विभेद देख्ने बित्तिकै आवाज उठाउन मन लाग्छ ! – नेतृ अमृता थापा मगर

अन्तर्वार्ता राजनीति विचार समाचार


(नेकपा माओवादी केन्द्रकी स्थाई कमिटी सदस्य तथा पुर्व सभासद अमृता थापा मगरसँग कुराकानी पछि हाम्रो प्रतिनिधि पुष्पा महराले तयार पारेको एक बिशेष सामाग्री)
जेठ २५ आइतबार,२०८२/काठमाडौं-
नेकपा माओवादी केन्द्रकि नेतृ अमृता थापा मगरको जन्म एक जना बामपन्थी शिक्षकको घरमा भएको थियो । त्यसैले थापामा कलिलो बाल्यकाल देखिनै राजनीतिक चेत भरीपुर्ण थियो ।
उनी पनि माओवादीको दश वर्षे जनयुद्धमा राज्य विरुद्ध पौठेजोरी खेल्ने एक शाहसिक महिला नेतृ हुन । उनी किशोरावस्था देखिनै सशस्त्र युद्धका सम्पुर्ण कला कौशल सिक्दै स्थापित भएर निरन्तर अगाडि बढिन । बि.स.२०२९ साल जेठ ५ गते स्याङ्जाको तत्कालिन बिरुवा अर्चले हालको विरुवा गाउँपालिका–२ मा बुबा लोक बहादुर थापा र आमा शोभा कुमारी थापाका तीन सन्तानमध्ये पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् । सामान्य शिक्षक परिवारमा जन्मिएकी थापाका बाबु पहिले देखिनै बाम बिचारदेखि प्रभावित थिए । उनले आफ्ना सन्तानलाई राम्रो वातावरण दिने भरमक्धुर प्रयास गरेका थिए । एउटा वामपन्थी शिक्षक भएकोले समाजमा उनको छुट्टै पहिचान र छाप थियो । त्यसको प्रभाव उनमा विशेष प्रकारले पर्न गयो ।

बि.स.२०४८ मा नेतृ अमृता थापा मगरले नेकपा एकता केन्द्र को पार्टी सदस्यता लिँदै क्रान्तिकारी जीवनको सुरुवात गरिन । उनी विद्यार्थी राजनीतिमा सकृय भइन । त्यतिखेर रोजीखोजी हुदैनथ्यो । पार्टीले जहाँ पठायो त्यहीँ टेक्नु पर्दथ्यो । पार्टीले जुन जिम्मेवारी दिन्थ्यो इमानदारीपुर्वक सम्भाल्दै फत्ते गर्नु पर्थ्यो । नेता कार्यकर्ताहरुले कठिन भन्दा कठिन जिम्मेवारी आफ्नो कान्धमा आउँदा पनि हासी हासी स्विकार्दै मोर्चामा अघि बढथे । उनले युवा संगठन वाईसीयलमा जिम्मेवारी पाउदा पनि कुशलतापुर्वक आफ्नो कर्तब्य निर्वाह गरिन । तर उनी लामो समय अमेमसंघ(क्रान्तिकारी)मा आबद्ध भएर नेतृत्व गर्दै आफ्नो जिम्मेवारी बहन गरिन । महिला संगठनकै विभिन्न पदिय हैसियत सम्भाल्दै हाल उनी अमेमसंघ(क्रान्तिकारी)को केन्द्रिय अध्यक्षको महत्त्वपूर्ण भुमिकामा पुगेकी छिन ।

