
श्रावण ९ मंगलबार,२०८०/मणिपुर-
भारतको पूर्वोत्तर राज्य मणिपुरमा भिडले दुई महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ भाइरल भएपछि अन्य महिलाहरूले पनि आफूसँग हिंसा भएको भन्दै त्यसबारे बोल्न सुरु गरेका छन्।
चेतावनी: यस लेखमा केही पाठकहरूलाई विचलित पार्न सक्ने विवरणहरू समावेश छन्।
दुई महिनाभन्दा लामो समयसम्म कुकी समुदायकी एक महिला मेरी (परिवर्तित नाम)ले प्रहरीमा जाने साहस जुटाउन सकिनन्।
उनकी १८ वर्षीया छोरीलाई घरबाहिरबाट अपहरण गरेर लगिएको थियो। रातभरि बलात्कार र मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनलाई घरको ढोकामा लगेर छाडिएको थियो।
“आक्रमणकारीहरूले यसबारे बोलेको खण्डमा मेरी छोरीलाई मार्ने धम्की दिएका थिए,” मेरीले राहत शिविरबाहिर मसँगको कुराकानीमा भनिन्।
मणिपुरमा मैतेई र कुकी समुदायबीच गत मे महिनामा जातीय द्वन्द्व सुरु भएदेखि उनी त्यहाँ बसेकी छन्। द्वन्द्वका कारण अहिलेसम्म १३० जनाभन्दा बढीको ज्यान गइसकेको बताइन्छ।
त्यसपछि अवस्था केही फेरियो।
मानिसहरूको भिडले दुई कुकी महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ गत साता सामाजिक सञ्जालमार्फत् सार्वजनिक भयो।
त्यसपछि आक्रोश र निन्दाको आवाज व्यापक बन्यो। उक्त घटनामा संलग्न भएको आरोपमा छ जना मानिसलाई गिरफ्तार गरियो।
उक्त घटनाक्रमले मेरीलाई प्रहरीमा उजुरी दिन प्रेरित गर्यो।
“मलाई यदि मैले अहिले उजुरी दिइनँ भने अर्को मौका पाउने छैन भन्ने लाग्यो,” उनले भनिन्।
“मलाई सधैँ आफ्नै छोरीका आक्रमणकारीहरूलाई कारबाहीको दायरामा ल्याउन प्रयास नगर्नुको पछुतो हुने छ।”
मेरीका अनुसार अहिले उनकी छोरी आत्महत्या गर्ने कुरा गर्छिन्।
तर आफूले उनलाई अझै पनि जीवनलाई अर्थपूर्ण बनाउन सकिने कुरामा आश्वस्त पार्ने गरेको बताइन्।
जब भिडले घेर्यो
उन्नाइस वर्षीया चिइन सियान्चिङलाई आफूले पनि उस्तै नियति भोग्नुपर्ने डरले सताएको छ।
उनी र उनकी एक साथीसँग कुकी समुदायको भएकै कारण भन्दै फरक व्यवहार गरिएको उनले सुनाइन्।
उनका अनुसार राज्यको राजधानी इम्फालमा नर्सिङ पढ्ने क्रममा उनीहरू बसेको होस्टलमा आक्रमण समेत गरियो।
“मानिसहरूको एउटा समूहले हामी लुकेर बसेको कोठाको ढोका ढकढक्याउँदै ‘तेरो समुदायको केटाले हाम्रो समुदायकी महिलाको बलात्कार गर्यो’ भन्दै चिच्याउँथ्यो। उनीहरू ‘अब तिमीहरूलाई पनि हामी त्यस्तै गर्छौँ’ भन्थे,” उनले सुनाइन्।
उनले आफ्नी आमालाई फोन गरेर त्यो नै आफूसँगको अन्तिम सम्पर्क हुनसक्ने जानकारी दिइन्।
त्यसको केही मिनेटपछि दुई युवतीहरूलाई सडकमा तानेर बेहोस हुनेगरी कुटपिट गरियो।
सियान्चिङलाई उनीहरू मरे भन्ठानेर भिड त्यहाँबाट भागेको हो भन्ने लाग्छ।
