भएको देखिएको छ।

रुसशासित क्राइमियाको पश्चिममा रहेको साकी आधारक्षेत्रमा मङ्गलवार शृङ्खलाबद्ध विस्फोटहरू हुँदा एक जनाको मृत्यु भएको थियो।

युक्रेनले त्यसको जिम्मेवारी दाबी गरेको छैन तर यो नयाँ प्रमाणले सम्भवतः त्यहाँ निशानाबद्ध हमला भएको देखाउँछ।

अमेरिकामा रहेको प्लानेट ल्याब्जबाट प्राप्त तस्बिरहरूमा त्यहाँ सिर्जित आगोबाट ठूलो क्षेत्र जलेको देखिन्छ।

उक्त हवाई मैदानको मुख्य धावनमार्ग असररहित देखिन्छ तर कम्तीमा आठ वटा विमानहरू ध्वस्त भएको देखिन्छ।

त्यहाँ कैयौँ खाल्डाहरू समेत स्पष्टसँग देखिन्छन्।

ती धेरैजसो उक्त आधारक्षेत्रको निश्चित क्षेत्रमा देखिन्छ जहाँ धेरै सङ्ख्यामा विमानहरू खुला आकाशमै पार्क गर्ने गरिन्छ।

तर अझै उक्त आधारक्षेत्र कसरी वा केबाट ध्वस्त भयो भन्ने स्पष्ट हुन सकेको छैन।

रुसी दाबी अनुसार अग्नि सुरक्षाका नियमहरू तोडिँदा त्यहाँको विस्फोटक पदार्थ भण्डारमा विस्फोटन भएको हो।

युक्रेनले जिम्मेवारी दाबी गरेको छैन र उसका रक्षामन्त्रीका अनुसार त्यसको दोषी लापरवाह रुसी सैनिकहरू हुन सक्छन्।

“मलाई लाग्छ त्यस हवाई आधारक्षेत्रका सैनिकहरूले खतरनाक ठाउँहरूमा धूमपान नगर्ने भन्ने सामान्य नियमहरू तोडेका छन्,” ओलेस्की रेज्निकोभले भने।