असोज ४ शुक्रबार,२०८१/काभ्रे-
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल मेच्छे (हालको तेमाल गाउँपालिका ९, अन्डरटोल) मा वि.सं. २०३३ सालमा जन्मिएकी कमला दोङ माओवादीकी सक्रिय नेतृ हुन् । आमा लोङ्जेयी तामाङ र बाबा पद्मवीर दोङको सातौ सन्तानमध्येकी साइली छोरी कमला सानैदेखि विद्रोही स्वभावकी थिइन् । बाबु पञ्चायतकालमा दुई पटकसम्म प्रधानपञ्च भइसकेका कारण दुई छाक खान र एक सरो लगाउन उनलाई समस्या थिएन । तर तत्कालिन अवस्थामा महिलाहरुलाई पढाउनुहुन्न भन्ने सोचाईबाट ग्रसित समाजमा कमला पनि पीडित बन्न पुगिन् । परिवारमा विद्रोह गरेर नै ९ वर्षको उमेरमा पहिलो पटक स्कुलको आँगन टेकेको अनुभव छ कमलासँग । स्थानीय तीन जना महिलाहरु कक्षा १ मा भर्ना भएर पढेका थिए । कक्षा चारसम्म पढाइ गरेकी कमला दोस्रो विवाह गर्नुभएका बुबाले आफ्नो परिवारलाई वेवास्ता गरेपछि,परिवारको थप जिम्मेवारीको भारीले उनलाई विद्यालय जान नसक्ने गरायो । घाँस दाउरा र मेलापात गर्दै उनले आफ्नो समय बिताउन थालिन् । उनी सानैदेखि काठमाडौंमा थांका लेख्ने जेठा दाजु–भाउजुलाई भेट्न आउने जाने गर्थिन् । १२ वर्षको उमेरमा उनी काठमाडौं आईन् । सोही क्रममा काठमाडौंमा बसेर एक वर्षजति कुनै शिक्षक (दाजुका साथी)बाट अनौपचारिक पढाई पनि सुरु गरिन् । सोही क्रममा दाजुको कोठामा धेरै मानिसहरुको जमघट हुन्थ्यो । उनीहरू प्रगतिशिल कुराकानी गर्थे,जुन कुरा उनलाई सुनौ सुनौ लाग्थ्यो ।
जनकलाकार माइला लामा र दाईबाट प्रभावित !
सानै उमेर भएका कारण २०४६ सालको संयुक्त जनआन्दोलनबारे खासै जानकारी भएन कमलालाई । २४० वर्ष लामो निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भई मुलुकमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको स्थापना भयो । तत्कालिन अवस्थामा दाजु पार्टीम सक्रिय भई हिँडेको भने नजिकबाट देखेकी थिइन् । तत्कालिन अखिल नेपाल राष्ट्रिय जनमोर्चामा दाजु सक्रिय रहेको भन्ने कुरा उनले धेरैसमय पछि मात्रै थाहा पाइन ।
२०४८ को आम निर्वाचनपछि पनि दाजुका साथीहरु कोठामा आउने, प्रगतिशिल कुराकानी, माक्र्सवाद लेनिनबारे चर्चा गर्ने गरेको उनले नजिकबाट नियालिरहेकी थिइन् । दाजुसँगै कहिले थांका लेख्न पुग्थिन् त कहिले भाउजुसँग गलैचा बुन्न । ज्याला मजदुरी गर्दै उनी पनि काठमाडौंमै बस्ने निर्णय गरिन् । मजदुरहरुको प्रतिनिधित्व गर्दै आन्दोलनमा होमिएका दाजु देखेर उनीमा पनि नजानिदो तरिकाले राजनीतिमा लाग्ने इच्छा जाग्यो । त्यतिबेला माइला