प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ दिल्लीमा भब्य स्वागत



जेठ १७ बुधबार,२०८०/नयाँ दिल्ली-

चार दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएका छन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई बुधबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभयो। सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र साँस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भब्य स्वागत गरिएको हो।
प्रधानमन्त्री प्रचण्डको स्वागतमा नयाँ दिल्लीका सडकसहित प्रमुख स्थलमा उनको फोटो अंकित स्वागत गेट, व्यानर र होडिंग बोर्डहरु राखिएका छन्।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल होटल मौर्यमा बसेको छ। प्रधानमन्त्री प्रचण्ड बसेको होटलमा पुगी आज साझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासमेत सहभागी हुनुहुन्थ्यो।


उक्त भेटघाट लगत्तै प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भए। सो अवसरमा प्रधानमन्त्रीले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न केन्द्रीत रहने बताएका छन। उनले आपसी विश्वासको अभिवृद्धि तथा सद्भावना अभिबृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रीत रहने बताए।
प्रधानमन्त्रीले नेपाल र भारतबीच सदिऔं पूरानो र जनस्तरकोे सम्बन्ध रहेको दोहोर्याउँदै यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्ड भोली बिहिबार बिहान साढे दश बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट जानुभई पुक्ष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ। त्यसलगत्तै विहान ११ः०५ वजेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ।
लगत्तै सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले भोली दिवा भोजको आयोजना गरेका छन।
प्रधानमन्त्रीले भोली ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः ३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने छन।
प्रधानमन्त्रीले साँझ ६ः१५ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०८० जेठ १८ गते बिहीबार
अरु पनि पढ्नुहोस्