फागुन ४ बिहीवार,२०७९/मुम्बई-
ग्यास दुर्घटनामा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको छ । बिहीवार किर्तिपुर अस्पतालले त्यहाँबाट अन्य सुविधासम्पन्न अस्पतालमा लिएर जान सल्लाह दिएपछि भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा भर्ना गरिएको छ । उनलाई आजै दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत त्यहाँ पुर्याइएको हो ।
अस्पताल श्रोतका अनुसार उनको अनुहारमा आगोले पोलेका कारण श्वासनलीमा समेत समेत असर पुगेको छ ।
यसैबीच, सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने आजै बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे भान्सा कोठाको ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए ।