लामाहरुले सांस्कृतिक टोली गठन गर्दै क्रान्तिकारी गीतहरु गाउँदै बस्ती बस्ती पुग्ने गर्दथे । उनीहरु गीत गाउने, बाध्यवाजनहरु सिकाउने गर्दथे । कमला पनि माइला लामाहरुले गाउने जनवादी गीतबाट प्रभावित बन्न पुगिन् । गाउँ–गाउँमा जाँदा तिहारमा देउसी भैलो पनि प्रगतिशिल तवरबाट खेलिएको देखिन् । कांभ्रेमा पनि सांस्कृतिक टोली गठन गरियो, जहाँ कमला सदस्य बनिन् । माइला लामाको एउटा टोलीले आफूलाई सांस्कृतिक अभियानमा लाग्न प्रेरित गरेको, गीत गाउँदै गाउँ–गाउँ हिँडेको, बाजा बजाउने गरेको उनीसँग मिठो सम्झाना छ । बुवाले आमालाई मानापाथी छ्ट्याएर कान्छी आमासँग गएको र दाजु पनि कम्युनिष्ट विचारधाराको भएकाले आफूलाई राजनीतिमा होमिन कसैको पनि छेकबार नभएको सम्झिन्छिन । २०५२ साल फागुन १ गतेबाट जनयुद्ध घोषणा हुनु दुई महिना अघिदेखि नै कमलाले अर्धभूमिगत जीवन सुरु गरिसकेकी थिइन् । जनयुद्ध घोषणा हुनासाथ काभ्रेमा प्रहरीको पहिलो निसानामा परिन् कमला । काठमाडौबाट स्वास्थ्य उपचार गरी घर फर्किएकी कमलालाई नातामा आफन्त पर्नेले प्रहरीलाई दिएको सुराकीका आधारमा फागुन १५ गते राती १२ बजे घरमा घेरा हाली पक्राउ गर्यो । परिवारसहित सबैलाई पक्राउ गरी टोलकै अस्थायी प्रहरी चौकीमा लगियो । त्यहाँबाट कमलालाई मात्रै सदरमुकाम धुलिखेलस्थित प्रहरी चौकीमा लगियो । सातदिन पछि उनी रिहा भईन् र घर फर्किन । त्यसको तीन दिनपछि कमला पुनः पक्राउ परिन् । तत्कालिन अवस्थामा दुश्मन र प्रहरीको निशानामा पर्नका लागि माओवादी हुन नपर्ने पुराना व्यक्तिगत रिसइबीका कारण पनि प्रहरीले यातना दिने गरेको कमला समरण गर्छिन् । प्रहरीले उनलाई गिरफ्तार गर्दै मानसिक यातना दिँदै छोड्दै गर्ने क्रम जारी रह्यो । माओवादी जनयुद्ध सुरु हुन दुई महिनाअघिदेखि कमलालाई पक्राउ गर्ने र छोड्ने क्रम जारी रह्यो । फागुन १ गतेबाट जनयुद्ध सुरु भयो सोही वर्षको चैत्रको २८ गतेसम्ममा कमला सातौ पटक प्रहरी नियन्त्रणमा परी यातना पाई रहेकी थिइन् । पहिलो पटक भन्दा दोस्रो, दोस्रो पटकभन्दा तेस्रो गर्दै यातना दिने क्रम पनि बढ्दै गएको थियो । सातौ पटकमा उनलाई नजरबन्दमा राखियो । शारीरिक यातना समेत दिइयो । उनलाई ‘माओवादी’ भएको कबोल गराउन प्रहरीले निकै यातना दिएको उनी सम्झिन्छिन् । सातौ पटक प्रहरीले उनलाई नियन्त्रणमा लिएर तारेखमा छोड्यो । कमला मान्छे चिन्न सक्ने अवस्थामा थिइनन् । हात समातेर डो¥याएर हिड्नुपर्ने भयो । झण्डै दुई हप्तापछि उनी सामान्य अवस्थामा फर्किइन् । पटक पटकको प्रहरीको यातनाबाट आक्रोसित भएकी कमला अन्ततः भूमिगत नै भईन् ।
