प्रधानमन्त्रीद्वारा जनगणनामा जातिहरुबारे आवश्यक कुरा सच्याउने प्रतिबद्धता व्यक्त

पर्यटन मनोरञ्जन राजनीति समाचार

असार १ शुक्रबार,२०८०/काठमाडौ-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनामा भएको जातिहरुबारे विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन। शुक्रबार भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन।

‘नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता सहितको देश हो। यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो,’ उनले भने। कार्यक्रममा मगर संघका नेताहरुले यसपालीको जनगणनामा विभिन्न जनजातिहरुको तथ्यांक लिने क्रममा कमीकमजोरी भएको र त्यसलाई सच्याउनु पर्ने माग राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए।

‘मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्य सहित यस्ता पर्वहरु मनाउने गरिएको हो। मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पूजा गर्ने संस्कार छ,’ उनले भने, ‘ प्रकृतिको पूजा एउटा समुदायमा मात्रको सिमित छैन। प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जातिकै हितसँग जोडिएको छ।’

यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्नु पनि भएको उनको भनाई थियो। प्रकृतिलाई विनाश हुन नदिन र जलवायुको संरक्षण गर्ने कुरासँग सिंगो प्रकृति र मानिस बीचको अन्तरसम्बन्धलाई कायम गर्ने उद्देश्यद्वारा प्रेरित रहेको उनको धारणा थियो।

उनले भने, ‘मैले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकताका निम्ति आन्दोलन गर्दैगर्दा हिजोका राज्य संयन्त्रद्वारा सबै जातजाति, भाषाभाषी, वर्ग समुदाय अपमानित, उत्पीडन र विभेदमा पारिएका थिए। ती सबैलाई साथमा लिएर नै ठूलो आन्दोलनको सृष्टि भएको हो। ती सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्रका जनसमुदायको संघर्ष र बलिदानको कारणले नै अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं। नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले दोहोर्‍याए।

यसैगरी देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित पनि नहुने जिकिर गरे।