सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छ: मन्त्री शर्मा

राजनीति समाचार

चैत्र १७ शुक्रबार,२०७९/भैरहवा-
सन्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छिन।

नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएकी हुन। जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, सहिदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बतायिन।

मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी गरायिन। अब सरकार विस्तारपछि नतिजा देखिने महत्त्वपूर्ण कामको थालनी गर्ने पनि उनले भनिन।

अर्को प्रसङ्गमा उनले जनताका माग सरकारसम्म पुर्याउने र सरकारले गरेका काम जनतासम्म पुर्याउन स्थानीय पार्टी कमिटी र नेता कार्यकर्ताको महत्त्वपूर्ण भूमिका हुने बतायिन।

मन्त्री शर्माले आज नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।