जनयुद्धमा होमिएपछि
जनयुद्धमा होमिएपछि कहिले पूर्व त कहिले पश्चिम । न बस्ने टुंगो, न खानाको नै टुंगो थियो । माओवादी जनयुद्धलाई सफल पार्न उनले ज्यानको बाजी लगाउँदै युद्ध मैदानमा होमिइन् । जनताको घर–घरमा जाने जसले जे दिन्छन् खाने, पार्टीले दिएको निर्देशन आत्मसात गर्दै अघि बढ्दै थिइन् । ‘दाजु पनि पार्टीमा छ रे, त पनि पार्टीमा लागिस ! छोरी मान्छे भएर यस्तो नगर’ भनेर आमा भक्कानिएको सम्झना ताजै छ उनको । परिवारको याद आउथ्यो, जनताको मुक्तिका लागि रणमैदानमा उत्रिएकी कमलालाई परिवारको मायाले उत्तिकै सताउथ्यो, मन बाँधेर अगाडि बढिन् । यसैक्रममा वि.सं. २०५५ सालतिर राज्यले ‘किलो सेरेटु अपरेसन’ सुरु गर्यो । काभ्रेमा रहेका बेला राज्यको सो अपरेसनमा परे पछि कमला सहित १९ जनालाई झण्डैले भेट्टाई सकेको थियो । अगाडि अगाडि उनीहरु पछि–पछि फायरिङ गर्दै दुश्मनले लखेटेको सम्झाना अझै उनको मानसपटलमा घर बनाएर बसेको छ । काभ्रेबाट भागेर हिड्दै सिन्धुली पुगेका उनीहरुमाथि तत्कालिन सेनाले सेल्टरमा नै घेरा हाली पुनः आक्रमण गर्यो । तत्कालिन शान्तिश्वर गाविसस्थित सेनाको घेरामा परेपछि हातहतियार छोडेर ज्यान जोगाउन सफल भएका उनीहरु रातभर जंगलको बाटो हिँडेर विहानीपख कुनै गाउँमा पुगेछन् । ‘सिमसिम पानी परेको थियो, रातको करिव १२ बजेको थियो होला सेनाले घेरा हालेको थाहा पाएपछि हामी भाग्यौंक,’कमला सम्झिन्छिन् ‘विहान उज्यालो हुँदा शरीरमा लाज छोप्ने सम्म लुगा थिएन । जुकाले टोकेर शरीर पूरै रगतले राताम्य भएको थियो । उनलाई आफ्नै शरीर रगत गन्हाइ रहेको थियो । त्यही गाउँमा एउटी वृद्धा आमाले एउटा फरिया दिनु भयो । ‘हामी चार जना महिला थियौं, सबै उस्तै अवस्थामा । त्यही फरियालाई चार टुक्रा पारेर च्यात्यौं र लुंगी जस्तै बनाई बेर्यौ । साथमा केही थिएन, माग्ने जस्तै भयौं । कोही कता कोही कता भागेका थियौँ । कोही त त्यतिबेला नै काठमाडौं भागेछन् ।’
परिवारसँगको भेट
आमाको काखबाट टाडा भुमिगत भएकी कमला युद्धमै रहेका बेला निकै विरामी परिन् । विरामी हुँदा आमाको निकै याद आएछ । अब बाँच्दिन भन्ने लागेर आमाको मुख हेर्न मन लाग्यो भन्दै पार्टीमा कुरा राखिन् । चार जनासहित कमलालाई परिवार भेट्न पार्टीले अनुमति दियो । उनले मामाघरमा आमासँग भेट गर्न वातावरण मिलाउन अनुरोध पनि गरिन । प्रहरीको चर्काे दमनका बेला मामाले नै आमासँग भेट गराउने प्रबन्ध मिलाई दिए । आमाले