बैशाख १६ सनिवार,२०८०-
रुससँग भइरहेको युद्धमा अग्रमोर्चाबाट लडाइँका लागि माग बढ्दै गएपछि युक्रेनले आफूले गर्ने ड्रोन उत्पादन बढाएको जनाएको छ।
युक्रेन सरकारले आयातसम्बन्धी कानुन खुकुलो बनाएको छ भने ड्रोनका पार्टपुर्जा तथा उपकरणमा लगाइँदै आएका करहरू हटाएको छ।
‘द आर्मी अफ ड्रोन्स’ नामक एउटा सफल चन्दा सङ्कलन अभियानले ड्रोन उत्पादनको विस्तारमा सघाइरहेको छ।
‘स्टार वार्स’का मार्क हमिलजस्ता हस्तीको सहयोगमा १०.८ करोड डलरभन्दा बढी रकम सङ्कलन भएको छ।
युद्धका लागि ड्रोनहरू खरिद गर्ने र बनाउने कामका साथै अग्रमोर्चामा लडाइँका लागि नयाँ पाइलटहरूको तालिममा सहयोग रकम खर्च गरिँदै छ।
युक्रेनको राजधानी किएभको बाहिरी भागमा रहेको एउटा गोप्य स्थानमा ड्रोन पाइलटहरूको एउटा तालिम सत्र हेर्नका लागि हालै बीबीसीलाई निम्त्याइएको थियो।
ड्रोनका पाइलटहरूका एक दर्जन टोलीले सैन्य लक्ष्य खोज्न एउटा चौरमा साना ड्रोनहरू उडाए।
प्रशिक्षक स्लाभाले उनीहरूको ड्रोन उडाउने शैली र जङ्गलमा बनाइएका ओडारमा कसरी लुकिराख्ने भन्नेबारे सुझाव दिइराखेका थिए।
“ड्रोन भनेका हाम्रा आँखा हुन्, हामी अतिक्रमणकारीलाई माथिबाट हेर्न सक्छौँ। अनि हामी हाम्रा हतियार मिलाउन तथा शत्रुलाई खोज्न र मार्न सक्छौँ,” उनले भने।
लडाइँमा दुवैतिरका सैनिकहरू परम्परागत रूपमा भिडिओ खिच्न प्रयोग हुने गरेका तुलनात्मक रूपमा साना तथा सस्ता ड्रोनहरूमा अझ बढी निर्भर हुन थालेका छन्।
अग्रमोर्चाको लडाइँमा प्रायः देखिने गरेको डीजेआई म्याभिक नामक ड्रोनको मूल्य २,००० डलरभन्दा कम पर्छ।
गत वर्ष त्यसको चिनियाँ उत्पादकले आफ्ना उत्पादनहरू “गैरसैनिक प्रयोगका लागि मात्र” भएको भन्दै युक्रेन र रुसमा त्यसको निर्यातमा प्रतिबन्ध लगायो।
स्लाभाका अनुसार उक्त प्रतिबन्धका कारण गाह्रो भयो। तर युक्रेनले अझै हजारौँ सङ्ख्यामा ड्रोन आयात गरिरहेको छ।
यद्यपि आफूहरूलाई अझ बढी ड्रोन चाहिएको र अहिले उपलब्ध ड्रोनहरूलाई प्रायः खसाल्ने गरिएकोले अथवा विद्युतीय अस्त्रहरूमार्फत् निष्क्रिय पारिने भएकोले नयाँ प्रकारका ड्रोनको विकास गर्न जरुरी रहेको उनी स्वीकार्छन्।
लाखौँ डलर चन्दा जुटाएर युद्धका लागि स्वदेशमै ड्रोन

‘द आर्मी अफ ड्रोन्स’ अभियानका सञ्चालकहरूका अनुसार उनीहरूले थप ३,३०० ड्रोन कि उत्पादन गरेका छन् कि खरिद गरेका छन्।
झन्डै ४०० जनाले निजी सोखका राखेका ड्रोनहरू हुलाकमार्फत् पठाएका छन्।
युक्रेनमा भएका ड्रोन तथा तिनका पाइलटको सङ्ख्या बढाउनका लागि चन्दा सङ्कलन अभियान गत वर्षको जुलाईमा सुरु गरिएको थियो।
