कार्तिक ८, २०७९/बेलायत- भारतिय मुलका ऋषि सुनक ब्रिटेनका नयाँ प्रधानमन्त्री बनेका छन । सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका हुन ।
राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बन्न सफल भए ।
उनी यस वर्षका त्यहाँका तेस्रो प्रधानमन्त्री हुन ।
दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन् । यो घटनाक्रमले भारतमा राजनितिक दलहरुबिच तहल्का मच्चाएको छ । उनका पुर्खाहरु अफ़्रिकि मुकुल हुँदै त्यहाँ पुगेका थिए ।
सुनकले के भने?
डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै उनले आफ्ना पूर्ववर्तीले गरेका “केही गल्तीहरू” सुधार्ने काम “तत्काल सुरु हुने” बताएका छन्।
उनले भने, “हाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ।”
उनले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका “अभूतपूर्व उपलब्धिहरू”प्रति सधैँ धन्य रहने समेत बताए।
ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन्।
ट्रसका उत्तराधिकारी
त्यससँगै निवर्तमान प्रधानमन्त्री लिज ट्रस आधिकारिक रूपमा बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यभार सम्हाल्ने प्रधानमन्त्री बनेकी छन्।
ट्रसले यसअघि दिएको एक छोटो बिदाइ मन्तव्यमा कर कटौतीको माध्यमबाट आर्थिक अप्ठ्यारा कम गर्ने आफ्नो प्रयासको बचाउ गर्दै नेताहरू साहसी हुनु पर्ने धारणा राखिन्।
यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि सुनक यसपालि विजयी भएका हुन्।
सोमवार टोरी सांसदहरूले कन्जर्भेटिभ दलको नेता चयन गरेपछि सुनकले देशले “गहिरो आर्थिक चुनौती” सामना गरिरहेको बताएका छन्।
उनले लेबर, स्कटिश न्याशनल पार्टी, लिबरल डेमोक्र्याट र ग्रिन पार्टीको आह्वानको बाबजुद पनि प्रारम्भिक आम निर्वाचनलाई अस्वीकार गरेका छन्।
