फागुन १६ मंगलवार,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन।
फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाईने लदी पर्व माझी समुदायले बिशेष उल्लासकासाथ मनाउने गर्छन। प्रधानमन्त्री प्रचण्डले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेको बताएका छन्।
शुभकामना सन्देश दिदै प्रधानमन्त्रीले चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको जिकिर गरेका छन।
“माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जाति हो । विकासका पूर्वाधार, जलविद्युत, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेशा बिस्तारै लोप हुँदै गएको छ । यद्यपि, माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्वन्धलाई थप उजागर र स्थापित गर्नेछ ।
वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ,” उनले उल्लेख गरेका छन।
साथै उनले यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायको बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन अपिल गरेका छन।

