सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण भिडन्त, मुख्य केन्द्रहरू नियन्त्रणमा लिएको दुवै पक्षको दाबी

राजनीति विश्व समाचार

बैशाख ३ आइतबार,२०७९/काठमाडौं-
सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ जारी रहँदा हालसम्म कम्तीमा तीन जनाको ज्यान गइसकेको छ।

त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ।

भिडिओहरूमा खार्तुम विमानस्थलमा एउटा गैरसैनिक विमानमा आगो लागेको देखाइएको छ। साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस विमान “दुर्घटना”मा परेको बताएको छ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ तर सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ।

भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन्।

एकजना प्रत्यक्षदर्शीका अनुसार मानिसहरूलाई त्यस्तो भिडन्त हुन्छ भन्ने लागेको थिएन।

त्यसैले धेरै मानिसहरू घरबाट बाहिर निस्किएको अवस्थामा थिए।

रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ।

यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो।

सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ।

रुसी दूतावासले पनि “हिंसा बढेपछि” चिन्तित बनेको र तत्काल युद्ध विराम गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।

लामो समयसम्म सुडानमा अधिनायकवादी शासन गरेका राष्ट्रपति ओमर अल‍-बशिरलाई अपदस्थ गरिएपछि सैन्य र नागरिक नेताहरूले सम्झौता गरेका थिए।

उक्त कूपछि नै खार्तुममा प्रजातन्त्र समर्थक आन्दोलनहरू भइरहेका छन्।

विवादको कारण

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने समय तालिकामा बनाएको छ।

आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो तर सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्नेमा जोड दियो।

यसै सातादेखि तनाव बढेपछि बिहीवार आरएसएफले मेरोवेमा सैन्य आधार नजिकै आफ्ना फौजलाई तैनाथ गरेको थियो।

जेनरल बुरहानले प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो द्वितीय वरीयताका कमान्डरसँग कुरा गर्न इच्छुक रहेको बताएका छन्।

पश्चिमी र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्ने उद्देश्यसहितको वार्तामा फर्कन आग्रह गरेका छन्।

कूटनीतिज्ञहरूको आह्वान

सुडानका लागि अमेरिकी राजदूतले ट्विटरमा लेख्दै दुवै पक्षलाई तत्काल लडाइँ रोक्न आग्रह गरेका छन्।

सहरमा गोली चलेको आवाज सुनेपछि आफू ब्युँझिएको र अहिले दूतावासका अन्य सदस्यसहित सुरक्षित स्थलमा रहेको बताउँदै उनले त्यस्तो आग्रह गरेका हुन्।

रुसी दूतावासले पनि “हिंसा बढेपछि” चिन्तित बनेको र तत्काल युद्ध विराम गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।