माघ १,२०७९/पोखरा-
नेपाल सरकारले पोखरामा भएको हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्दै सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको आकस्मिक बैठकले पोखरा घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
आइतबार दिउँसो काठमाडौंबाट पोखरा जादै गरेको यति एयरलाइन्सको प्लेन महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको थियो ।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ । बैठकले माघ २ सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ ।
बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।
साथै सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ । त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ ।