उनी बि.स.२०४६ सालको जनआन्दोलन ताका उनी पोखरामा थिइन । त्यहाँको राजनितिक वातावरणले उनीमाथि निकै छाप छोडयो । उनी त्यसपछि सकृय राजनीतिमा न होमिएर रहन सकिनन । २०४८ सालमा अनेरास्ववियू को स्याङ्जा जिल्ला सचिव र २०४९ सालमा गण्डकी समन्वय समिति सदस्य समेत भइन । त्यस्तै जनसांस्कृति महासंघको प्रदेश सदस्य समेत भएकी थापा नेकपा माओवादीको २०५१ सालमा चितवनमा भएको राष्ट्रिय सम्मेलनमा गण्डकीबाट प्रतिनिधिको रूपमा सहभागी भएकी थिइन् । माओवादी जनयुद्धको सूक्ष्म तयारी चलि रहँदा २०५१ सालमा अनेमसंघको काठमाडौं उपत्यका समन्वय समितिको संयोजक तथा पार्टीको एरिया सदस्य भई सकेकी थिइन् । दोस्रो ऐतिहासिक जन–आन्दोलनदेखि गणतन्त्र प्राप्ति सम्मका ठूला राजनीतिक उपलब्धि र सङ्घर्षमा नेतृत्वदायी भुमिका खेलेकी छिन । यसबिच उनले पिएसएल सम्मको अध्ययन गरेकी हुन । हाल उनको काठमाडौंस्थित रत्नराज्य क्याम्पसमा स्नातकोत्तरको सिलसिला जारी छ । उनीसँग राजनितिक यात्राको सुरुवाती चरणमा रेडियो नेपालको छोटो समयको जागिरको अनुभव पनि छ ।

राजनीतिक प्रेरणा आफ्ना बाबा !
उनका बाबा उनका प्रथम राजनितिक गुरु हुन । उनीबाट प्राप्त बामपन्थी विचारका कारणले रुढीबादी सामन्ती चिन्तनसँग भिडन उनलाई खासै गारो भएन । त्यसैले उनको पहिलो प्रेरणा नै उनका बाबा हुन । डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालिन संयुक्त जनमोर्चाको कोषाध्यक्षको जिम्मेवारीमा समेत पुगेका थिए उनका बाबा । घरमै मार्क्स, लेनिन, स्टालिन लगायतका बाम राजनितिक विचारले भरीपुर्ण पुस्तकहरु सजाएर राखिएका थिए । ‘म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास, रसियन साहित्यहरु, चिनिया उपन्यासहरु हाम्रो घरमा थियो’ उनी बाल्यकाल सम्झिन्छिन ।
‘बाबाले पढ्नु हुने बामपन्थी राजनीतिक विचारधाराका कितावहरुमध्ये धेरैजसो मैले पढेकी थिए । त्यस्ता कितावहरु पढ्दा ममा एक किसिमको अर्कै उर्जा उत्पन्न हुने अनुभूति हुन्थ्यो । तत्कालिन अवस्थाको राजनीतिक व्यवस्थाले वर्ग, जाती, क्षेत्र, लिंगबिचको विभेद समाधान गर्दैन; त्यसका लागि जनगणतन्त्र ल्याउन जरुरी रहेको मैले महशुस गरे,’ उनी भन्छिन,’ त्यसैले २०४६ सालको जनआन्दोलनताका नै म राजनीतिमा सकृय भइसकेको थिए । त्यसपछि सशक्त जनविद्रोहका लागि म जनयुद्धमा होमिए’।

युद्दकालिन जटिलताका बीचमा बन्दुक र ग्रेनेड बोक्दै सर्वहारा वर्गको मुक्तिका लागि हिँडेकोमा उनलाई सधै गर्व महसुस हुन्छ । कतिपय मिठा र कतिपय तिता पलहरु अझै पनि मस्तिष्कमा ताजै छन । उनी सधै पार्टीभित्र महिला सहभागीता र भुमिकाका बिषयमा पार्टी नेतृत्वसँग प्रश्न गर्थिन र समाधानका उपाउ सुझाउथिन । नयाँ कुरा सिक्ने उनीमा प्रचुर जिज्ञासा रही रहन्थ्यो ।

आमाको छोरीप्रतिको विश्वास !
उनकी आमा स्याङ्जाकै विकट ठाउँमा जन्मिएर गाउले परिवेशमा हुर्किएकी एक साधारण महिला थिइन । यद्यपि उनी एक कुशल गृहणी थिइन र घर धन्दा र नानीहरूको हेरचाह मै उनको दैनिकी बित्ने गर्थ्यो । हरेक आमालेझै आफुले जति दुख गरे पनि आफ्ना सन्तानको प्रगति र विकास देख्न चाहान्थिन उनी ।

