बिदेशबाट फर्किएकालाई केही आर्थिकसहित तालिमको व्यवस्था छ: जगतबहादुर गुरुङ- नगर प्रमुख, बेलकोटगढी नगरपालिका, नुवाकोट

राजनीति समाचार

असोज २९ मंगलबार, २०८१/नुवाकोट-बेलकोटगढी-
विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय जगत बहादुर गुरुङ यतिबेला बेलकोटगढी नगरपालिका, नुवाकोटका प्रमुख भएर क्रियाशिल छन् । वि.सं. २०८० सालको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका बेलकोटगढी–४ का स्थानीय गुरुङलाई सो पालिकाभित्र पर्ने सम्पूर्ण १३ वटै वडाका जनताले विश्वास गरी नगर प्रमूखमा विजयी गराएका थिए । उनै मेयर गुरुङसँग (६ प्रश्न)का लागि पुष्पा महराले गरेको कुराकानीको सम्पादित अंश ः
१.बेलकोटगढी नगरपालिकाका बारेमा बताइदिनुस् न ।
नेपालको राजधानी काठमाडौंसँग सीमा जोडिएको जिल्ला हो नुवाकोट । नुवाकोट जिल्लाका १२ वटा स्थानीय तहमध्ये बेलकोटगढी नगरपालिका पनि एक हो । ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट नामांकरण भएको यस पालिकामा हाल १३ वटा वडाहरु रहेका छन् । दशवर्षे जनयुद्धका बेला माओवादीको गढ क्षेत्र मानिएको कुमरी पनि यही नगरपालिकाभित्र पर्दछ । यहाँका स्थानीयहरुले कृषिलाई मुख्य पेशाका रुपमा अंगाल्दै आएका छन् । यहाँका किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्रीहरु सदरमुकाम विदुरदेखि काठमाडौंसम्म पनि विक्री वितरणका लागि पुग्ने गर्दछ । स्थानीय जनताहरुलाई बढी भन्दा बढी सेवा सुविधा दिनका लागि म अहोरात्र काम गरिरहेको छु ।

२.तपाई अध्यक्ष हुनुभएपछि यस पालिकामा गर्नुभएका महत्वपूर्ण कार्यहरु के के छन् त ?
म यस पालिकामा प्रमूखका रुपमा निर्वाचित भइसकेपछि अघिल्लो मेयरसाबको पालामा रोकिएका विकास पूर्वाधारका संरचनाहरुलाई संचालनमा ल्याउने काम गरे । त्यतिबेला रोकिएका केही त्यस्ता विकास संरचनाका कार्यहरु थिए, जसलाई मैले व्यवस्थित रुपले अगाडि बढाए । प्रदेश, संघ र पालिकासमेतको स्रोत साधनहरुलाई उपयोग गरी यहाँको भौतिक विकास पूर्वाधारहरुलाई निरन्तरता दिएका छौं । यहाँको स्वास्थ्यस्थिती नाजुक थियो, शैक्षिक क्षेत्र भद्रगोल थियो त्यसैले म निर्वाचित हुनासाथ यहाँको स्वास्थ्य अवस्था र शैक्षिक स्तरलाई सुधार गर्नेछु भन्ने प्रण गरेको थिए । सोही अनुरुप म अगाडि बढेको हुँ ।
साथै आन्तरित पर्यटन विकासका लागि यहाँको धार्मिक मठ–मन्दिरदेखि ऐतिहासिक पार्कहरु निर्माण गर्ने कार्य सुरु गरेका छौं । पर्यटन प्रबर्द्धनका लागि अघिल्लो सरकारले पनि विभिन्न स्थानमा भ्युटावर निर्माण गरेको थियो । पुरातत्व विभागबाट पहिचान गरेका मठमन्दिर संरचनाहरुलाई व्यवस्थित तथा संरक्षित गर्ने गरेका छौं । त्यस्तै यहाँको कृषि उत्पादनसँग पर्यटन जोड्ने हाम्रो लक्ष्य हो । सोही अनुरुप पहिचान दिने खालको उत्पादनलाई जोड दिएका छौं । त्यस्तै स्काई साइकिलिङ, जीपलाइन संचालन तथा यहाँका ताल–तलैयाहरुको संरक्षण पनि हाम्रो योजनाभित्र पर्छ । तर नेपालको अस्थिर सरकार प्रणालीका कारण हाम्रो लक्ष्य अनुरुप काम अगाडि बढ्न नसकेपछि हामीले तयार पारेका योजनाहरु अझै छन् । जसलाई हामी जतिसक्दो चाँडो अगाडि बढाउनेछौं ।

