प्रत्येक बर्ष तीन हजार मानिसको मृगौला फेल भई रहेको छ: डा. पुकार श्रेष्ठ

अन्य समाचार स्वास्थ्य

बरिस्ठ मृगौला तथा कलेजो प्रत्यारोपण सर्जन, डा.पुकार श्रेष्ठसँग गरिएको कुराकानी ।

आफ्नो छोठो थप परिचय?
-म बागलुङ जिल्लामा जन्मेको हुँ । मैले आई.एस.सी सम्मको अध्ययन काठमाडौंमा गरिसकेपछि एमबीबीएस बङ्गलादेशबाट र मास्टर अफ सर्जरी नेपालमै गरे । यस्तै प्रत्यारोपण सम्बन्धि तालिम ६ बर्ष बेलायतको सरकारी अस्पतालमा गरे । त्यसपछि नेपालमा प्रत्यारोपणसेवाको स्थापना, विस्तार र प्रभावकारी बनाउन लागिपरेको छु ।

मृगौलामा हुने समस्यहरु के के हुन्? जानकारी गराइदिनु न!
-साधारण तया मृगौलामा हुने समस्यालाई दुई किसिमले लिन सकिन्छ , एउटा क्षणिक मृगौला खराबी जस्तो सामान्य उपचार तथा खानपानको साबधानीले पनि समाधान हुन सक्ने र अर्को दीर्घ मृगौला खराबी जसलाई डायलासिस अथवा प्रत्यारोपण गर्नुपर्ने अबस्था ।

मृगौलामा आउने समस्याका कारणहरु के के हुन् त?
-यो वास्तवमा अंगमा खराबी आउने र अन्त्यमा फेल हुने आधुनिक जीबनशैलीले बढाएको रोग हो । मृगौलाका बिरामी भएका मध्ये दुई तिहाई भन्दा बढीमा उच्च रक्तचाप र मधुमेहको कारण भएको पाइन्छ । अनावश्यक नदुख्ने औषधी जस्तो ब्रुफेन, पेईन किल्लर र अन्य एन्टिबायोटिकको सेवन, जन्मजात, पारिवारिक र आफ्नो शरीरमा उत्पन्न रोगको कारणले पनि मृगौलामा हानी गर्न सक्छ । नियमित स्वास्थ्य जाँच नगर्दा पनि पछि मृगौलाको गम्भीर समस्या देखापरेको पाईन्छ जस्तो कतिपय अबस्थामा सुरुमा लक्षण नदेखिएर ९० प्रतिशत खराबी भैसकेको अबस्थापछि लक्षण देखा पर्न सक्छ ।

मृगौलाको समस्या हुनुमा परिवार, उमेर समूह, जेन्डरले केही प्रभाव पार्छ ?
-कतिपयमा सानो बच्चामा पिसाबको नलिमा प्रवाह अबरोध हुने, जन्मजातै पाईपनलिमा समस्या भएर त्यसले मृगौलामा खराबी आउन सक्छ । उमेर बढ्दै गएपछि बंसाणु रोगहरु बढी देखिने, शरीरमा आफै रोगहरु उत्पन्न हुने कारण पनि समस्या आउन सक्छ । त्यस्तै सक्रिय यौन जीवन बिताउने महिलाहरुमा पिसाबको संक्रमण बढी हुनसक्छ महिलाको तुलनामा पिसाबको संक्रमण पुरुषको केही कम छ तर पत्थरीको समस्याले दुबैलाई उत्तिकै आक्रान्त बनाएको छ ।

मृगौलालाई स्वस्थ राख्न के गर्नुपर्ला ?
-पहिलो कुरा त शरीरको तौल नियन्त्रणमा राख्ने जस्तो जथाभावी चिल्लो, गुलियो खानेकुरा नखाने र नियमित शारीरिक ब्यायाम गर्ने । यत्ती गरिसकेपछि उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा आउँछ साथै शारीरिक व्यायामले शरीर स्फुर्त हुने, नसाहरु खुल्ला रहने र नसामा बोसो जम्ने समस्या पनि कम हुन्छ ।
-एन्टिबायोटिक, ब्रुफेन, पेईन किल्लर जस्ता औषधीले मृगौलामा सिधै हानी गर्छ त्यसकारण त्यस्तो औषधी चिकित्सकको परामर्श बिना सेवन नगर्ने ।
-प्रेसर र सुगरको मात्रा चिकित्सकीय जाँच गरेर चिकित्सकको सल्लाह अनुसार खानपानमा नियन्त्रण तथा औषधि सेवन गरि यसबाट हुने जोखिम कम गर्न सकिन्छ ।
-धूम्रपान, मध्यपान नगर्ने र शरीरलाई चाहिने मात्रामा प्रशस्त पानी पिउने आदि उपाय हुन ।

