मधेश प्रदेशबाट सुशासनको सुरुवात गरौँ : मन्त्री मोदी

राजनीति समाचार

चैत्र ४ सनिवार,२०७९/काठमाडौं-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मधेश प्रदेशबाट सुशासनको सुरुवात गर्नुपर्ने बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।

“जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुकेर गयो, यो खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो । त्यही घडासँगै सीताको जन्म भयो, र पानीको पनि प्रबन्ध भयो भन्ने किंवदन्ती छ” मन्त्री मोदीले भने, “मुलुकमा अहिले विकृति र विसंगति बढिरहेको छ, म चाहन्छु, सीताको जन्मस्थान भएको मधेश प्रदेशबाट सुशासनको सुरुवात होस् ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुल ध्येय पनि मुलुकमा सुशासन कायम गर्ने भएकाले आफूले सम्हालेको मन्त्रालयले सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको मन्त्री मोदीको भनाई थियो।

ट्रेड युनियनमार्फत् राजनीतिमा लागेका कर्मचारीहरुले पनि पहिला जनताको सेवा र त्यसपछि मात्रै राजनीति गर्नुपर्ने मन्त्री मोदीले बताए । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए उनीहरुमाथि कारबाही हुने मन्त्री मोदीको भनाई थियो।

मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै संघीय निजामती ऐन टेबुल गर्ने आफ्नो तयारी रहेको समेत बताए। ऐनका काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री मोदीले भने, “संघीय निजामती ऐनको काम अन्तिम चरणमा पुगिसकेको छ, संसदको जारी अधिवेशनमा टेबुल गर्ने तयारीमा छौँ।”