जेठ २१ आइतबार,२०८०/काठमाडौं-
नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थुनछेक बहसका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
आइतवार बिहान काठमाडौं जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुनछेक बहसका लागि उपस्थित गराइएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपाने लगायतले नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनाको बयान लिएका थिए।
सो थुनछेक बहसपछि आरोपीलाई पुर्पक्षमा पठाउने वा धरौटीमा रिहा गर्ने बारे निर्णय हुन्छ। यद्यपि प्रमाण मजबुत भएका मुद्दामा पुर्पक्षमानै पठाउने गरिन्छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ र फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्दामा २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।
बाल कृष्ण खाँणबाट सो थुनछेक बहस सुरु बाएको थियो।
