जेठ ९ मंगलबार,२०८०/काठमाडौं-
सधैँको भागदौड युक्त जीवन र करियर बनाउने होडमा महिला–पुरुष दुबैले आफ्नो नीजि जीवन बिर्सिने गर्छन् । समय आफ्नो हत्केलाबाट उहिल्यै फुस्किसकेको हुन्छ, तरपनि धेरैलाई थाहै हुँदैन ।
अहिलेको जमानामा ३५–४० वर्षको उमेरमा विवाह गर्ने चलन सामान्य भइसकेको छ । यस्तो अवस्थामा दाम्पत्य जीवनमा सेटल हुन र बच्चाको योजना गर्नमा ३–४ वर्ष बितिसकेको पत्तो पाइँदैन ।
कतिपय अवस्थामा सही उमेरमा बिहे गर्दा पनि वर्षौँसम्म सन्तान जन्माउन सक्दैनन् ।
यस्तो अवस्थामा आमाबुवा बन्ने सही उमेर के हो र उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउँछ त भन्नेबारे जानकारी लिऔँ । यसका लागि भारतीय मिडियाले भारतको बिरला फर्टिलिटी एन्ड आइभिएफकी कन्सल्टेन्ट डा. मिनु वशिष्ठ आहूजासँग गरेको कुराकानीका केही अंश पढौँ ।
सबैभन्दा पहिला आमाबुवा बन्न नसक्नुका कारणबारे जानकारी लिऔँ–
शारीरिक सम्बन्ध
जब तपाईं तनावमा हुनुहुन्छ, यसले तपाईंको यौनेच्छालाई प्रत्यक्ष असर गर्छ । यो बाँझोपनको एउटा प्रमुख कारण हो ।

क्याफिन
यदि तपाईं एक दिनमा ४ कप वा सोभन्दा बढी चिया वा कफी पिउनुहुन्छ भने, गर्भधारण गर्न धेरै समय लाग्न सक्छ । चिया वा कफी पिउने तपाईंको बानीलाई तपाईंले परिवर्तन गर्नैपर्छ ।

डाइट
खानामा सबैभन्दा पहिले, प्याकेटका चिप्स, माइक्रोवेभ पपकर्न, फ्राइड र फास्ट फूड जस्ता ट्रान्स फूडहरूबाट टाढै रहनुहोस् । यस्ता खानेकुराले सुजन बढाउँछ र इन्सुलिन रेजिस्टेन्स पनि बढाउँछ । यो नै बाँझोपनको कारण बन्ने गर्छ । यस्ता खानेकुरा छुँदै नछुनुहोस् ।

निद्रा
स्वस्थ रहनका लागि कम्तीमा ८ घण्टा सुत्नुपर्छ । यसले शरीरलाई रिचार्ज गर्छ ।
मोटोपना
मोटोपनले एन्ड्रोजन, इन्सुलिन जस्ता हर्मोनको असन्तुलन निम्त्याउँछ । यसले महिलाको अण्डा उत्पादन र शुक्राणुको गुणस्तरमा गलत प्रभाव पार्छ ।

व्यायाम
स्वस्थ शरीरको लागि व्यायाम धेरै महत्त्वपूर्ण छ । तर यदि तपाईं अत्यधिक र भारी व्यायाम गर्नुहुन्छ भने, त्यसले पनि तपाईंको प्रजनन क्षमतालाई असर गर्न सक्छ । बच्चाको योजनामा हुनेहरुले हल्का व्यायाम गर्नहोस् ।