कमलालाई देख्नासाथ वेहोस् भइन । लुक्दै हिड्ने पस्थितीबाट अगाडि बढेकी कमला सात वर्षपछि परिवारको सम्पर्कमा पुगेकी थिइन् । तिम्रो छोरीको मृत्यु भइसक्यो, लुट्न गएको बेला प्रहरीले मार्यो, बलात्कार गरी मार्यो जस्ता कपोकल्पित र भ्रामक खबर आमा समक्ष पुर्याइएको रहेछ । त्यसले गर्दा मृत्यु भयो भनि आश मारेकी छोरी आँखा अगाडि देख्दा आमा बेहोस् हुनु स्वाभाविक थियो । त्यतिबेला आमाले अंगालो हाल्दै,’मरेर केही गर्न सकिँदैन, तर बाँचेर तिमीले धेरै गर्नुछ छोरी’ भन्दै आशीर्वाद दिएकी थिइन ।
१९ वर्षको उमेरमा जनयुद्धमा होमिएकी कमलालाई विवाह गर्न भने मन लागेन । जनताको मुक्तिका लागि लड्दालड्दै सँगै हिँडेका साथी आँखै अगाडि ढलेको देखिन् । त्यतिखेर आमा पनि चाहन्थिन उनको पनि बिहे होस भनेर । पार्टीमा जनवादी विवाह गरिन्थ्यो, विहान विवाह गरेका लाल जोडी बेलुका सहीद भएको पनि देखिन् । सँगै हिँडेको साथी ढल्यो उठाउन नसकेपछि सहयोद्धाको शरीर छोडेर हिड्नुपर्ने स्थिती पनि देखिन् । उनका सथीहरुले मन मिल्ने मान्छेसँग घरजम गरे । तर उनलाई भने बिहे गर्न मन लागेन । उनको त्यतातिर ध्यानै गएन ।
शान्ति सम्झौता पश्चात
वि.सं. २०६३ मंसिर ५ गते दश वर्ष लामो सशस्त्र जनयुद्धले शान्ति सम्झौता पश्चात नयाँ मोड तय गर्यो । २०६४ को संविधानसभाको निर्वाचनमा पार्टीले काभ्रेको तत्कालिन २ नम्बर क्षेत्रमा खटायो । उनको क्षेत्रमा माओवादीले जित हासिल गर्यो पनि । उनको नाम पनि समानुपातिकतर्फबाट सर्वसम्मत चयन भएको थियो । पछि सहीद परिवारको सदस्यलाई स्थान दिनु पर्ने भएपछि उनी बिना कुनै कठिनाई उनले आफ्नो नाम फिर्ता लिइन । संंविधानसभाको दोस्रो निर्वाचनमा भने कमला जनजातिको प्रतिनिधित्व गर्दै समानुपातिक सभासद बनिन् । सभासद भएपछि उनको काधमा थप जिम्मेवारी आयो । जनमुखी संविधान निर्माणका लागि उनले धेरै पटक आफ्नो आवाज बुलन्द पारिन । आफ्ना मागहरुलाई उठान गर्न कमलाले शून्य समय, विशेष समय कुनै पनि छोडिनन् । जनजातिहरुको अधिकार सुनिस्चित गर्न उनले निकै संघर्ष गरिन् । २०७२ असोज ३ गते देशमा पहिलोपटक जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान बन्यो । ९० प्रतिशत सभासद्को हस्ताक्षरमा नयाँ संविधान पारित भयो । जसमा उनको हस्ताक्षर पनि रहेको छ । सामान्य किसान परिवारबाट आएर राज्यको संविधान जारी गर्ने जस्तो महत्वपूर्ण कुरामा हस्ताक्षर गर्न पाउनु आफ्ना लागि गर्वको कुरा रहेको उनी बताउँछिन् ।