यसबिच अमृता उच्च शिक्षा हासिल गर्नका लागि पोखरा झरिन । पोखरास्थित पृथ्वी नारायण क्याम्पस त्यतिबेला राजनीति गर्ने बिशेष थलो बनेको थियो । उनी त्यही राजनितिक गर्मागर्मी वातावरणमा अध्ययनका सिलसिलामा पुगिन । आमालाई छोरी पढ्न गएकोमा निकै हर्ष र गर्व थियो । उनी भने राजननीतिमा बिस्तारै सकृय हुन थालिन । कहिलेकाही पार्टीको कार्यक्रमहरुमा हिँडेको देखे पनि आमालाई ‘पढ्ने मान्छे यस्तै हो’ भन्ने लाग्थ्यो । श्रीमानको संगतले गर्दा उनलाई छोरी घरबाट बाहिर निस्केको अनौठो कहिले लागेन । अमृताले भने नयाँ परिवेशमा यता राजनितिक यात्रा तय गर्दै थिइन । तत्कालिन अवस्थामा जिल्ला सचिव भएर पनि काम गर्दै अगाडि बढीन । यद्यपि उनी घरको कामसंगै पार्टीको जिम्मेवारी पनि निर्वाह गर्थिन । आमालाई छोरीले सबै काम गर्न सक्ने भएको देख्दा गर्व लाग्थ्यो ।
‘बाबाले देखाएको बाटोमा हिड्ने भएकोले पनि खुशी हुनु हुन्थ्यो । राजनीतिमा सक्रिय हुँदा पनि पढाईलाई निरन्तरता दिन बाबाले सुझाव दिनुभएको थियो । म सक्रिय रुपमा घर र बाहिरको काम गर्न सकेको देखेर हजुरबुवा र हजुर आमा समेत खुशी हुनुहुन्थ्यो,’ उनले बिगतलाई सम्झिन ।
हजुरआमाले त आफ्नो पेन्सनको पैसा पनि उनलाई नै खर्च गर्न दिन्थिन । उनी कहिले पनि पछि फर्किनन । पार्टीकालागि सधै सक्रिय भई काम गर्दै गयिन । उनी १६/१७ वर्षको उमेरमा नै पार्टीमा प्रवेश गरी सकेकी थिइन । पीएन क्याम्पसमा अखिलको पकड भएपनि सीमित संख्या भएकाले सम्पुर्ण भुमिकामा खटनु पर्थ्यो । उहीँ ब्यक्ति अखिल क्रान्तिकारी, महिला, कलाकार, पार्टी प्रचारक, संगठक, नेता सबैमा अगाडि सर्नु पर्दा निकै कठिन हुन्थ्यो । त्यसका साथै अखिल क्रान्तिकारीको विद्यार्थी नेता भएपछि संगठनको इज्जतका लागि पनि ‘पास’ हुनैपर्ने नैतिकताको विषय  थियो । स्याङ्जा, कास्की जिल्लालाई नेपाली कांग्रेसको गढ मानिन्थ्यो, त्यस्तै परिस्थितीमा थोरै संख्यामा रहेका बामपन्थी विचारधारा भएकाहरुको जमातको दौडधूप तीव्र हुन जरुरी थियो । त्यसै अनुरुप उनी पनि पार्टीको निर्देशन अनुसार काम गर्दै अघि बढीन  ।

विवाहप्रति बुवाको असन्तुष्टि !

२०५१ सालमा उनले बागलुङ घर भएका तत्कालिन विद्यार्थी अध्यक्ष हितमान शाक्यसँग विवाह गरिन । युद्ध कालमै मगरकी चेली उनी; नेवार समुदायको ब्यक्तिसँग विवाह भयो । उनको विवाहका लागि भने उनका बाबाको फरक बिचार थिए । उनले स्वीकृति दिएनन । पार्टी अध्यक्ष प्रचण्डको स्वीकृतीमा; डा.बाबुराम भट्टराई, शक्ति लम्साल, पम्फा भुसाल लगायतको उपस्थितीमा उनले बाबाको युद्धकै परिवेशमा जनवादी विवाह गरिन । तीन वर्षपछि ठूली छोरीको जन्म भयो ।

“म अबोध छोरी साथमा लिएर युद्ध मैदानमै रहे । बच्चा हेर्न हजुरआमालाई पनि साथमा लिएर हिँडे,” उनले आमा भएको समय सम्झिन ।  पछि शान्ति प्रक्रियामा अर्की नानी जन्मिन । उनका अब दुई छोरी छन् ।

