
चैत्र ९ बिहीवार,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल’प्रचण्ड’ले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिने जनाएका छन। प्रधानमन्त्री प्रचण्डले बिहीवार राजधानी काठमाडौंमा आयोजीत सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै सो कुरा बताएका हुन।
प्रधानमन्त्री प्रचण्डले संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध रहेको समेत भने।
उनले रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुगेको कुरा स्मरण गरे।

यसैगरी उनले महाभूकम्प, कोभिड–१९ लगायत राष्ट्रिय विपद् र चुनौतीको कठिन समयमा चुनौतीविरूद्ध संघर्ष गर्न, नागरिक सचेतना एवं अभिमुखीकरणका निम्ति रेडियोहरूले चलाएका कार्यक्रमहरू निकै प्रभावकारी देखिएको भन्दै प्रसंशा गरे।
“बन्दाबन्दीको समयमा विद्यालय, विश्वविद्यालय लगायत सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा समेत ‘रेडियो शिक्षा कार्यक्रम’मार्फत् पठनपाठन नियमित गर्न र शैक्षिक सत्र नै अप्ठ्यारोमा पर्ने परिस्थितिबाट बचाउन सामुदायिक रेडियोहरूले खेलेको भूमिका कहिल्यै बिर्सिन सकिन्नँ,” उनले जिकिर गरे।
साथै उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने समेत जानकारी गराए।
“आजको युग विज्ञान–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग हो। चौंथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिंगो विश्व आइपुगेको छ,” उनले उजागर गरे।
प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेपश्चात् राजनीतिक स्थिरता, सरकारको भविष्य र राजनीतिक वृत्तमा देखिएका अनेकौं आशंकाहरू निवारण भएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको वर्तमान सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा रहेको बताए।
नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुगेको हो।
