माओबादी सांसद दाहालले पशुपतिनाथको जलहरी पित्तलको लगाएको भनेपछि एमालेद्वारा सदन अवरुद्ध

राजनीति समाचार

जेठ १२ शुक्रबार,२०८०/काठमाडौं-

माओबादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भष्टाचार गरेको भनेपछि एमालेका सांसदहरुले सदन अवरुद्ध गरेका थिए।

शुक्रबार दिउसो सांसद लेखनाथ दाहालले एमाले सरकारमा भएको बेला कैयौं भ्रष्टाचारका काण्डहरु घटाएको भन्दै पशुपतिनाथको जलपाको प्रकरणका बिषयमा बोलेपछी प्रमुख प्रतिपक्षी रहेको एमालेका सांसद रुष्ट भएका हुन।

१० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सो बिषयमा बोलेका थिए।

सिन्धुलीबाट निर्वाचित सांसद दाहालले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको बैदेशिक ऋण ७ खर्बबाट १७ खर्ब कसरी पुग्यो भन्दै प्रश्न पनि  गरेका थिए।

एमाले प्रमुख सचेतक पदम गिरीले सो आरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि माग गरेका छन । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा भष्टाचारका बिषयमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले सभामुखको अगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरे ।

लगत्तै सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुनको जलहरी लगाउन निर्देशन दिएपछि पशुपतिनाथ बिकास कोषले १०३ केजी सुन रास्ट्र बैंकबाट सो कार्यका लागि किनेका थियो। ओलीले मन्दिर दर्शन गरेपछि सो कार्यका लागि ३० करोड दिने प्रतिबद्धता जनाएका थिए।

पुरै जलहरी १०८ केजीको हो ।