उनकी आमासँग ठुली छोरी हुर्किइन्, अहिले आफ्नो खुट्टामा उभिने भएकी छिन् । एमबीबिएस सकेर एउटा कुशल डाक्टर बन्ने बाटोमा लम्की रहेकी छिन । जनयुद्धका आधिमय दिनहरुमा उनले एक आमाको भुमिका पूरा गर्न नसकेको ग्लानी हुन्छ तर छोरीको सफलता देख्दा खुसी पनि लाग्छ । उनलाई देख्दा आनन्द पनि आउछ । असल छोरी र कुशल आमा हुन सकेको महसुस हुन्छ । “तर देश मेरो घर र जनता परिवार भनेर मैदानमा उत्रिएको योद्धा भएकोले व्यक्तिगत जीवनलाई बिर्साई दिदो रहेछ,” उनले चित्त बुझाउछिन ।

पार्टीगत जिम्मेवारी !
बि.स.२०५२ मा माओवादीले जनयुद्ध घोषणा गरिसकेपछि भूमिगत भएकी अमृताले बन्दुक र बारूदसंग लड्दै अघि बढिन् । काठमाडौंमा पार्टीको एरिया सदस्यदेखि सुनसरी मोरङ संयुक्त जिल्ला सदस्य हुँदै, २०५८ मा क्षेत्रीय व्युरो सदस्य भइन् । ३१ वर्षको उमेरमा २०६० सालमा अमृता पोर्टीको पूर्ण केन्द्रिय सदस्य भईन् । त्यसपछि सिरहा, सप्तरी, धनुषा, उदयपुर र सिन्धुली जिल्लाको कमाण्डमा अमृता उपक्षेत्रीय इन्चार्ज भईन् । त्यसपछि मेची अञ्चल हेर्ने ब्रिगेड कमिसार, पोलिट्व्युरो हुँदै आठौ राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य बनिन् । यता बि.स. २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसदको सदस्य भएकी थापा पहिलो संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व बाडफाँड समितिको सभापति समेत भएकी थिइन् ।

त्यस्तै २०७० सालमा नेकपा माओवादिको पोलिटब्युरो सदस्यमा चयन भएकी थापा माओवादीको सबैभन्दा दरिलो जनबर्गिय संगठन अनेमसंघ (क्रान्तिकारी)को अध्यक्षमा निर्वाचित भईन् ।२०७५ सालमा उनी पार्टी केन्द्रीय सदस्य भएकी हुन् ।

जनयुद्ध भन्दा शान्ति प्रक्रिया जटिल !

क्रान्ति सम्पन्न भएपछि विश्वकै परिवेशमा एउटा फरक खालको राजनितीक वातावरण सृजना हुने गरेको पाइन्छ । उनलाई पनि त्यस्तो अनुभुति बेला बखत हुन्छ । उनी सकृय राजनीतिमा लाग्दा करिब १६/१७ वर्षकी थिइन । पोखराको पीएन क्याम्पसमा पढ्दा विद्यार्थी भएर परिक्षा पास हुनुपर्ने देखि सीमित बामपन्थी विचारलाई उचाईमा पुर्याउनु पर्ने दवावसहित, रात दिन नभनिकन राजनीतिक यात्रामा निरन्तर दौडि रहिन । पार्टी शान्ती प्रकृयाको बाटोमा आइपुग्दा परिस्थिति उहीँ रहदैन । अनेक दाउपेच हुन्छन । उपलब्धि संस्थागत गर्न झन कठिन हुन्छ । पार्टीको स्वरुप र रणनीतिमा परिवर्तन आउँछ । विशेष गरेर महिला कमरेडहरुलाई काम गर्न सह्ज हुँदैन । उनी पनि यस्ता तिता मिठा भोगाइबाट अछुत रहन सकिनन ।

“महिलाको राजनीतिक यात्रा आंशिक हुन्छ, महिलालाई पख भन्ने, अगाडि बढ्न नदिने प्रवृत्ति हावी छ । सुत्केरी भएपछि; मलाई मेरो पदबाट पनि अझ तल झारियो,” उनी स्मरण गर्छिन, ” पहिला मलाई त्यस्तै होला भन्ने लाग्यो, पछि हिसिला यमी महिला विभाग प्रमुख हुँदा; मैले आफूमाथि भएको विभेदको बेलिविस्तार लगाए।”

उनको त्यही अडान र संघर्षले त्यतिखेर पार्टीमा महिला सुत्केरी हुँदा पाएको पद घटुवा नगर्ने नीति नै बन्यो । उनको खुसीको सिमाना रहेन ।

“यो ऐतिहासिक उपलब्धि थियो महिला आन्दोलनको,” उनी गर्वकासाथ सुनाउछिन ।

जनयुद्धकाल भरी पाखुरामा बल थियो, काम गर्न सक्ने साहस थियो, मागेको जिम्मेवारी पाइयो । रात दिन नभनिकन ज्यानको बाजी राखेर सर्वहारा वर्गको मुक्तिका लागि लडियो । तर शान्ति प्रक्रियामा आईसकेपछि भने परिस्थिति अलि फरक बन्दै जाने उनको बुझाई छ ।

“काम गर्न सक्ने भएपनि आर्थिक व्यवस्थापनले ठूलो भूमिका खेल्ने कुरा बुझे । जस्तो चुनावको कुरा गरौं, काम गर्न सक्ने क्षमता हुँदा पनि चुनाव खर्च व्यहोर्न नसक्ने हुँदा मैदान छोड्नुपर्ने बाध्यता हुने अवस्था रहेको छ,” उनी स्पष्ट पार्छिन ।

“युद्धकालमा महिलाहरुलाई जसरी अगाडि ल्याइयो, त्यही अनुरुपमा महिला नेतृत्वलाई अगाडि सार्न सकिन्छ कि सकिँदैन भन्ने कुरा अहिले निकै चुनौतीको विषय बनेको छ, ” उनी थप्छिन ।

विभेद विरुद्ध आवाज उठाउने बानी !

उनले तत्कालिन अवस्थामा महिला हकहितसँग सम्बन्धित लेखहरु ‘जनयुद्ध, संविधानसभा र महिलामुक्ति’ नामक पुस्तक प्रकाशित गरेकि छिन । त्यस्तै उनले जनयुद्धका महिला जो शारीरिक अशक्त छन्, निरक्षर छन् उनीहरुको संस्मरण संग्रह ‘पिडाभित्रको आक्रोश’ नामक पुस्तकको सम्पादन पनि गरेकी छिन । पार्टीभित्र महिला सहभागीता र भुमिकाका बिषयमा पार्टी नेतृत्वसँग बारम्बार प्रश्न गर्ने र झकझक्याउने आफ्नो कर्तव्य ठानछिन । उनी महिलाको राजनीति आंशिक हो, दिगो हुँदैन भन्ने मानसिकतालाई चिर्दै अगाडि बढेकी हुन । महिला हकहित सम्बन्धी नीति बनाउन राजनीतिक, सांगठनिक तथा वैचारिक रुपमा पनि विशेषाधिकार हुनुपर्छ भनेर पार्टीभित्र आवाज उठाउदै आएकी छिन । जनमुक्ति सेनामा महिलालाई नेतृत्व दिनुपर्छ भनेर भनियो । त्यसैको परिणाम हो सेनामा व्रिगेड कमिसारसम्म उनीसहित तीन जना महिलाहरु नेतृत्वमा आए । उनकै पहलमा पार्टी शान्ति प्रक्रियामा आईसकेपछि महिला हक अधिकारका कुराको मस्यौंदालाई संविधानमार्फत कानुन बनाएर ल्याउनुपर्छ भनेर सर्वाेच्चमा मुद्दा पनि हालियो । मुद्दा जितियो पनि । अन्तरिम सभामा जाँदा पहिलो दिन सभासद भएको फारम भर्नु पथ्र्याे, फारममा बाबाको नाम, श्रीमानको नाम उल्लेख गर्नुपर्ने हुन्थ्यो, उनकै पहलमा फारममा आमा र श्रीमतीको नाम पनि उल्लेख गर्न दवाव दिइयो र सफल पनि भइयो । त्यस्तै आमाको नामबाट नागरिकता पाउने गरी नीति ल्याइयो ।
साथै उनी कार्य व्यवस्थापिका समितिमा हुँदा महिलाहरुलाई बोल्न अग्रसर बनाउने र समितिमा ३३ प्रतिशत अनिवार्य महिलाको नियम कार्यान्वयनमा ल्याउन निकै पहल भएको थियो । निजामति कर्मचारी विधेयकमा भएको ४५ प्रतिशतको समावेशी व्यवस्थालाई १०० मानेर क्लस्टर सिस्टम कर्मचारी ऐनमा उनकै पहलमा अन्तरिम व्यवस्थापिकामा दर्ता भएको थियो । छोरीले अंश पाउने नियम भर्खरै लागु भएका बेला बाबुआमाको अंश इच्छाएको व्यक्ति छोरा या छोरी कसलाई दिने भन्नेमा छोरीमाथि विभेद हुने सम्भावना देखेर हाललाई स्थगन गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रमुख, उपप्रमुखहरु महिला हुने व्यवस्था पनि उनको पार्टीको महत्वपूर्ण भुमिका रहेको छ । २०७४ मा पनि उनी प्रतिनिधिसभा सदस्य हुँदा प्रत्यक्ष जतिमा पुरुष समानुपातिकमा मात्रै महिला हुनुपर्ने निर्वाचन प्रणाली जस्तो भएपछि;प्रत्यक्षमा पनि समानुपातिक समावेशी उम्मेदवारी दिनुपर्छ भनेर भनेर सार्वजनिक महत्वको प्रस्ताव उनको नेतृत्वमा संसदमा छलफल भएको थियो । अहिले निर्वाचन आयोगबाट आएको ऐनमा पनि राजनीतिक दलको रुपमा होस् या उम्मेदवार उठाउने सवालमा होस् सबै ठाउँमा कम्तिमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य छ । वडा अध्यक्ष देखि, मेयर हुँदै कार्यपालिकादेखि दलको विभागहरुमा समेत कम्तिमा ३३ प्रतिशत महिला सहभागीता हुनु पर्नेछ । उनको पार्टीमा पनि ३५ प्रतिशत महिला सदस्यहरु हुनुपर्ने र पदाधिकारीहरुमा पनि समावेशी सहभागीताका लागि महिला नेतृत्व संघर्षरत नै छन ।

संघर्षको परिणाम र परिवर्तन हेर्दा सन्तोषजनक नै लाग्छ उनलाई । “तर यत्तिमात्रैले पुग्ने स्थिती छैन । जनतालाई सुख, समृद्धि दिने बाचा भने पूरा भएको छैन । त्यसका लागि पनि हामी अझै लागि परेका छौं,” उनी आशाबादी छिन । जे होस विभेद देख्ने बित्तिकै उनलाई आवाज उठाउन मन लाग्छ ।

लक्ष्य पूरा हुन बाँकी !
दश वर्षे जनयुद्ध, ०६२/६३ को शान्तिप्रक्रियापछि झण्डै दुई दशक बिति सक्यो । जनयुद्धबाट सुरु भएको राजनीतिक उकालो ओरालोको क्रममा उनी कहिले थाकिनन ।

“अहिले सम्म मैले प्राप्त गरेको सबैभन्दा ठूलो कुरा भनेकै ‘अनुभवको महासागर’ हो । यो देश, समाज, परिवेशबारे बुझ्न पाए । जातीय, भाषा, संस्कृतिबारे पनि अध्ययन गर्न पाए र राज्यसत्ता सञ्चालन तथा मुलुकको भू–राजनीतिक अवस्थाबारे पनि जान्ने मौका पाए । साथै जनताको साथ र माया पनि पाए,” उनी जीवन अनुभव सुनाउछिन । तर अरु कमरेडहरुको बलिदानको तुलनामा उनलाई जीवनमा खासै केही गुमाएको महशुस हुँदैन ।

“मुख्य कुरा जनताको माझमा हरपल रही रहे । कहिलेकाँही भने व्यक्तिगत जीवनमा पूर्ण रुपमा कर्तव्य पालना गर्न चुकेझै महशुस पनि हुन्छ बेलाबखत,” उनी भन्छिन ।

शान्ति सम्झौता पश्चात २०६४ मा जनताले माओवादी पार्टीप्रति गरेको विश्वास र जनमतलाई पार्टीले रक्षा गर्न नसकेको उनलाई लाग्छ । यस विषयमा पार्टीको आठौ महाधिवेशनमा उनले आफ्नो राय पेश गरेकी थिइन ।

