शान्ति सम्झौता र परिवर्तनका विरुद्ध कुनै पनि गतिविधिको प्रतिवाद गर्न एकमत छौँ: ८ माओवादी दल

राजनीति समाचार

फागुन २३ मंगलबार,२०७९/काठमाडौं-
आठ माओवादी दलहरुले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्न एकमत भएको बताएका छन् ।
मंगलबार बालुवाटारमा बसेको साझा माओवादी पृष्ठभुमि भएका आठ दलहरुको बैठकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा चर्चाबारे गम्भीर ध्यानाकर्षण भएकोबारे छलफल गरे।
यसैगरी बैठकबाट उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा जोड दिए।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, ‘प्रकाण्ड’ ,नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’,नेकपा (माओवादी समाजवादी)का अध्यक्ष, कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका नारायणप्रसाद धिमाल रहेका छन्। करिब दुई घन्टा लामो चलेको बैठकले छरिएका माओवादीहरुबिच एकताबारे निकै सकारात्मक निचोड निकालेको श्रोतले जानकारी गराएको छ।