
पुष १५,२०७९/गुजरात- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबाको ९९ वर्षको उमेरमा निधन भएको छ ।
उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई गृह राज्य गुजरातस्थित अस्पतालमा भर्ना गरिएको थियो ।
मोदीले ट्वीट लेख्दै आफ्नी आमामा “निष्काम कर्मयोगीको प्रतीक तथा मूल्यप्रति प्रतिबद्ध जीवन समाहित” रहेको आफूले पाएको लेखेका छन् ।
भारतीय प्रधानमन्त्री महत्त्वपूर्ण पर्व र उत्सवहरूमा आमाको आशीर्वाद लिन गृहराज्य गुजरात जाने गर्थ । आमाको जीवन र सङ्घर्षले आफ्नो मस्तिष्क, व्यक्तित्व र आत्मविश्वास “निर्माण” गरेको भनेर उनले ९९ औँ जन्मदिनका दिन गत जुन महिनामा ट्वीट लेखेका थिए ।
“मेरी आमा जति सामान्य हुनुहुन्छ उत्ति नै अभूतपूर्व पनि, अन्य आमाहरूजस्तै,” उनले लेखे।
पछिल्लो पटक मोदी आफ्नी आमासँग डिसेम्बर ४ तारिखमा सार्वजनिक रूपमा देखिएका थिए जतिबेला गुजरातमा विधानसभाको चुनाव भइरहेको थियो । 
कस्तो थियो हीराबाको जीवन?
हीराबाको जन्म सन् १९२३ मा गुजरातको मेहसाना जिल्लास्थित विसनगरमा भएको थियो।
“उहाँको बाल्यकाल गरिबी र अभावमा बितेको थियो,” मोदीले लेखेका थिए।
किशोरी हुँदा उनको विवाह दामोदरदास मुलचन्द मोदीसँग भएको थियो र उनी केही किलोमिटर टाढा पर्ने वदनगरमा विवाह गरेर गएकी थिइन् ।
“वदनगरमा हाम्रो परिवार एउटा सानो घरमा बस्ने गर्थ्यो जुन घरमा झ्याल पनि थिएन, शौचालय वा स्नानघरको त कुरै छोडौँ,” मोदीले आफ्नो ब्लगमा लेखेका थिए।
मोदीले आफ्नी आमालाई समयनिष्ठ, स्वच्छ र परिश्रमी भनी व्याख्या गरेका छन्। “काम गर्दा उहाँ आफ्नो मन पर्ने भजन गाउनुहुन्थ्यो,” उनले लेखेका छन्।
हीराबा सार्वजनिक कार्यक्रममा सहभागी हुन्न थिइन् ।
मोदीले सन् २००१ मा आफूले गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिँदा मात्रै आमा आफूसँगै कार्यक्रममा रहेको र त्यसयता कहिल्यै पनि सार्वजनिक कार्यक्रममा आफूसँग नआएको बताएका छन् ।
सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्री बने पनि हीराबाले त्यसको दुई वर्षपछि मात्रै दिल्लीमा छोरालाई भेटेकी थिइन्।
मोदीले आमालाई किन सँगै राखेनन्?
हीराबा गुजरातस्थित आफ्ना अर्का छोरा र उनको परिवारसँग बस्ने गर्थिन्।
मोदीले आफ्नी आमालाई आफूसँगै किन राख्दैनन् भनेर विपक्षी पार्टीले पटकपटक प्रश्न उठाउने गरेको थियो ।
गुजरातको मुख्यमन्त्री हुँदा पनि मोदीकी आमा मुख्यमन्त्री निवासबाट केवल तीन-चार किलोमिटर टाढा रहेको आफ्नो अर्का छोरा पङ्कज मोदीको घरमा बस्थिन् ।
हीराबाले प्रधानमन्त्री बनेका छोरासँग किन नबसेको भनेर कहिल्यै बताइनन्। तर मोदी आफैँले भने त्यसबारे चर्चा गरेका थिए।
सन् २०१९ मा अभिनेता अक्षय कुमारसँगको गैरराजनीतिक विषयमा गरिएको एउटा कुराकानीमा उनले यसबारे चर्चा गरेका थिए।
मोदीले आफूले सानै उमेरमा घर छोडेको र आफ्नो जीवन एकदमै फरक रहेको बताएका थिए।
कुराकानीमा मोदीले भनेका थिए, “म प्रधानमन्त्री बनेर घरबाट निस्किएको भए सबै मैसँग बसून् भन्ने चाहन्थेँ। तर सानै उमेरमा घर छोडेका कारण परिवारप्रति लगाव, मायामोह यी सबै छुटे। मेरी आमा म तेरो घरमा बसेर के गरौँला, तँसँग के कुरा गरौँला भन्नुहुन्छ।”