३.स्वास्थ्य शिक्षा क्षेत्रमा यहाँले गर्नुभएका राम्रा कार्यहरु ?
तत्कालिन ६ वटा गाविस मिलेर बनेको यस पालिकामा तत्कालिन अवस्थामा स्वास्थचौकी मात्रै थिए । म निर्वाचित भएपछि सोही स्वास्थ्य चौकीलाई प्रसूति सेवासहितको स्वास्थ्यचौकीमा परिणत गर्यौ । नाम र ठाउँ उही भएपनि सेवा थप गरी स्वास्थ्य संस्थाहरु संचालनमा ल्याएका छौं । हामीले तीन वटा एम्बुलेन्स पनि संचालनमा ल्याएका छौं । प्रशुतिका महिला तथा सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकहरुका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध छ । १३ वटै वडाहरुमा स्वास्थ्य इकाइहरु स्थापना गरेका छौं । भौगोलिक रुपमा ठूला वडाहरुमा दुई वटासम्म स्वास्थ्य इकाइहरु संचालनमा ल्याएका छौं । यसर्थ स्वास्थ्यलाई व्यवस्थित रुपमा जनताको पहुँचसम्म पुग्ने गरी हामीले काम गरिरहेका छौ । अझै पनि नगरपालिका स्तरीय अस्पताल भने छैन । त्यो आवश्यक छ । त्यसका लागि पनि पहल भने गरिराखेको छु ।
त्यस्तै शिक्षाको क्षेत्रका लागि ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षा’ भन्ने नारासहित अनुगमन कार्यदल बनाएर यत्रतत्र रहेका शिक्षक तथा अव्यवस्थित विद्यार्थीहरुलाई व्यवस्थित गराएर अगाडि बढाएका छौं । विद्यार्थी नभएको विद्यालयमा पनि शिक्षक दरबन्दी धेरै भएको अवस्थामा हामीले आवश्यकताअनुसार विद्यार्थी धेरै भएको विद्यालयहरुमा स्थानान्तरण गराई काजमा पठायौं र पछि त्यसलाई स्थानीय सरकारले पदस्थापना नै गरायो । यसले गर्दा अहिले गुणस्तरीय शिक्षा र व्यवस्थित जनशक्तिलाई विद्यालयमा पुर्याउने काम गरेका छौं ।

४.यातायातको अवस्थाबारे बताईदिनुहोस् । त्यस्तै उन्नत कृषिका लागि किसानलाई कस्तो सहयोग गर्नुभएको छ ?
काठमाडौं–त्रिशुली जोड्ने पासाङ ल्हामू राजमार्गको निर्माण कार्य धमाधम भइरहेको छ । केही भाग यही वर्ष नै सम्पन्न हुनेछ । त्यस्तै स्याप्रुबेशी, गल्छीको सडक पनि सम्पन्न भइसकेको छ । त्यहाँबाट हाम्रो कार्यपालिकाको कार्यालय जाने करिव १८ कि.मि.को बाटोको निर्माण कार्य भइरहेको छ । नेपालमा आएको ठूलो परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीसी) परियोजनाको ट्रान्सफर्मर लाइनको मुख्य संरचना रहेको मेरो पालिकामा यस परियोजनाका ठूला ठूला टावरहरु पनि यसै पालिकाका ४÷५ वटा वडामा पर्छ । त्यसैले यहाँको सडक उत्कृष्ट बनाउन मैले माग गरेपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जमरकट्टेलको आदेशमा सो १८ किलोमिटरको सडकका लागि करिव ४० करोडको बहुबर्षिय टेन्डर परेको थियो । अहिले निर्माण कार्य सुरु भइसकेको छ । त्यस्तै यता धादिङको नौविसे धुनिबेशी नगरपालिकासँग जोड्ने गरी बाटो निर्माण गर्ने योजना छ । यही परियोजनामार्फत करिव ४० किलोमिटर जतिको सो बाटो जोड्न सक्यो भने मेरोपालिकाका जनतालाई थप सुविधा हुने थियो । यसका लागि पनि मैले मुख्यमन्त्रीसँग कुरा राखिसकेको छ । त्यस्तै यहाँका जनताको मुख्य पेशा कृषि भएकाले कृषिमा नै आधारित भई जनताले जीविकोपार्जन भइरहेको छ । त्यसैले कृषिलाई कसरी व्यवस्थित गर्ने भनि कृषि उत्पादन, पशु पालन लगायत पकेट क्षेत्रहरु घोषणा गरी उत्कृष्ट कार्यको सुरुवात गरिसकेका छौं । यसबाट पुरै समृद्धि भन्दा पनि जीवन निर्वाहको आधार निर्माण गरी जनताको आर्थिक स्थिती बलियो बनाई उनीहरुको जीवनस्तर माथि उकास्ने योजना छ । उत्पदानमा ध्यान दिन सकिएन भने अत्याधिक केमिकलयुक्त खाद्यान्न उपयोगमा कमी हुने थियो भन्ने विश्वास छ । सोही अनुरुप जनचेतनाको विकास गर्ने कार्य भइरहेको छ ।