उनी ठोकुवा गर्छिन माओवादीको दस बर्ष लामो सशस्त्र संघर्षकै जगमा विभिन्न जनआन्दोलन पछि मात्र यो देशमा गणतन्त्र, समावेशिता र संघीयता आएको हो । माओवादीकै नेतृत्वमा नेपालमा विभिन्न परिवर्तनहरु आए । नयाँ संविधान घोषणादेखि महिला, उत्पीडन, जनजाति, पिछडिएका वर्गका हकहितका लागि पनि माओवादीले नै सब भन्दा पहिले आवाज बुलन्द बनाउदै आएको हो । र जनताका न्यायोचित माग पनि माओवादीले नै उठाउँदै आएको हो । उनका अनुसार माओवादीले जनयुद्धकाल भन्दा अघि देखि नै जनताको बीचमा पुगेर जनताको सपना पूरा गर्ने बचन दिएको हो र पूरा पनि गर्दै छ । त्यसैले नै हो जनताले माओवादीलाई विश्वास पनि गरेको र साथ पनि दिए । उनी भन्छिन जनताको साथ बिना त्यो सम्भव हुने थिएन । त्यसैले आजको अवस्थामा पुग्नुमा माओवादीलाई नै त्यसको श्रेय जान्छ । तर सत्तामा हुँदा कतिपय कुरामा ध्यान नपुगेको उनी स्वीकार्छिन ।
पार्टीमा जिम्मेवारी
माओवादी पार्टी नै आफ्नो पहिलो र अन्तिम पार्टी भएको बताउने कमला सुरुवाती चरणदेखि पार्टीमा कुनै न कुनै जिम्मेवारीमा रहेर काम गर्दै अगाडि बढिन् । पार्टीमा डिसीएमदेखि,तत्कालीन राज्य समिति, प्रदेश समिति सदस्य, सचिवालय सदस्य हुँदै विभिन्न जिम्मेवारीमा रहेर काम गरिन् । हाल उनी पार्टीको बागमती प्रदेशको समन्वय समिती डिओसी इन्चार्जको जिम्मेवारी बहन गरि रहेकी छिन । पार्टीको आठौं महाधिवेशनपछि भने पार्टीको केन्द्रीय समिती सदस्य भई काम गरिरहेकी छिन् । पार्टीको केन्द्रिय समितिको आकार सानो भए पनि चुस्त हुनु पर्ने उनको धारणा रहेको छ ।
पार्टीमा हावी भएको व्यक्तिबादी सोच र चिन्तनले घाटा गर्ने त्यसलाई सच्याउदै अघि बढनु पर्ने उनको बिचार रहेको छ । उनले पार्टी को आव्हानमा आफ्नो कानको दुई तोला सुन फुकालेर बुझाउदा एक इमान्दार कम्युनिस्ट र कटिबद्ध सिपाहीको अनुभुती भएको थियो । उनी छाती गर्वले फुलेर आएको स्मरण गर्छिन् । सम्पत्तिप्रतिको आसक्तिले मानिसको बिचार प्रभावित हुने र यसले पार्टीलाई हानी हुने उनी बताउछिन । र पार्टी निर्माणका लागि जनताले गरेको त्याग र बलिदानलाई खेर जान दिन नहुने उनको भनाई छ । प्रतिक्रान्तीबाट समयमै बच्नु पर्ने र पार्टीलाई सधै कंचन नदी जस्तै सफा राख्न आलोचना तथा आत्मआलोचनाको पद्धतिलाई निरंतरता दिनु पर्नेमा उनको जोड छ । उनका अनुसार जनयुद्ध सकिएको छैन यसको रुप मात्र बद्लिएको हो, हरेक नेता कार्यकर्ताले जनक तथा आफ्नो बर्गप्रतिको दायित्व बिर्सिनु हुदैन !
(कमला दोङसँग पुष्पा महराले गरेको कुराकानीको आधारमा तयार पारेको सामाग्री)