नेपालमा उत्पादित सवारी साधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने

अर्थ राजनीति समाचार

बैशाख ११ सोमबार,२०८०/काठमाडौं-
नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ।

सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल`प्रचण्ड ´ले तत्काल समस्या हल गर्न निदेर्शन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग गरेको छलफलमा उक्त निर्णय गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश प्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीनदिन भित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

यसैगरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ।

आजको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं पदाधिकारीका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन मन्त्रालय, यातायात विभाग, यात्रीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। प्रधानमन्त्री प्रचण्डले नेपालमा उत्पादित हुने बस्तु तथा सेवालाई सहजरुपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न निर्देशन दिनुभएको थियो।