चैत्र ५ आइतबार,२०७९/मोरङ-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राज्यले कसैप्रति विभेद नगर्ने बताएका छन्।
मोरङको रंगेलीमा नेपाल सन्थाल इसाई समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।
“राज्य सबैको अभिभावक हो, कुनै जाति वा धर्म विशेषलाई लिएर राज्यले कसैप्रति विभेद गर्दैन” मन्त्री मोदीले भने। माओवादीको नेतृत्वमा भएको जनयुद्धकै कारण मुलुक धर्मनिरपेक्षता गएको बताउँदै उनले भने, “माओवादी जनयुद्धकै कारणले देश धर्मनिरपेक्षतामा गएको हो, कोही हिन्दु धर्म मान्नेहरु होलान्, कोही मुस्लिम, बौद्ध धर्म त कोही क्रिश्चियन होलान्, धर्मको आधारमा राज्यले कसैलाई विभेद गर्दैन।”
राज्यको कुनै एउटा धर्म हुन नसक्ने उनको भनाई थियो। “राज्यको आफ्नो कुनै एउटा धर्म हुँदैन, राज्य सबैको हो, सबै धर्म र सबै जाति राज्यका लागि बराबर हुन्छ” मन्त्री मोदीले भने।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, गयनन्द मण्डल, रंगेली नगरपालिका मेयर दिलिप कुमार अग्रवाल लगायत उपस्थित थिए।
आजै मोरङको बेलबारीमा जारी धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै मन्त्री मोदीले राज्यले सबै धर्म र जातिलाई समान व्यवहार गर्ने बताएका थिए। सबै जातजाति र धर्म मान्नेहरुको भावनालाई राज्यले उचित सम्मान गर्ने उनको भनाई थियो।