जनयुद्धको भट्टीबाट खारिएकी कर्णालीकी प्रथम उपसभामुख !

अन्तर्वार्ता अन्य राजनीति समाचार

(कर्णाली प्रदेश प्रथम उपसभामुख पुष्पा घर्ती बिष्ट ‘सपना’सँग कुराकानीको आधारमा वाकर अनलाइन प्रतिनिधि पुष्पा महराले तयार पारेको सामाग्री)

माघ २७ आइतबार,२०८१-
कर्णाली प्रदेशकी प्रथम उपसभामुख पुष्पा घर्ती विष्ट ‘सपना’ले आफ्नो सिंगो जीवननै क्रान्तिका लागि जनयुद्धमा समर्पित गरिन् । हजारौं सहिद, बेपत्ता, घाइते नेता कार्यकर्ताको योगदान र बलिदानले अहिलेको राजनीतिक परिवर्तन, वाक स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र, समावेशिता लगायत थुप्रै उपलब्धिहरुको स्थापना भएको घर्ती बताउँछिन् । उनी सामाजिक कुरिती, कुसंस्कार र सामन्तवादी सोचलाई चुनौती दिनसकेकोमा आफू पनि गर्व गर्छिन । बाल्यावस्था देखिनै जनबादी तथा प्रगतिशील गीतसंगीत अतिनै रुचाउने घर्ती एसएलसी परिक्षा दिएर घर फर्किने क्रममा बीचबाटोबाटै भुमिगत भएकी थिइन । वि.सं. २०३४ सालमा जाजरकोट जिल्लामा जन्मिएकी घर्ती सानै उमेरमा राजनीतिमा प्रवेश गरिन् । उनी २०५३ सालदेखि २०६२ को शान्ति सम्झौतासम्म निरन्तर माओवादी पार्टीमा भूमिगत भएर अघि बढिन । उनले भूमिगत हुनु पूर्व अनेमसंघ क्रान्तिकारीको जिल्ला सचिव हुँदै शान्ति प्रक्रियामा आएर २०७४ सालमा कर्णाली प्रदेशको प्रथम उपसभामुखको जिम्मेवारी हासिल गरिन । मुलुकमा आमूल परिवर्तनका निम्ति पीछडिएका, दबिएका, शोषित वर्गलाई जागृत गर्दै उनी गाउँ गाउँमा चेतना प्रवाह गर्दै संगठन विस्तार गर्दै आफ्ना सहयोद्धाहरुसँग हातेमालो गर्दै कष्टकर जीवन बिताउदै सधै अग्रसर भइन । उनी आवाज बिहिनहरुका लागि बुलन्द आवाज बनेर राजनीतिमा होमिएकी थिइन । त्यसैले कुनै प्रशासनका रोकावट वा सामाजिक बाधाले उनका पाइला रोक्न सकेनन । उनी बिद्यार्थी राजनितीमा सकृय हुँदै संगठनमा आवद्ध भएर जनयुद्धको थालनीका क्रममा रातभर नसुतिकन ‘जनयुद्ध जिन्दावाद !, जनयुद्धको दिशामा अघि बढौं !’ भन्दै विभिन्न नाराहरु बाटोको छेउछाउ, ठूला ढुंगा, घरका भित्ताहरु रंग्याउँदै हिडेको उनको मानसपटलमा अझै ताजा छ । २०४८ सालमा मोटो मसालका रुपमा पार्टीले चुनावमा भाग लिँदा समेत उनले पार्टीको प्रचारप्रसारमा काम गरेकि हुन । उनले पछि २०५० सालमा अ.ने.म.संघ(क्रान्तिकारी)को जिल्ला सचिवको जिम्मेवारी बहन गरिन । जनयुद्ध सुरु भएपछि त पूर्णकालिननै भएर भूमिगत जीवनमा होमिन पुगिन ।

