जनयुद्ध दिवस: पाँचौ सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन आयोजना

खेलकुद पर्यटन राजनीति समाचार

फागुन २ मंगलबार,२०७९/रुकुम पश्चिम-
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको ‘पाँचौ सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन’ को उपाधी दुर्गाबहादुर बुढा र मञ्जु रावतले हात पारेका छन ।

पुरुष तर्फको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्नुहुँदै रुकुमका बुढाले प्रथम स्थान प्राप्त गरेका हुन । उनले चारघण्टा ५८ मिनेटको समयमा तोकिएको दुरी पार गर्नुभएको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । बुढाले एक लाख पुरस्कार राशी प्राप्त गरेका छन ।

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दुरी पार गरेर दोश्रो स्थान हाँसिल गरेका थिए । भने रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दुरी पार गरेर तेस्रो स्थान प्राप्त गरेका थिए । निर्धारित दुरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान ल्याएका थिए ।

दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमैसँग ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिए । प्रतियोगिताको दशौ स्थानसम्म आउने प्रतियोगीहरुलाई जनही तीन हजार पुरस्कार दिईएको उनले बताए ।

त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम भएकी छिन । उनले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गरेकि थियिन । त्यसैगरी खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दोश्रो स्थान हाँसिल गरिन भने जुम्लाकी राज्य लक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गरिन । उनले तीन घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गरेकी थियिन । सुर्खेतकी बिन्दु हमालले तीन घण्टा ४२ मिनेटमा उक्त दुरी पार गरेर चौथो स्थान प्राप्त गर्न सफल भयिन ।

प्रथम, दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । महिला तर्फ पनि दशौ स्थान सम्म प्राप्त गर्ने प्रतियोगिहरुलाई जनही तीन हजार पुरस्कार प्रदान गरिएको छ ।

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकिय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आईरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो । उनका अनुसार तत्कालिन माओवादीले संचालन गरेको ‘जनयुद्ध’ताका माओवादी गुरिल्लाहरु हिडेको बाटोमा धावकलाई दौडाईएको हो ।

म्याराथनको पाँचौं संस्करणको लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख र गाउँपालिकाको आठ लाख रुपियाँ लगानी गरेको थियो ।
radiomaurakharafm.com.np