प्रहरीले नाडी छामेपछि मात्र उनीहरू जीवित रहेको पत्ता लागेको थियो।
गरिमा र लाज
कुकी पुरुषहरूले मैतेई महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको अपुष्ट विवरण फैलिएपछि मैतेई पुरुषहरू उत्तेजित भएर सियान्चिङ र उनका साथीहरूविरुद्ध खनिएका हुन्।
द्वन्द्व चर्किएपछि मतभेदहरू तत्काल उत्कर्षमा पुगेका थिए जसले गर्दा पहिले एकअर्काको समीपमा रहेका यी दुई समुदाय पूर्ण रूपमा विभाजित भए।
दुवैले अहिले गाउँ प्रवेश गर्ने नाकामा अवरोध सिर्जना गरेका छन्। ती ठाउँहरूबाट रातभरि झडप भएका विवरणहरू आउने क्रम जारी छ।
यद्यपि दुई कुकी महिलालाई नग्न हिँडाएको भिडिओ सार्वजनिक भएपछि मैतेई समुदायका महिला पनि विरोधमा ओर्लिएका छन्।
मणिपुरका महिलाहरूले नागरिक समाजमा शक्तिशाली भूमिका निर्वाह गर्दै आएका छन्।
तीमध्ये ‘मणिपुरका आमाहरू’ भनेर चिनिने ‘मीरा पेइबिस’ पनि एक हो।
उक्त समूहले राज्य र सेनाद्वारा शक्तिको दुरुपयोगदेखि मानवाधिकार उल्लङ्घनसम्मको विषयमा विरोध जनाएको छ।
भिडिओमा देखिएका दुई कुकी महिलामाथि आक्रमण भएको गाउँको समूहमा मीरा पेइबिसको नेतृत्व गर्ने सिनाम सुर्नलता लेइमाका अनुसार गाउँलेहरूले नै मुख्य सन्दिग्धलाई प्रहरीसमक्ष हस्तान्तरण गरेका हुन्।
त्यसपछि मीरा पेइबिसका स्थानीय सदस्यहरू जम्मा भए र ती व्यक्तिको घरमा आगो लगाए।
“यो ती व्यक्तिहरूले गरेको जघन्य अपराधप्रति समुदायले जनाएको निन्दाको प्रतीक हो। उनीहरूको कार्यले सम्पूर्ण मैतेई समुदायको सम्मानमा ठेस पुर्याउनु हुँदैन,” लेइमाले भनिन्।
आरोपितकी श्रीमती र उनका तीन सन्तानलाई गाउँबाट निकालिएको छ। तर महिलाहरूलाई उच्च सम्मान गर्ने समाजको एउटा भिडले किन त्यस्तै दुर्व्यवहार गर्यो त?
“यो कुकी पुरुषहरूद्वारा आक्रमण गरिएका मैतेई महिलाहरूका लागि दुःख र बदला थियो,” लेइमाले बताइन्।
उनलाई व्यक्तिगत रूपमा यस्ता किसिमका आक्रमणहरूबारे थाहा छैन तर मैतेई महिलाहरूले यस प्रकारको अपराधको बारेमा कुरा नगर्ने जानकारी दिइन्। किनभने त्यसो गर्नुलाई लज्जास्पद ठानिन्छ।
मणिपुरको राज्य प्रहरीले झडप सुरु भए लगत्तै मैतेई महिलामाथि भएको हिंसाबारे कुनै जानकारी प्राप्त नभएको बताएको थियो।
यद्यपि मैतेई समुदायका प्रवक्ताले मसँग त्यहाँ जानकारीमा नआएका थुप्रै आक्रमणहरू भएको बताए।
“हाम्रो समुदायका महिलाहरू आफूले भोगेको हिंसाबारे खुलेआम बोलेर वा प्रहरीलाई खबर गरेर आफ्नो गरिमामा दाउमा राख्न चाहँदैनन्,” कोकोमी नामक मैतेई संस्थाका खुरैजम अथुबाले भने।
उनको विचारमा यौन हिंसाभन्दा बढी हत्या र विस्थापनको विषयमा ध्यान केन्द्रित गरिनुपर्छ।
न्याय
भाइरल भिडिओमा देखिएकीमध्ये एक कुकी महिलाका भाइलाई यी सबै घटनाक्रमले विचलित बनाएको छ।