घर्ती आफ्नी आमासँग

जाजरकोट नलगाड नगरपालिका दल्लीको प्रहरी चौकीले उनको परिवार माथि गरेको अत्याचारले घरमा बस्ने अवस्था थिएन । प्रहरी यातनाका कारण पाँच दाजु भाई, भाउजु, बाबा आमा सबै सदस्यले भूमिगत हुनुपर्ने अवस्था आएको उनी स्मरण गर्छिन् । त्यतिखेर उनको घर पार्टीका कार्यकर्ताहरुको खाने बस्ने,गाउँको मुख्य शेल्टर बनेको थियो । पार्टीको वैधानिक रुपमा कार्यक्रमका लागि बैठक, भेलाहरु पनि उनको घरमा हुने गरेको सुइको प्रहरीले पाएपछि उनको परिवारलाई दमन गर्ने क्रम बढ्दै गएको थियो । २०५२ सालमा रुकुमको आठबीसकोट प्रहरीचौकीमाथी आक्रमण भएको हुँदा जाजरकोटको नलगाड नजिकै भएकोले सो आक्रमणपछि ‘माओवादीलाई पाल्यौ’ भन्दै प्रहरीले उनको स–परिवारलाई गिरफ्तार गर्‍यो । बीस बाइस दिनको शारीरिक मानसिक यातनापछि उनीहरुलाई तारिखमा छोडिएको थियो । त्यसपछि मात्र परिवारका अन्य सदस्य पनि बिस्तारै घर फर्किए थिए । त्यो घटना पछि उनी र उनका दाजु–भाउजु र भाई भने पूर्णरुपमा भूमिगत नै भए । यो खबर पछि उनका घरमा रहेका बाकी सदस्यमाथी प्रहरी दमन झन चर्कियो । २०५५ सालमा ‘किलो सेरा टु’अपरेशनका क्रममा प्रहरीद्वारा उनको बुवा लोतो घर्तिको हत्या गरियो । यस निकैनै पिडादायक घटनाले उनको परिवार बिछिप्त भयो तर पार्टीको सहि बिचार र मार्गनिर्देशनले शोकलाई शक्तिमा बदलेको थियो ।
कान्छो भाई मुनालसँग

साधारण किसानी परिवेशमा हुर्केका दाजुहरु जनयुद्धमा पुरै नहोमिए पनि पार्टीलाई सहयोग गर्दै आए र अहिले गाउँले जीवनमै व्यस्त छन । उनका कान्छा भाई टक बहादुर घर्ती मगर ‘मुनाल’ भने दिदीझै राजनितीमा सकृय छन । मुनाल तत्कालीन जनमुक्ति सेनाका ब्रीगेड कमाण्डर थिए र उनले दर्जनौं सैन्य कार्वाहीमा कुशलता पुर्वक कमान्ड गरेका थिए ।

भूमिगत जीवन
२०५२ फागुन १ गते जनयुद्ध घोषणा भयो । माओवादीले ठाउँ–ठाउँमा तत्कालिन सरकार विरोधी कार्यको सुरुवात गरिसकेको थियो । गाउँले जनताको साथमा रहेर माओवादीले सामन्तका बिरुद्ध जनकारवाही अगाडि बढाइ रहेको थियो । यता प्रहरी प्रशासनले भने माओवादीलाई गासबास दिए भन्दै सोझासीधा जनतालाई यातना दिने र हत्या गर्ने क्रम बढ्दै थियो । केहीले राजनीति बुझेर क्रान्ति र परिवर्तनका लागि जनयुद्धमा होमिए, भने केही निर्दाेषलाई राज्यले विभिन्न जुठा लाल्छना लगाउदै घर छोडेर हिंड्न् बाध्य बनायो । उनी यसैको एउटा उदाहरण थिइन । एसएलसी परिक्षा दिन सदरमुकाम पुगेकी उनी घर पुग्नु अगावै बीचबाटोबाटै भूमिगत भएकी थिइन् । उनले माओवादीको १० वर्षे संघर्षमा कुनै पनि दिन पछि नहटिकन निरन्तर पार्टीलाई साथ दिइन् । बुवाको हत्या पछि पनि परिवारसँग सँगै बसेर दुःख साट्न नपाएको घटनाले उनको मनमा सधै विझाइ रहन्छ । जनताको खुशीका लागि ज्यानको बाजी थापेर हिँडेको मान्छे भएपनि बुवाको हत्याले भने स्वभाविक रुपले उनलाई निकै चोट पुगेको थियो । केही बर्ष अघि आमाको निधनले झन अभिभावक बिहिन भएको महसुस हुन्छ उनलाई । जीवन साथी गुमाएकी आमाले उनीमा उत्साह र साहस भर्ने काम गर्थिन; उनको प्रेरणाको स्रोत थिइन ।

