जेठ २० सनिवार, २०८०/
भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २३८ जनाको मृत्यु भएको र ९०० जनाभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।
उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स पठाइएको जनाएका छन्।
एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ।
यो भारतमा भएको यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो।
मृतकको सङ्ख्या बढ्न सक्ने
मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए।
जेनाका अनुसार हालसम्म २३३ जनाको शव फेला परेको छ। उनले १०० भन्दा बढी चिकित्सकहरू घटनास्थलमा परिचालन गरिएको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्।
उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, “दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।”
गृहमन्त्री अमित शाहले घटना “अत्यन्त पीडादायी” भनेका छन्।

दुर्घटनाका बेलाको अवस्था
उक्त घटनामा बाँचेका एक पुरुष यात्रुले भने, “दुर्घटना हुँदा १०-१५ जना ममाथि खसेका थिए। कोलाहल मच्चियो। म मानिसहरूको थुप्रोमा सबैभन्दा तल थिएँ।”
“मेरो हात र घाँटीको पछाडिपट्टि चोट लागेको छ। रेलको डिब्बाबाट बाहिर निस्किँदा मैले कसैले हात अनि कसैको खुट्टा गुमाएका र कसैको अनुहार विकृत भएको देखेँ,” उनले भारतको एएनआई समाचार संस्थालाई भने।
दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ।
घटनापछि केही जीवित यात्रुहरू दुर्घटनास्थलमा फसेका मानिसलाई उद्धार गर्न दौडिएको देखिएको थियो।
स्थानीय बस कम्पनीहरूले पनि यात्रुलाई ओसारपसार गर्न मद्दत गरिरहेका छन्।
कसरी भयो दुर्घटना?
शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए। तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ।
अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो भनिएको छ।
भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन।
बीबीसी दक्षिण एशियाका क्षेत्रीय सम्पादक अनबरसन इथिराजनका अनुसार भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ र क्रमशः सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी गरिरहेको छ।
तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन्।
यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो।
त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो। त्यस बेला कम्तीमा ८०० जनाको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस्