पुर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पक्राउ

राजनीति विश्व समाचार

चैत्र २२ बुधबार,२०७९-
डोनल्ड ट्रम्पले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका बिषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन्।

सन् २०१६ को उक्त घटनामा मङ्गलवार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्।

उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए।

दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए। कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए।

“निकै अवास्तविक लाग्छ – वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्,” ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा लेखे।

अदालतमा प्रवेश गर्दा उनी शान्त र गम्भीर मुद्रामा थिए। बेलाबेलामा उनले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाएका थिए।

अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो।

अदालतभित्र उनी आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसे। त्यसपछि उनले आफ्नो दलिल पेस गरे।