घाइते योद्धा आँखा अगाडि सहिद !
जनयुद्धका क्रममा सँगै हिँडेका, संगै एकै थालमा खाना खाएका तथा सँगै लडेका साथी घाइते, अपांग र सहीद पनि भए । हरेक पटक युद्धमा जानु अघि पूर्वतयारीका क्रममा प्राथमिक उपचारका लागि औषधीदेखि उद्धारका लागि स्ट्रेचर लिएर सिरमा कफन बाधेर हिंड्नु पर्थ्यो । र मृत्यु भएमा खाल्डो खन्न कुटो कोदालो, गैटी, बेल्चाको जोडजाम गरिन्थ्यो । ‘यो युद्धमा कसको पालो होला मर्ने वा यो स्ट्रेचरमा सुत्ने ? मेरै पालो पो हो कि ?’ भनेर एक अर्कामा ठट्टा गर्थे उनीहरु ।
दैलेखको नौमुले प्रहरी चौकी आक्रमणका क्रममा सँगै खाना खाएर छुटेका ६ जना योद्धाहरु सहिद भए । रातभरको भिडन्तपछि उक्त सफल आक्रमणमा उनी पनि सहभागी थिइन् । बम र गोलीका छर्राले छियाछिया बनेका घाइते शरीरले ‘पानी–पानी’ भन्दा पानी खुवाउँदा खुवाउँदै सहीद भएका साथीहरुको सम्झाना उनको दिमागमा कहिलै नमेटिने पीडादायक छाप बसेको छ । त्यतिबेलाका घटनाक्रमहरुले उनको आँखा अझै रसाउँछन । भन्छिन्, ‘सँगै हिँडेका साथी दुष्मणको गोली लागेर आँखा अगाडि ढले, गोलीले छेडेर रगतमा लत्पत्तिएको शरीर दुखाइले अर्धचेत अवस्थामा घरमा बाबा आमालाई खबर गरिदिनु है काम्रेड,भन्दै सहिद भएको क्षण अझै आँखामा घुमि रहन्छन ।
वाकर प्रतिनिधिसँग बोल्दै उनले लामो सास फेर्दै भन्छिन् ‘उनको त्यो आवाज मेरो काममा अझै गुन्जि रहन्छ…’ । बोल्दाबोल्दै उनी एक्कासी स्तब्ध हुन्छिन् । केही समय उनको बोली रोकिन्छ र आफुलाई सम्हाल्दै उनी अगाडि बढछिन । उनलाई एक जना कालिकोटका घाइते जनमुक्ति सेनाको जिम्मा थियो । अन्दाजन २२/२३ बर्षका ती घाइतेलाई उनले स्याहार्दै थिइन । उनको कम्मरबाट गोली लागेर पछाडीबाट निस्किएको थियो र अवस्था निकै चिन्ताजनक थियो । जङ्गलको छेउमा रहेको एउटा घरमा उनी लगायत अन्य घाइतेहरुलाई राखिएको थियो । बिहान उनको अवस्था झन खस्कियो । उनले बोल्न चाहे । आफ्नो आमा बुवा र आफन्त सम्म आफ्नोबारे खबर पुर्याउन अनुरोध गरे र आफू अब न बाच्ने पनि सुनाए । यस्तै यस्तै कुरा गर्दा गर्दै उनको आखै अगाडि एउटा वीर योद्धाको सहादत भयो । यो घटना उनको मन मस्तिष्कमा सधैका लागि गडेको छ; उनी बेला बखत सो घटना सम्झेर झस्किन्छिन । कहिले न मेटिने गरि उनको मानसपटलमा ताजै छ ।
उनी अरु त्यस्तै जीवन्त घटना तर्फ उनी लाग्छिन । फेरि अर्को एउटा घटना दैलेखको रानीवनबारे उनले बताईन । उनीहरू उस्तै उमेरका तीन जना महिला कमरेडहरु सँगै बसेका थिए । विहान ९ बजेतिर उनीहरूले माथि डाँडातिरबाट राइफल काँधमा हालेर एउटा लस्कर तलतिर झरिरहेको देखे ।
‘साथीहरु आए, कसको टिम रहेछ ? अब मेस (खाना) चलाउनुपर्ने होला भनेर क.पूजा, क.शिक्षा र म छलफल गर्न थाल्यौं’ उनी एकोहोरो भएर भन्दै थिइन । एउटा टिम घरपछाडि आइपुग्यो, ‘दुष्मण पो रहेछ’ भन्दै ‘हतारहतार घरभित्र पस्यौं, मकैको कुन्यू (थुप्रो)को पछाडिबाट निस्केर भाग्यौं,’ उनले भनिन ।
‘भर्खा याम जस्तो लाग्छ । मकैबारीमा हामफालेर भाग्यौ हामी तीन जना तिनतिर । को कता गयो थाहा भएन । दुष्मनको ठूलो फौज रहेछ, एउटा माथिबाट आउँदै गर्दा अर्का तलबाट आईसकेको रहेछ,’ उनले भर्खरै घटना घटेझै रोमान्चित हुँदै थपिन ।
‘हामीलाई त्यहाँको भूगोलको कुनाकन्दरा थाहा भएकाले हामी सहजै भाग्न सफल भयौं,’ उनले उत्साहित स्वरमा भनिन ।
‘म चाहिँ अप्ठ्यारो बाटोहुँदै खोलाको खोच हुँदै धेरै अगाडि पुगे । धेरै टाढा पुगेपछि उनीहरुलाई त पक्कै पक्राउ गर्‍यो वा मार्यो भन्ने मलाई लाग्यो । अरुलाई पनि त्यस्तै लागेछ,’ अलि सहज हुँदै उनले सुनाइन् ।
‘उनीहरूलाई पनि मलाई दुष्मनले पक्राउ गर्‍यो भन्ने लागेछ,’उनको स्वरमा हल्का उत्साह सुनियो ।
‘दिनभर हिँडेपछि जनताको गोठमा पुगे । त्यहाँ पुगेपछि यसो आफूलाई नियाले, खाली खुट्टा रगतले भिजेको थियो, कानमा जुका, नाकमा जुका, शरीर भरी जुका; तान्दा पनि नआउने, टोकेको ठाउँहरुबाट रगत बगेको थियो । ती जुका फाल्न त्यहाँका आमा दिदीहरुले सहयोग गर्नुभयो । खरानी, नुन, तिमुर लगाएर जुका फालिदिनु भयो,’उनले कृतज्ञ हुँदै सुनाइन ।
त्यो रात उनी त्यही बसिन । केही दिनपछि पुनः गाउँ फर्किन । गाउँमा साथीहरुको अवस्था बुझिन । गाउँलेहरुले उनीहरुपनि भागेको भन्ने सम्मको सूचना दिए । तर जिउँदै रहेको कुरा एक महिनापछि पार्टीबाट खबर आएपछि बल्ल खुशीको सिमा रहेन । साथीहरुको पनि अवस्था उनकै जस्तै दर्दनाक भएछ । ऐसेलु र चुत्राको झ्याङ हुँदै भाग्दा जनताको आँगन टेक्दा शरीर छोप्ने कपडा नि थिएन । उनलाई काँडासहित जुकाले पनि खायो । जे होस् तीनै जना सकुशल ज्यान जोगाउन सफल भएका थिए । अहिलेको जस्तो सूचना प्रबिधिको सुविधा थिएन, झण्डै एक महिना तीनै जनालाई निकै तनावपुर्ण दिन काटनु पर्यो ।

संगठकको जिम्मेवारी !
पार्टीमा लागेका सबैलाई फरक फरक तहको जिम्मेवारी दिइन्थ्यो । सबैको सैन्य जीवन हुदैनथ्यो । ‘लडाईमा जाँदा जनमुक्ति सेनालाई सहयोग गर्ने ‘संगठक’ थिए,’ उनले आफ्नो जनयुद्ध कालिन जिम्मेवारी बारे खुलाइन ।
‘हाम्रो काम भनेको त्यहाँको व्यवस्थापन, सूचना आदान–प्रदान गर्ने हुन्थ्यो । लडाईमा जनमुक्ति सेनालाई सपोर्ट हुने गरी कुनै एउटा जिम्मेवारीमा जोडिनु पथ्र्याे । जस्तो स्वास्थ्यकर्मी बनेर, युद्धमा घाइते भएकाहरुलाई एक स्थानबाट अर्को स्थानमा सार्नेदेखि, प्राथमिक उपचार गर्ने, जटिल भए अन्यत्र पठाउने, मृत्यु भए बोक्ने वा त्यहीँ दाहसंस्कार गर्ने, युद्धमा जाँदा सामान बोक्ने लगायतका काम गर्नु पथ्र्याे । आफ्नो काँधमा आएको काम आफूहरुलाई मात्रै थाहा हुने गरी कोड भाषाको प्रयोग गरिन्थ्यो ।
‘हरेक पटक मृत्युलाई भेटेर आउथ्यौं ! भोलि अथवा पर्सी कुनै ठाउँमा युद्ध गर्न जाने हो भन्ने बारे निर्णय भइसकेपछि सोही अनुरुपको तालिम, खानपान, मेस (खाना) व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो । युद्धमा जानुपूर्व नै तयारी गर्नुपर्ने हुन्थ्यो । घाइतेका लागि स्टेचरदेखि, सहीद भएमा कोदालो, कुटो कोदालोसम्मको व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो । युद्धको पूर्वतयारी गर्दा आफू एक्लै भए मर्छु कि भन्ने डर लाग्थ्यो होला, तर सामुहिकता भन्ने कुरा बलियो हुँदो रहेछ । किनभने हामी सबै मृत्युको मुखमा पुग्दै फर्किएर आउथ्यौं डर भने नजिक पनि आउदैनथ्यो । हरेक पटक जाँदा केही साथी गुमाउँथ्यौं,’ उनले साहसपुर्वक भनिन ।
‘हारे हत्कडी, जिते संसार’ भन्ने विश्व कम्युनिस्ट यथार्थ तथा मान्यता आत्मसात गर्दै हामी उकालो ओरालो र जनताको घर दैलोमा पुगथ्यौ,’ उनले स्पष्ट पारिन ।
‘पूर्वतयारीका क्रममा कहिलेकाँही परिवारको सम्झना आउथ्यो तर क्रान्तिमय बिचार बोकेको पार्टीको सदस्य भएकोले;परिवर्तनका लागि ज्यानको बाजी राखेर मैदानमा उत्रिएका हामी खेलाडी हौं समाज परिवर्तनका निम्ति हामी रणभूमिमा उत्रिएका हौं,भन्दा आत्मबल बढेको महशुस हुन्थ्यो,’ उनले सहज हुँदै भनिन ।