“धेरैका आ–आफ्नै बुझाईहरु भए । पार्टीभित्रका ति बुझाईहरुलाई हामीले एकीकृत गर्न सकेको भए पार्टीभित्र विभाजन हुने थिएन होला । संविधानसभा विघटन भएपछि पार्टीभित्रको विभाजन झन चरम बन्दै गयो । २०७०/०७४ हुँदै अहिलेसम्मको अवस्थामा पार्टी आईपुग्नुमा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीताको मूल मुद्दा र नीति ल्याउने पहलकर्ताको मुख्य हैसियतले हाम्रा पनि केही कमी कमजोरी भएकै हुन्,” उनको बुझाई छ ।

उनलाई लाग्छ कुन पार्टीसँग सहकार्य गर्ने भन्ने विषय गम्भीर हो; निकै सोचबिचार गरेर अघि बढनु पर्छ ।

“अन्य पार्टी र माओवादी उस्तै हो भन्ने भ्रम जनतामा  छ । त्यसैले अब जनतालाई यथार्थ बताउन जरुरी छ । सामाजिक न्याय, सुशासन र समृद्धिलाई सँगैसँगै लिएर समाजवादमा पुग्ने लक्ष्यलाई पूरा गर्नुछ,” उनको विश्वास छ ।

उनलाई गर्व लाग्छ यो देशमा परिवर्तन उनको पार्टीको नेतृत्वमा आएको हो । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता लगायतका उपलब्धिहरु हेर्दा खुसी लाग्छ ।

“हामी सरकारमा भएका बेला वैदेशिक रोजगारीमा गएकाहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेदेखि, मुलुकमा १८ घण्टे लोडसेडिङ हटाउनेदेखि, गरिबका ऋण ३० हजारसम्म मिनाहा गर्ने, भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचारीलाई कारवाही गर्ने लगायतका कुराको सुरुवातीले अन्य पार्टी भन्दा फरक रैछ माओवादी भन्ने जनतामा आशा पलाएको बुझ्न सकिन्छ,” उनी बताउछिन ।

पछिल्लो उप–निर्वाचनदेखि स्ववियू निर्वाचनको मतपरिणाम अनुसार माओवादीप्रतिको जनताको लगाव प्रष्ट देख्न सकिन्छ उनी भन्छिन । त्यस्तै पछिल्लो माओवादीले अहिले ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान संचालन गरिरहँदा जनतामाझ पुगेर आफुहरुलाई सुध्रने मौका पाएको उनको पार्टीको निस्कर्श छ ।
शासकीय स्वरुप परिवर्तन गरेर भएपनि शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गरेर अगाडि जनताको पहुचमा पुग्नेगरी सेवा ल्याउनुपर्छ । जो सांसद हुन्छ, उही मन्त्री हुने प्रचलनले भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै हामीले यसको विरुद्ध आवाज उठाइरहेका छौं । करोडौ खर्च गरेर सांसद हुने र त्यही खर्च उठाउन मन्त्री हुने परिपाटीले भ्रष्टाचार मौलाएको छ । त्यसैले सांसदले कानुन निर्माणमा जोड दिने र विज्ञहरुबाट मन्त्री हुने, मन्त्री सांसद हुन नपाउने नीति ल्याउनेमा उनको जोड छ । यसले गर्दा समाजवादमा जान लागि भ्रुण तयार हुने गरी आवाज उठाइरहेको उनी सुनाउछिन ।
उनी भन्छिन वर्तमान सरकार र यीनका क्रियाकलापप्रति जनता निराश देखिएका छन् । उपसभामूख हटाउनेदेखि, अध्यादेश ल्याउने, प्रधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने लगायत अहिले दैनिक भएको शिक्षक आन्दोलनलाई वेवास्ता गर्दै जनतालाई निराशातिर डोर्याई रहँदा, माओवादीले जनताको माझमा पुगेर छलफल गरिरहँदा गत चैत १५ गतेको सभालाई देख्न सकिने उनको बुझाई छ ।
“माओवादीप्रतिको जनताको माया । अब देशको जिम्मा लिन सक्ने भनेको माओवादी पार्टीले नै हो भन्ने जनतामा आशा पलाएको छ । जनताको आशालाई खेर जान दिनु हुँदैन भन्ने हाम्रो चाहना हो,” उनी आत्मविश्वाससहित भन्छिन ।