उनकी दिदीलाई निर्वस्त्र बनाएर यौन दुर्व्यवहार गर्ने भिडले उनीहरूका बुबा र उनीहरूका कान्छो भाइको पनि हत्या गर्यो।
झडप सुरु हुँदा उनी र उनकी आमा भने अर्को गाउँमा आफन्तलाई भेट्न गएका थिए र बाँच्न सफल भए।
उनीहरूका एक नातेदारको घरको सानो कोठामा मसँग भेट्दा ती २३ वर्षीय ती युवक प्राय: मौन बसे।
मैले ती युवकलाई उनी सरकार र प्रहरीले के गरोस् भन्ने चाहन्छन् भनेर सोधेँ।
उनले भने, “त्यो भिडका प्रत्येक व्यक्तिलाई गिरफ्तार गरोस्। विशेषगरी मेरो बुबा र भाइको हत्या गर्नेहरूलाई।”
“अनि दुवै समुदायलाई निष्पक्ष व्यवहार गरियोस्।”
दुवै समुदायमा सङ्घीय र प्रदेश सरकारप्रति अविश्वास देखिन्छ।
मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंह मैतेई समुदायका हुन्।
उनले दोषीहरूलाई “मृत्युदण्डसहित कडाभन्दा कडा सजाय”को प्रतिबद्धता व्यक्त गरेका छन्।
तर द्वन्द्व समाधान गर्न नसकेको भन्दै राजीनामा माग गरिएको प्रश्नमा उनले भने, “म यसबारे बोल्न चाहन्न। मेरो जिम्मेवारी राज्यमा शान्ति ल्याउनु र अपराधीलाई दण्डित गर्नु हो।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिलाको भिडिओ सार्वजनिक भएपछि मात्र मणिपुरमा चर्किएको द्वन्द्वबारे आफ्नो मौन भङ्ग गरेका थिए।
“मणिपुरका छोरीहरूमाथि जे भयो त्यो कदापि क्षमायोग्य होइन,” उनले भने। “कुनै पनि दोषीलाई छुट दिइने छैन।”
तर लेइमालाई भने प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो समुदायलाई गलत तरिकाले चित्रण गरेको र गत मे महिनादेखि जारी हिंसाको बेवास्ता गरिएको जस्तो लागेको छ।
उक्त हिंसाका कारण ६०,००० मानिस विस्थापित भएको बताइन्छ।
तस्बिरको क्याप्शन,
अनुसन्धानकर्ता ग्रेसी हाओकिपले पीडित महिलाहरूको समर्थनमा आवाज उठाएकी छन्
“कुकी महिलामाथि आक्रमण हुँदा प्रधानमन्त्री बोले। तर हामीले जे भोग्दै आएका छौँ त्यो चाहिँ गलत होइन? के हामी मैतेई महिलाहरू भारतका नागरिक होइनौँ?” उनले प्रश्न गरिन्।
उक्त भिडिओले मणिपुरमा जारी द्वन्द्वलाई फेरि चर्चामा ल्याएको छ।
“यदि यो भिडिओ नभएको भए हामीतर्फ सरकार र अन्य राजनीतिक दलहरूको ध्यानाकर्षण हुने थिएन,” नर्सिङकी विद्यार्थी चिइन सियान्चिङसहित झडपका अन्य पीडितहरूलाई समर्थन गर्ने अनुसन्धानकर्ता ग्रेसी हाओकिपले भनिन्।
यसले साहसपूर्वक आफ्नो जीवन पुरानै लयमा फर्काउन प्रयासरत पीडितहरूलाई मद्दत पुर्याउने उनको तर्क छ।
चिइन सियान्चिङले मलाई उनले आफ्नो समुदायका महिलाहरूसमक्ष दिएको मन्तव्यबारे सुनाइन्। उनी अहिले अर्को स्थानीय नर्सिङ विद्यालयोमा भर्ना भएकी छन्।
“मेरी आमाले परमेश्वरले मलाई कुनै कारणवश जीवित राखेको बताउनुभयो। त्यसैले मैले आफ्ना सपनाहरू नत्याग्ने निर्णय गरेकी हुँ।”
BBC