प्रजातन्त्र दिवस: राष्ट्रिय सहमतिमार्फत् देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सकौ- प्रधानमन्त्री

राजनीति समाचार

फागुन ७ आइतबार,२०७९/काठमाडौं-
Nप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत् देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस भन्ने कामना गरेका छन।
प्रधानमन्त्रीले ७३ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै शुभकामना सन्देशमार्फत सो कुरा बताएका हुन।

उनले यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन।

‘नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ,’आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहि आएको छ,’।

पूर्णपाठमा लेखिएको छ,’तसर्थ, ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छ,’।