जनवादी विवाह
किशोरी अवस्थामानै राजनीतिमा लागेकी उनी, व्यवहारले परिपक्क हुँदै पार्टीभित्रै जनवादी विवाह पनि गरिन् । उनी २०५३/०५४ सालतिर अनेमसंघ (क्रान्तिकारी)की जिल्ला अध्यक्ष थिइन । त्यो समयमा गाउँले परिवेश फरक थियो, २२/२३ वर्षको उमेर सम्म विवाह न भएमा, ढिला भइसकेको मानिन्थ्यो । पार्टीभित्रै पनि उनलाई अब विवाह गर्नुपर्छ भन्ने खालका सुझावहरु धेरै आउथे ।
आखिरकार युद्धको आधीबेहेरीमै उनको विवाह भयो । तर उनको जनबादी विवाहको प्रसङ्ग निकै रोचक छ । एउटा कपाल काटने किस्साले त्यो सम्भव भएको थियो ।

जाजरकोटका नेता, पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत, नेता भक्त बहादुर शाह लगायतका दाजुहरु उनको विवाहका लागि अलि बढी चिन्तित थिए । सुर्खेतको गुमीस्थित एक बैंकमा पार्टीले कारवाही गरेको थियो । त्यसपछि भाग्ने क्रममा सुर्खेत र जाजरकोटको बीचमा रहेको घनाजंगलमा उनीहरु दिनभर बस्नुपर्ने भएछ । बाहिर निस्किए प्रहरीले कारवाही गर्ने भएकोले साथमा लिएर गएको खाजा सातु खाएर दिनभरी त्यही बस्नुपर्ने भएछ । त्यही खाली समयमा नेता शक्ति बस्नेतले कपाल काटने सोच बनाएछन ।
‘तपाईहरु मध्ये कसलाई कपाल काटन आउँछ?’ बस्नेतले सोधे । त्यहीँ एक जना दुब्लो पातलो अग्लो एक जना युवाले,’सर म काटन सक्छु,’ भन्दै उभिए । ती युवाको नाम थियो नर बहादुर बिष्ट । र अलि पर खोल्सामा कपाल काट्ने क्रममा उनीहरुबीच लामै सम्वाद भएछ । सोही क्रममा विवाह प्रशंग पनि निस्केछ । त्यहीँ नेता बस्नेतले उनको विवाह भएको न भएको बारे जिज्ञासा राखेछन । बिष्टले सहजै आफ्नो बिहे नभएको बताएपछि उनको दिमागमा पुष्पा घर्तीका बारेमा कुरा खेलेछ । उता बिष्टको मनमा ‘अन्तरजातीय विवाह गर्छु’ भन्ने रहेछ । केटी हेर्न जाजरकोट जाने निधो भएछ । बिष्ट तत्कालिन अवस्थामा अखिल क्रान्तिकारी सुर्खेतका जिल्ला अध्यक्ष थिए ।
‘नेताहरुबाट नरबहादुर जीसँग विवाहका लागि मलाई प्रस्ताव आयो, मेरा लागि यो ‘प्रस्तावित विवाह’ थियो,’। कार्यक्रमकै शिलशिलामा जाजरकोटमा हाम्रो भेट भयो, कुराकानी भयो । एउटै उद्देश्य बोकेको आन्दोलनको सहयात्री, सहयोद्धासँग मैले २०५६ सालमा जनवादी विवाह गरे,’ उनले सुनाइन ।
उनलाई हेर्न जाजरकोट पैदल आउनेक्रममा उनी बाटोमा अलि चिम्सा आँखा देख्ने बित्तिकै टक्क अडिन्थे । जाजरकोट घर भएका उनलाई केटी देखाउन लिएर जाने कमरेड भने अलिकति अझै हिंड्नु पर्छ भन्दै अगाडि बढाउथे । अन्ततः दुबै जनाको भेट भयो र मन पनि मिल्यो । उनीहरूको जनबादी बिहे भयो । तर युद्धको समय थियो दुबै जनाको आआफ्नो जिम्मेवारी र आ आआफ्नै कार्यक्षेत्र थियो । बेला बखत भेटघाट हुन्थ्यो । एक जना ढले अर्काले राइफल बोक्ने प्रण थियो, पछि हटने कुरै थिएन । २०६१ सालमा छोराको जन्म भयो ।