पछिल्लो समयमा नेपालमा मृगौला समस्या भएका बिरामीहरुको संख्या कति छ? समस्या बढ्दो वा घट्दो अवस्था के छ?
-एकदम डरलाग्दो तरिकाले बढिरहेको अवस्था छ । नेपालमा प्रत्येक बर्ष तीन हजार मानिसको मृगौला फेल हुन्छ । बर्षको ३०० मृगौला प्रत्यारोपण हुन्छ जसमा २५० भन्दा बढी ७० प्रतिशत प्रत्यारोपण सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरले नै गर्छ । विविध कारणले प्रत्यारोपण गर्न नपाएका डायलासिसमा बस्छन ।

मृगौला प्रत्यारोपण गर्दा के कति खर्च लाग्छ? राज्यले मृगौला रोगीहरुका लागि के कस्तो सहुलियत दिदै आएको छ?
-राज्याले ७/८ बर्ष अगाडि डायलासिस र मृगौला प्रत्यारोपण निशुल्क गरिदिएको छ । अहिले डलरको भाउमा अलिकति अवमूल्यन भएकोले, सामानको मुल्य बढेको हुनाले सरकारले दिएको सुबिधामा बजारभाउ अनुसार १/२ लाख थप्नुपर्ने अवस्था छ । नत्र डायलासिस र प्रत्यारोपण निशुल्क छ । देशैभरिका सरकारी संस्थामा डायलासिस निशुल्क छ ।

राज्यको तर्फबाट अझै के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ?
-म सन् २००० मा बेलायतबाट फर्किदा नेपालमा मृगौला फेल भयो भने ९०% भन्दा बढी ब्यक्ति केही महिनामै मृत्युवरण गर्छन् भन्ने बिश्व स्वास्थ्य संगठनको तथ्यांक थियो भने अहिले हाम्रो केन्द्रमा उपचार गराइरहेका बिरामीहरुमध्ये ९८ % प्रत्यारोपण गरेका र ९५ % डायलासिस गरेका बाँचिरहेका छन् । यसरी ९०% मर्नेबाट ९०% भन्दा बाच्नेसम्म आएको अवस्था छ । अब सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरले मात्र धान्न सक्दैन १५० बेडको मात्र केन्द्र हो जसको आफ्नै भवन पनि छैन । आफ्नो भवन, आफ्नो जग्गा र ५०० बेडमा पुर्याउन सकियो भने अहिलेको भन्दा ५ गुणा बढी काम गर्न सक्छौं र देश तथा बिदेश सबैबाट सेवा लिन आउने वातावरण बन्नुका साथै अझै राम्रो सेवा दिन र धेरै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको ज्यान बचाउन सकिन्थ्यो ।

अन्य मुलुकतिर मृगौला तस्करीका घटनाहरु सुनिने गर्छन् नेपालमा यसको अवस्था के छ?
-गरिबीका कारण पैसाको लालचमा पारेर वा अन्य अबैध कानुन बिपरित तरिका अपनाएर मृगौला बेचबिखन गर्नु गम्भीर अपराध हो । यसको सन्दर्भमा नेपालमा कडा कानुन छ । ककसले मृगौला दान गर्न पाउने कानुनमा स्पष्ट ब्यबस्था गरेको छ ।

हजुरले लामो समयदेखि मृगौला प्रत्यारोपण गर्दै आउनु भएको छ, अनुभव कस्तो रह्यो?
-वीर अस्पतालमा आजभन्दा १६ बर्ष अगाडिको कुरा हो जहाँ पर्याप्त जनशक्ति र सामाग्री थिएनन्, त्यहाँको ब्यबस्थापकसँग हारगुहार गर्दा उहाँको क्षमताले भ्याएसम्म श्रोत साधन जुटाईदिनु भयो र प्रयास सफल भयो । ४ बर्षमा ९९ जनाको मृगौला प्रत्यारोपण गरि ९९ % सफल भएको हुँदा आज नेपाल सरकारले उत्साहपूर्ण तरिकाले यो सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र स्थापना गरिदियो । यसको स्थापना गर्ने सौभाग्य मैले नै पाएँ । यो केन्द्रले १२ बर्ष नपुग्दै १२१४ जनामा मृगौला प्रत्यारोपण २२ जनामा कलेजो प्रत्यारोपण गरेकोमा ९९ % भन्दा बढी मृगौला र ९० % भन्दा बढी कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । नेपाल जस्तो देशमा सरकारी अस्पतालमा यत्ती हुनु भनेको धेरै ठूलो सफलता हो । विकसित मुलुकहरूमा पनि यस्तो सफलता कमै पाईन्छ ।

सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवाक्षेत्र बिस्तारको आबस्यकता पक्कै छ, यसको लागि के के पहल भइरहेको छ?
-यसलाई ७ वटै प्रदेशमा व्यापक बिस्तार गर्न आवश्यक पक्कै छ । यसको लागि छलफल भएको छ र सरकारले कामलाई एक कदम अगाडि बढाएको छ । जस्तो सुर्खेत र पोखरामा मृगौला प्रत्यारोपण सुरु भाईसकेको छ भने क्रमश धनगढी, हेटौंडा, बिरगंज, बिराटनगरमा पनि निकट भविष्यमा मृगौला प्रत्यारोपण सुरु गर्ने कार्यक्रम रहेको छ ।

त्यसो भए मृगौला उपचारका लागि विशेष अस्पताल छैन?
-यहि नै पहिलो हो । यहीँबाट तालीम लिएर गएकाले अन्यत्र विभिन्न अस्पतालहरुमा काम गरिरख्नु भएको छ । अहिलेलाई प्रत्यारोपण भनेर स्पेसल यहि एउटा मात्र हो । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।

उपचारका जटिलताहरु के के छन? प्रत्यारोपण पछिको स्वास्थ्य अवस्था पहिलेकै जस्तो स्फुर्थ हुन्छ त?
-कहिलेकाही उपचार अप्रेसन गर्दा रक्तस्राव हुनसक्छ । घाउमा संक्रमण हुन सक्छ । त्यस्तै निमोनिया, पिसाबको संक्रमण हुने मुख्य समस्या हो । प्रत्यारोपण पछि स्वस्थ, उत्पादनसील, फुर्तिलो नागरिक बन्छ यहि देखाउन हामिले मृगौला प्रत्यारोपण दिवसको अबसरमा हामी चिकित्सक र प्रत्यारोपण गरेका बिरामी बिच फुटबल प्रतियोगिता राख्ने गरेका छौ । खाली एउटा सावधानी चाहिँ अपनाउनु पर्ने हुन्छ जस्तो संक्रमण हुने सम्भावना अलि बढी हुन्छ किनभने आजीवन औषधी सेवन गर्नुपर्ने हुनाले रोग प्रतिरोधात्मक कमि आउने कुरा स्वभाविक छ । त्यसैले भिडभाडमा नजाने, झाडापखाला लागेका मान्छे नभेट्ने, हल्का ज्वरो आयो झाडापखाला लाग्यो भने तुरुन्तै चिकित्सकसँग परामर्श लिइहाल्ने र डाक्टरको सल्लाह अनुसार नियमित स्वास्थ्य चेकजाँच गरिराख्नुपर्छ ।

अन्त्यमा बिरामीहरुलाई र समग्र नेपालीहरुलाई के सल्लाह दिन चाहनुहुन्छ?
-बिरामीहरु नाआत्तिनुहोला, डाक्टरको सल्लाह अनुसार जानुहोला । सम्पुर्ण आमाबुबा तथा दाजुभाई दिदिबहिनीहरुले कम्तिमा बर्षमा एकचोटि अनिवार्य स्वास्थ्य जाँच गराउनुहोला, खानपानमा ध्यान दिनुहोला, अनावश्यक औसधिको सेवन नगर्नुहोस्, नियमित ब्यायाम गर्नुहोस् । मृगौलाको पुर्ण रुपले खराब भएको अबस्थामा डायलासिस र प्रत्यारोपण विकल्प हो जसमा प्रत्यारोपण उत्तम विकल्प हो । प्रत्यारोपणको लागि अंग दान आवश्यक छ । आवश्यकता अनुसार दान गर्न तयार हुनुहोला किनभने दान गर्दा मान्छे स्वस्थ र झन आयु लम्बिएको पाईएको छ, यस्तो पबित्र कार्यमा पछि नहट्नुहोला । मरेपछी खरानी भएर जाने अंग दान गर्दा पनि धेरै जनाको ज्यान बचाउन सकिन्छ । एकजन मस्तिष्कको मृत्यु भएको ब्यक्तिबाट आठ जनाको ज्यान बाँच्न सक्छ जस्तो मुटु १, मृगौला २, कलेजो १, फोक्सो २, प्यान्क्रीयाज १, सानो आन्द्रा १ यी अंगहरु निकालेर प्रत्यारोपण गर्न मिल्छ । अंग दानको लागि हाम्रो सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको फोन ०१६६१४७०९ मा सम्पर्क गर्न सक्नुहुन्छ साथै अनलाइन फारम भरेर पनि सम्पर्क गर्न सक्नुहुन्छ ।