५.पालिकाभित्रको विकास योजनामा विभेद भएको भन्ने आरोप छ नि, के भन्नुहुन्छ ?
काम गर्दै जाने क्रममा कही कतै आरोह–अवरोह पार गर्नुपर्ने हुन्छ । त्यो स्वभाविक पनि हो । यो पालिकाभित्र पनि सबै वडाहरु समान छैनन् । अलि ओझेलमा परेका क्षेत्रहरुलाई समताको हिसावले अगाडि बढाउन मैले बढी महत्व दिनुपर्ने हुन्छ, जुन मैले गरेको हुँ । उदाहरणका लागि जनयुद्धकालमा नुवाकोटको गढ क्षेत्र मानिएको कुमरीको सिंगो गाउँ नै विकासको हिसावले आझेलमा थियो । स्वास्थ्य, शिक्षाको अवस्था नाजुक थियो । त्यसलाई वडा अन्यसरह समान हुने गरी अगाडि बढाउन खोज्दा अन्यत्र भन्दा बढी लगानी गर्नुपर्ने हुन्छ । त्यो मेरो दायित्व पनि हो । त्यसलाई विभेद भन्न मिल्दैन । सबैलाई समान बनाउनसक्ने गरी राज्यले काम गर्न सकेन भने हामी जनप्रतिनिधि हुनुको अर्थ हुँदैन ।

६.अन्त्यमा विदेश पलायन युवाहरुलाई रोक्न कस्ता पहल गरिरहनु भएको छ ?
अहिले युवाहरु विदेश पलायन मुलुककै मूल समस्या बनेको छ । यसले गर्दा गाउँ शून्य हुँदै छ । गाउँ छोडी शहर पस्ने, शहर छोडी विदेश पलायन हुने क्रम अत्यधिक छ । यसबाट हाम्रो बेलकोटगढी पालिका पनि अछुतो रहन सकेको छैन । त्यसलाई रोक्नका लागि युवाहरुलाई व्यवस्थापन गर्नु मुख्य कुरा हो । जनगणनाको तथ्यांक अनुसार यस पालिकामा ४८ हजार जनसंख्या रहेकामा झण्डै ५० प्रतिशत जनसंख्या गाउँ छाडि अन्यत्र छन् । कोही राजधानी काठमाडौंमा हुनुहुन्छ, कोही विदेश, कोही राम्रो शिक्षा स्वास्थ्यको खोजीमा सदरमुकाम विदुरमा पनि बसोबास गर्दै आउनुभएको छ । उहाँहरुको नागरिकता, बसोबास रेकर्ड बेलकोटगढी नगरपालिकामा भएपनि वास्तवमा उहाँहरुको बसाई अन्यत्र छ । यसले गर्दा यहाँको उर्वर जमिन बाँझो छ, छोडेका घरहरु समेत भग्नावशेष भएका छन् । यस्तो परिपाटीलाई हटाउनका लागि पालिकाले विभिन्न लघुवित्त कार्यक्रम, जनतालाई उद्यमशील बनाउने गरी तालिम तथा लगानी सम्मको व्यवस्थापन गर्ने गरेका छौं । त्यस्तै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरुलाईं पालिकाले केही आर्थिक सहयोगसहित तालिमको व्यवस्था गरेका छौँ । यो योजना अहिले समय लाग्ने र बढी खर्चिलो हुने भएपनि कालान्तरमा प्रभावकारी हुने विश्वास लिएको छु ।