यो अभियान सामाजिक सञ्जालमा चर्चित छ। अभिनेता मार्क हमिलले सामाजिक सञ्जालमा प्रवर्धनात्मक भिडिओहरू राख्ने र आफ्ना प्रशंसकहरूका लागि सन्देशहरू शेअर गर्ने गरेका छन्।
युक्रेनी सरकारले रणभूमिमा आफ्ना सैनिकहरूलाई तुलानात्मक रूपमा फाइदा पुर्याउने बताइरहँदा देशव्यापी अरू ड्रोन परियोजनाबारे युक्रेनभरि विभिन्न पसल तथा सेवाकेन्द्रहरूमा विज्ञापन गरिँदै छ।
जाँचबुझ गर्न पठाइने १० आरक्यू-३५ हेईड्रन नामक ड्रोन गत महिना प्रतिगोटा १६,००० मा खरिद गरी ‘द आर्मी अफ ड्रोन्स’ अभियानले अग्रमोर्चाको युद्धका लागि पठाएको बताइएको थियो।
शत्रुहरूका लक्ष्यमा पुगेर विस्फोटन हुनेगरी युक्रेनमा बनाइएका १०० वटा कामिकाजे ड्रोन सोमवार बख्मुत पठाइएको छ।
गत मार्चमा युक्रेनी डिजिटल ट्रान्सफर्मेशन मामिला हेर्ने मन्त्रीले युक्रेनमा ड्रोनसम्बन्धी सामानहरूको आयात गर्ने प्रक्रिया खुकुलो र सरल बनाउँदै युक्रेनमा निर्माण हुने यूएभी अर्थात् मानवरहित वायुवाहन बजारको विकासमा महत्त्वपूर्ण कदम हुने घोषणा गरे।
यसअघि युक्रेनमा जीपीएस मोड्यूल्स अथवा थर्मल क्यामराजस्ता पार्टपुर्जा निर्यात गर्न १५ दिनसम्म लाग्थ्यो।

यसअघि नै थुप्रै शक्तिशाली लडाकु ड्रोनहरू बनाइसकेको युक्रेनले गत तीन महिनादेखि उत्पादन बढाएको छ
“महत्त्वका हिसाबले ड्रोनहरू अहिले आधारभूत प्रविधि हुन्,” आयातसम्बन्धी नियममा परिवर्तनबारे घोषणा गर्दै मन्त्री मिखाइलो फेडोरोभले भने।
फेडोरोभले ‘द आर्मी अफ ड्रोन्स’ नामक सहायता रकम सङ्कलन गर्ने अभियानको नेतृत्व गर्दै आएका छन्।
किएभस्थित आफ्नो कार्यालयमा उनले युक्रेनमा बनिरहेका नयाँ प्रकारको कामिकाजे ड्रोनको नमुना गर्वका साथ देखाए।
रुसी विमानसँग ठोक्किएपछि अमेरिकी ड्रोन दुर्घटनाग्रस्त
पुटिनका सशस्त्र गाडीहरूको ५६ किलोमिटर लामो लस्करको भित्री कथा
सैनिक वा ट्याङ्कहरूलाई लक्ष्य बनाउनेगरी तयार पारिएका ती ड्रोनहरूको घातक विशेषता लुकाउनका लागि मन्त्री फेडोरोभले कुनै प्रयास गरेनन्।
तर सरकारका अरू अधिकारीहरूले जस्तै उनले पनि रुसी भूभागमा हालै गरिएका ड्रोन हमलाबारे कुरा गर्न अस्वीकार गरे।
युक्रेनी सीमादेखि करिब ४०० किलोमिटर टाढा पर्ने एउटा रुसी नगरमा गत महिना एउटा ड्रोनलाई खसाल्दा पड्केपछि तीन जना घाइते भएका थिए।
रुसी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनमा निर्मित एउटा ड्रोन गत फेब्रुअरीमा मस्को क्षेत्रमा विस्फोट भएको थियो।
त्यतिबेला रुसी अधिकारीहरूले युक्रेनले ऊर्जा केन्द्रलाई निसाना बनाएको आरोप लगाए।
bbc
प्रतिक्रिया दिनुहोस्