राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छः प्रधानमन्त्री

राजनीति समाचार


बैशाख १० आइतबार,२०८०/काठमाडौं-
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र संभावना’ विषयक बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन।

प्रधानमन्त्रीले भने,‘सही बिचार र नीतिका आधारमा कम्युनिस्टहरुलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ। अहिले हामी त्यहि प्रक्रियामा छौं। जनवादी केन्द्रीयताको सिद्धान्त विरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन्। हामी अहिले पनि एकताकै पक्षमा छौं।’उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहिबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुबीकरणमा अगाडि बढ्ने बताए।

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकता अनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने बिषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे। उनले भने,‘कम्युनिस्ट पार्टी भित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि। नेतृत्वले गलत विचार र प्रवृति अंगिकार गर्यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ। हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौं र आफ्नै आँखा अगाडि पनि देख्यौं।’

उनले ०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैं भएको बताए। ‘राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ,’उनले भने। लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाई थियो।

उनले बिना आग्रह पूर्वाग्रह बिचारधारात्मक रुपले समिक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि बामपन्थी कम्युनिस्टहरुलाई आव्हान पनि गरे। उनले अगाडि भने, ‘एकतावद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौं। अहिले हामी कम्युनिस्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं। अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध संघर्षको आवश्यकता महशुस गर्नेहरु सबै एउटा मोर्चामा आवद्ध भएर एउटा सन्देह दिऔं।’