
जेठ २५ बिहीवार,२०८०/रुकुम पश्चिम-
रुकुम पश्चिमको मौराखारा फेदमा होमस्टे तालिम सञ्चालन गरिएको छ। मंगलबार देखि सानीभेरी गाउँपालिका स्थित वडा नम्बर ३ को कमैदेमा तीन दिने होमस्टे तालिम सञ्चालन गरिएको हो।
कल्चर एन्ड टुरिजम डेभलोपमेन्ट नेपाल द्वारा सञ्चालित सो तालिमका लागि स्थानीय कमैदेका १२ जना र चार नम्बर बाट २ र पाँचबाट २ जना सहभागी भएका छन।
काठमाडौंबाट आएका सेफ मनोज कुमार बस्नेतले स्थानिय खाद्य उत्पादन प्रयोग गरेर स्वास्थ्यलाई ध्यानमा राखेर स्वादिष्ट परिकारहरु पकाउन सिकाएका छन।

तालिममा तिनै दिन उपस्थित भएका गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीका अनुसार प्रसिद्ध मौराखारा पहाडको फेदमा अवस्थित कमैदेमा होमस्टे मार्फत स्थानिय बासिन्दाहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको छ।
“मौराखारा लेकलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तयारीस्वरुप होमस्टे तालिम दिन लागेको हो, किन भने भोलिका दिनहरुमा पाहुना आए भने यहाँ बस्ने खाने स्वच्छ ठाउँ पनि चाहिन्छ। र हामीले सोका लागि पाहुना घर तथा होम स्टे दर्ता पनि गर्ने तयारी गरेका छौँ। मुख्य कुरा हामीले भुल्नु हुदैन यो युद्ध पर्यटनको एउटा महत्त्वपूर्ण स्थान हो,” प्रवक्ता घर्तीले बताए।
उनले तालिम सकिए पछि सहभागीहरुलाई फिल्ड जानकारीका लागि देशका नमुना होम स्टेहरुमा भ्रमण गराउने योजना पनि रहेको जानकारी गराए।
मौराखारा पहाडमा जनयुद्ध कालमा माओवादी जनमुक्ति सेनाले तालिम गर्ने गरेका थिए। जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले हरेक बर्ष फागुन १ गते यस पहाडमा गुरिल्ला मेरथन लगायत विभिन्न कार्यक्रमहरु आयोजना गर्छ।
यसको शिखरमा हिउँ पर्छ र वातावरण स्वच्छ रहदा नेपालगन्ज बजार सम्म देखिन्छ।