धुम्रपान–मद्यपान
चुरोटमा हुने सुर्तीको धुँवामा आरओएस स्तर हुन्छ । यसले शुक्राणुलाई हानि पुर्याउँछ । जबकी अत्यधिक मद्यपानले शरीरमा भिटामिन बीको कमी हुने गर्छ ।
पौष्टिक तत्वको कमी
जीवनशैली सुधार्न सबैभन्दा पहिले खानपानमा ध्यान दिनुपर्छ । स्वस्थ आहार लिनुपर्छ । जसले गर्दा तौल नबढोस् र शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त होस् ।
प्रश्नः ४० वर्षपछि पनि आमा बन्न सकिन्छ ?
उत्तर : पक्कै सम्भव छ । एक महिला ३० वर्षको उमेरमा पनि आमा बन्न सक्दिनन् भने एक महिला ४० वर्षको उमेरमा पनि आमा बन्न सक्छिन् । मात्र तपाईंले आफ्नो ख्याल राख्नुपर्नेछ ।
उमेर बढ्दै जाँदा महिलाको आमा बन्ने सम्भावना कम हुन थाल्छ । प्राकृतिक रूपमा गर्भधारण गर्न नसक्ने मानिसहरूसँग पनि धेरै समाधानहरू छन् । जस्तै– आइभीएफ, शुक्रकीट र डिम्बको गुणस्तर राम्रो छैन वा अण्डा बनिरहेको छैन भने, पहिले उपचार गर्नुहोस् । यदि यसले पनि मद्दत गरिरहेको छैन भने डोनरको सहारा लिन सक्नुहुन्छ ।
प्रश्न : हामी प्राकृतिक रूपमा गर्भधारण गर्न चाहन्छौं भने, यसको लागि के गर्नुपर्छ ?
उत्तर : तपाईंले यसका लागि केही उपाय अपनाउनु पर्छ …
–स्वस्थ जीवन शैली अपनाउनुहोस्
– धेरै गुलियो र नुन नखानुहोस्
– चिल्लो कम खानुहोस्
– व्यायाम गर्नुहोस्
– योग र ध्यान गर्नुहोस्
– विवाहको एक वा दुई वर्षमा समस्या भएमा तुरुन्त उपचार गराउनुहोस् ।
प्रश्नः सानै उमेरमा आमा बन्नु राम्रो हो भनेर किन भनिन्छ ?
उत्तरः अमेरिकाको टेक्सास विश्वविद्यालयका समाजशास्त्रीका अनुसार २५ देखि ३० वर्षसम्मको उमेर अभिभावक बन्नको लागि उपयुक्त उमेर हो । यो उमेरमा प्रजनन प्रणाली र शरीरका अन्य प्रणालीहरू स्वस्थ हुन्छन् । महिला र पुरुष दुवै शारीरिक र मानसिक रूपमा स्वस्थ रहन्छन् ।
प्रश्नः एक जोडीले आइभीएफको लागी कहिले जाने ?
उत्तरः यसका केही उदाहरणबाट बुझौँ…
– महिलाको फेलोपियन ट्यूबमा गाँठो वा टीबी भयो ।
– पीसीओडीका कारण महिलामा ओभुलेशनको समस्या छ ।
– प्रजनन उपचार जब असफल भएको छ ।
प्रश्नः यदि एक जोडी ४० वर्ष पछि आइभीएफका लागि जान्छन् भने, यसको सफलता दर कति हुनेछ ?
उत्तर : ३० वर्षभन्दा कम उमेरका महिलामा हरेक महिना गर्भधारण हुने सम्भावना २० प्रतिशत हुन्छ, जबकि ४० वर्षभन्दा कम उमेरका महिलामा यो सम्भावना कम हुन थाल्छ । यति हुँदाहुँदै पनि यो उमेरका जोडी निराश हुनुपर्दैन । यदि तपाईं शारीरिक रूपमा फिट र सक्रिय हुनुहुन्छ भने आइभीएफमा कुनै समस्या हुनेछैन ।
तर तपाईंको विवाह कम उमेरमा भएको छ र तपाईंलाई गर्भधारणमा समस्या भइरहेको छ भने भाग्यलाई दोष दिएर नबस्नुहोस् । तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।
महिला र पुरुष दुबैले परीक्षण गराउनुहोस् । यसो गर्दा डाक्टरले सही समयमा आइभीएफको सल्लाह दिन सक्नेछन् । तपाईंले जति छिटो डाक्टरलाई भेट्नुहुन्छ त्यति नै छिटो सफलता पाउनुहुनेछ ।
प्रश्नः ४० वर्ष वा सोभन्दा बढी उमेरमा बच्चा जन्माउँदा के समस्या हुन्छ ?
उत्तरः मानौँ तपाईं ३५ वर्ष पुगिसक्नुभएको छ र तपाईं पहिलोपटक गर्भवती हुनु भएको छ । यो उमेरमा गर्भवती भएका महिलालाई एल्डर्ली प्रिमी भनिन्छ । ३५ वर्षमा कतिपय महिलामा रक्तचाप, मधुमेह हुने सम्भावना बढ्छ । बच्चालाई डाउन सिन्ड्रोमको खतरा पनि रहन्छ । अर्थात् बच्चा मानसिक र शारीरिक रुपमा कमजोर हुनसक्छन् ।
तर सहि आहार विहार सबै समस्याको समाधान हो !
