जेठ २६ शुक्रबार,२०८०/काठमाडौं-
नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले एमाले अध्यक्ष केपी ओलीको बजेटबारे मूल्याङ्कन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधयुक्त भएको बताएका छन।
शुक्रबार संसदमा ओलीले आफ्नो पार्टीप्रति गरेको व्यंग्यको जवाफ दिदै पुर्व मन्त्री शर्माले सो प्रतिक्रिया दिएका हुन।ओलीले माओवादी केन्द्र ३२ सिटमा झरेको उल्लेख गर्दै चालू बजेटलाई शुन्य ‘मार्क’ दिने प्रतिक्रिया दिएका थिए।
” पुर्व प्रधानमन्त्री समेत रहेका मेरा आदरणीय प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीज्यूले शून्य ‘मार्क’ दिनुभयो । आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राखिरहँदा चालू आवको बजेटबारे पूर्वाग्रही टिप्पणी गर्नु भएकाले चालू आवको बजेट पेस गर्ने जिम्मेवारी निभाएको नाताले मैले केही कुरा प्रस्ट पार्न खोजेको हुँ,” शर्माले सुरुवातमा भनेका थिए।
त्यस्तै उनले माओवादी बिना एमाले अध्यक्ष केपी ओलीको सिंहदरबार यात्रा कठिन हुने पनि बताएका थिए।
“संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक जस्ता मुद्दा माओवादीको विरासत हुन् । यसैको बलमा माननीय केपी ओलीज्यूलाई दुई तिहाइको प्रधानमन्त्री बनाएको हो,’ उनले भने,” याद रहोस् माओवादीको शक्ति विना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ । गत मङ्सिरको निर्वाचनमा तपाईँकै एकल एजेन्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको याद नै होला,”।
यसैगरी उनले भने,”यहाँ म कुनै दोहोरी खेल्न चाहन्नँ । बरु, यही दिनमा उठेका प्रश्नको तथ्यगत विवरण पेस गर्न चाहन्छु । म यो तथ्य बुझ्छु कि– बजेट जनताको हितमा हुनुपर्छ, ताकि जनताको जीवनमा परिवर्तन आओस् । त्यसैले बजेटको बस्तुनिष्ठ समीक्षा गर्नुपर्छ भन्ने मेरो मान्यता छ। पूर्वाग्रहमुक्त समीक्षा गरौँ,”।
उनले विगत १० वर्षको बजेटहरूको समीक्षा पनि गर्नु पर्ने प्रस्ताव राखे। “यसका लागि अर्थविद्, नागरिक समाज, किसान, पत्रकार, पूर्व न्यायाधीश, सम्बन्धित क्षेत्रका बिज्ञ समेत भएको एउटा उच्चस्तरीय आयोग वा समिति बनाऔँ । आवश्यक परे यसमा तटस्थ अन्तर्राष्ट्रिय अर्थविद्को पनि सहयोग लिउ । ताकी सत्ता र प्रतिपक्ष का आग्रह र पूर्वाग्रहबाट मुक्त भई निकालिएका निष्कर्षहरु मार्फत समस्याका पहिचान गरौँ,” उनको तर्क थियो।
उनले आज आउने परिणाममा ३/४ वर्ष पहिलेको नीति र योजनाबाट आएका परिणामहरू हने कुरा जिकिर गरे।
उनले उदाहरणका लागि भेरी कोरिडोर लगायत थुप्रै योजनामा आज पनि टेण्डर न भएको उल्लेख गर्दै, अहिलेसम्म तिनको २० देखि ३० प्रतिशत बजेट खर्च भइसक्नु पर्ने जिकिर गरे।
उनले केपी ओली प्रधानमन्त्री हुँदाको एउटा नारा,‘संवृद्ध नेपाल, सुखी नेपाली’ मिठै भएको र आफू पनि त्यो लागु हुनुपर्छ भन्ने पक्षमा भएको भन्दै नाराले मात्र न हुने बताए। “नारा सुहाउँदो नीति पनि आवश्यक छ । म त्यही नाराको समर्थक भएकाले चालू बजेटमा नारा सुहाउँदो बजेट ल्याएको हुँ,” उनले बताए।
समृद्ध देश बन्नलाई जिडिपी बढ्नै पर्ने भन्दै उत्पादनले बिन त्यो न बढने बताए।
स्टिल उद्योग, अटोमोबाइल एसेम्बलिङ प्लान्ट, एक्सपोर्ट रीबेट, उद्योगलाई बिजुलीमा सहुलियत, पर्यटन पूर्वाधारका लागि सुविधा, मोटरसाइकल र गाडीमा निम्न वर्गलाई कम दर र विलासी गाडीमा बढी कर, आइटीको सेवा र उत्पादन निर्यातमा कर छुट, कमर्सियल कृषि फार्मिङमा कर छुटको नीति ल्याएको उनले जानकारी गराए।
अटोमोबाइल एसेम्बलिङ प्लान्टलाई प्रोत्साहन गर्दा पनि उपलब्धि भएको उनले भने। “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीले व्यङ्ग गर्दै भन्नुभयो–सीमा पारी चार पाङ्ग्रा खोलेर नेपाल ल्याइ नट बोल्ट कस्ने काम मात्र भयो । म उहाँलाई भन्न चाहन्छु–कुनै पनि विकसित देशले औद्योगिकीकरणको सुरुवात यसरी नै गरेका छन्,” उनले स्पस्ट पारे। “१९६० र ७० को दशकमा थाइल्याण्ड र मलेसियाले एसेम्बलिङ प्लान्टबाट सुरु गरी आज अटोमाबाइल उत्पादनमा अब्बल बनेका छन्,” उनले बताए।
“मैले प्रोत्साहन नीति सुरु गर्दा २ वटा एसेम्बलिङ उद्योग थिए । ६ वटा नयाँ थपिएर आज ८ वटा सञ्चालनमा छन् । अझै थपिँदै छन् । अहिले सम्म यसमा ६–७ अर्बको लगानी र १२ सय रोजगारी थपिएको छ । यहाँ केही ऊर्जा खपत पनि भएकै होला । औद्योगिकीकरण हुने बाटो यसरी नै हो । यो व्यङ्ग र मनोरञ्जन गर्ने विषय होइन,” उनले थपे।
त्यस्तै नेपालको इतिहासमा पहिलो पटक सिमेन्ट निर्यात भएको कुरा पनि उनले उल्लेख गरे।
“के यो दूरदर्शी नीतिको परिणाम होइन ? यो ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारासँग मेल खाँदैन ? एक पटक आँखा चिम्लेर र राजनीति चस्मा उतोरर चिन्तन मनन गर्नुस्,” उनले चुनौती दिए।
प्रतिक्रिया दिनुहोस्