राजनीतिक परिवर्तनले जहिलेसम्म जनताको जीवनस्तरमा सुधार ल्याउदैन, मुल परिवर्तन अधुरै रहन्छ: प्रधानमन्त्री

राजनीति समाचार

जेठ १५ सोमबार,२०८०/काठमाडौं-

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनले जहिलेसम्म जनताको जीवनस्तरमा सुधार ल्याउने काममा योगदान गर्दैन, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवद्र्धन गर्ने काम गर्दैन, त्यो परिवर्तन अधुरै रहने बताएका छन।

सोमबार टुडिखेलमा आयोजीत १६ औं गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन।

प्रधानमन्त्री प्रचण्डले यस कुरालाई मध्यनजर गरी हामी सबैले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रूपान्तरणमा सहयोगी हुने हिसाबले अघि बढाउन आवश्यक रहेको बताए।

सो अवसरमा, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका जनयुद्ध, राजनीतिक आन्दोलन तथा जनताको बलिदानीपूर्ण संघर्षको जगमा वि.सं. २०६५ जेठ १५ गते तत्कालीन संविधान सभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको स्मरण गरे।
गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरे।

‘एकात्मक सामन्ती केन्द्रीकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिहरुबाट जनताले शासन गर्न पाउने संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको पन्ध्र वर्ष पूरा भएको छ,’ प्रधानमन्त्रीले भने, ‘आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रुपमा स्मरण गर्नुपर्छ’।

गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत् जनताले पाउने आधारभूत सेवाहरु सहज बन्दै जानु, सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र सँस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रति उनीहरुको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिएका बलिया आधारहरु भएको, उनले जिकिर गरे।

उनले भने ‘विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनु गौरवको विषय हो । गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयौं चुनौती देखिएपनि हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्न पहल गरिरहेका छौं।’

साथै उनले भने, नेपाली जनताको आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट हो ।

‘संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकार लगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपदर्छ र हुँदै पनि गएका छन् । यसको निम्ति नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको छ,’ उनले थपे ‘ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ।’

संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो न हुने पनि उनले बताए।

उनले भने नेपाली जनताले पटक पटक नागरिक हक अधिकार प्राप्तिका लागि गरेको संघर्ष केवल गणतन्त्र र राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सीमित न भएर आर्थिक र सामाजिक अवस्था सुधार गर्नका लागि पनि हो।

यस बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेको कुरा पनि उनले उजागर गरे।

यसैगरी, संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल न हुने समेत उनले बताए।

अन्त्यमा, गणतन्त्र स्थापना र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने महान शहीदहरू, अग्रज राजनेता र राजनीतिक कार्यकर्ताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरू, लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान सबैमा सम्मान व्यक्त गर्दै आजको दिवसले शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस, उनले बताए।