प्रधानमन्त्रीको निर्देशनपछि मलेसियामा बन्धक बनाइएका १३ नेपाली स्वदेश फर्किँदै

राजनीति समाचार

पुस २५,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको निर्देशन पछि मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली घर फर्किने भएका छन । उद्धार भएकामध्ये ६ जना भोली मंगलबारनै स्वदेश फर्किने हुन ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझि तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको PRS Forest Management कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन । मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोली, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् ।

यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको छ ।