टर्की र सिरियामा शक्तिशाली भूकम्प, ५०० जना भन्दा बढीको मृत्युु

राजनीति विश्व समाचार


पुस २३ सोमबार,२०७९/टर्की-
शक्तिशाली भूकम्पका कारण ५०० जना भन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।

उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।

हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।

उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।


राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।”

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

क्षतिको विवरण आउने क्रम जारी छ।
भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ।

कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

दियारबाकरस्थित बीबीसी टर्कीश संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ।

गाजा स्ट्रिपमा रहेका बीबीसीका एक कार्यक्रम उत्पादक रुश्दी अबुअलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताए।

टर्कीका भूकम्पविद्ले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्।

उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।