छोरा प्रीन्ससँग

‘नाबालकलाई पिठ्युमा बोकेर कहिले कहाँ, कहिले कहाँ युद्धमा हिँडेको हुँ । बच्चा हुर्काउन निकै कठिन थियो,’ वात्सल्यले भरिपुर्ण स्वरमा उनले भनिन । हाल उनका श्रीमान नर बहादुर बिष्ट राष्ट्रिय सभा सदस्य तथा पार्टीका सुर्खेत जिल्ला इन्चार्ज छन ।

कर्णाली प्रदेशको प्रथम उपसभामुख !
मुलुक शान्ति प्रक्रियामा गई संघीयतामा गएपछि नेपालमा प्रादेशिक संरचना बन्यो । जसमध्ये कर्णाली प्रदेश पनि एक हो । २०७४ सालमा उनी कर्णाली प्रदेशको सदस्य हुँदै पहिलो उपसभामुख बनिन । उनी एउटा इतिहास रच्न सफल भईन ।
‘कर्णाली प्रदेश आफैमा पिछडिएको प्रदेश हो । नेपालका कुनै पनि ठाउँ छैन होला जहाँ यातायातको पहुँच नपुगेको तर कर्णालीको हुम्ला अझै यातायातको पहुचबाट टाढा भएको बेलामा म उपसभामुख भए । अझ त्यहाँको मुख्य समस्याहरु ‘बाल विवाह’ ‘छाउपडी’ले निकै जरा गाडेको थियो । यस्ता कुसंस्कारलाई न्यूनिकरण गर्नका लागि तत्कालिन अवस्थामा विभिन्न पार्टीका महिला सांसदहरुसहित बेला बेलामा छलफल गरी एउटा निचोड निकाल्यौं । बालविवाह न्यूनिकरणका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने नारालाई सरकारमार्फत अघि बढायौं र कार्यान्वयनमा पनि ल्यायौं । छोरी जन्मिएपछि जन्मदर्तासँगै बैंकमा खाता खोल्ने र २० वर्षपछि विवाह गर्नेले त्यो खाताको रकम पाउने अन्यथा त्योभन्दा अघि विवाह भए त्यो रकम नपाउने नियम लागु गरियो,’ उनले गर्वकासाथ सुनाइन ।
त्यतिखेर संस्थापक प्रदेश सभा भएकोले विभिन्न नयाँ समस्या थिए । ती समस्या समाधानका लागि केही क्षेत्रीय तहबाट पनि सहयोग भयो । बाँकी निकै अप्ठ्याराका बीचमा उनीहरुले सभा संचालन गर्दै अघि बढे । अस्थिर सरकारका बीचमा माननीयहरुको ध्यान कानुन निर्माण र विकासतिर भन्दा पनि मन्त्री बन्नेतिर बढी, कानुन बनाउने संसदीय समितिमा कानुन पारितका लागि कोरम नपुग्ने जस्ता समस्याहरु निकै भोग्नु पर्यो । त्यसका बीचमा तत्कालिन कर्मचारी, सरकार, संसदका सभामुख, उपसभामुख, सांसद सबैको सल्लाह सुझावअनुसार नै त्यहाँका संरचनाहरु बनाउँदै अघि बढनु पर्यो । कानुनी रुपले उनको कार्यकालमा ५३/५४ वटा नयाँ कानुन पारित भएका थिए । निकै बाधा व्यवधान आए तर सहमतिमा समाधान भए । यसरी क्रान्तिको भट्टीबाट जन्मिएकि एक जाजरकोटी चेली इतिहास रच्न सफल भईन !