हरेक वडामा ल्याब टेस्टको सुविधा र काठमाडौंको कालिमाटीमा आफ्नै कृषि स्टल छ: अमर सिंह घर्ती मगर, माडी गाउँपालिका अध्यक्ष

अन्य अर्थ राजनीति समाचार

चैत्र १३ बुधबार,२०८१-
(रोल्पाको माडी गाउँपालिकाका अध्यक्ष अमर सिंह घर्ती मगरसँग हाम्रो प्रतिनिधि रचना राना मगरले ‘६ प्रश्न’कालागि गरेको कुराकानी)
१.यहाँको हाल सम्मको कार्यकालमा कुन कामले धेरै संतुष्ट हुनु हुन्छ
-मेरो कार्यकालमा खासमा शिक्षा, कृषि, स्वास्थ्यमा भएको छ । र सब भन्दा बढी कृषिमा नै भएको छ ।
स्वास्थ्यमा हाम्रो १५ सैयाको हस्पिटल बन्दै छ । हरेक वडामा
ल्याबको ब्यबस्था गरिएको छ । त्यो सुविधा अरु पालिकाले गरेको छैन । करार नियुक्ति गरेर भए पनि ल्याब टेक्निशियन ल्याएर ल्याबका सामान सहित अहिले सबै वडामा ल्याब टेस्टको व्यवस्था गरिएको छ । अब सो सुविधाका लागि जनतालाई बाहिर जान परेन । ६० बर्ष भन्दा माथीका वृद्ध तथा अपांगलाई घरमै गएर सेवा दिन्छौं । अनि पालिकाले आफै एमबीबीएस डाक्टर करारमा नियुक्ति गरेर सेवा दिइ राखेका छौ ।
यता शिक्षा तर्फ विद्यालय भवनमा जस्ता पाता लगाउने अभियान चलाएका छौँ । सबै भवन आरसीसीटी गरि राखेका छौ । लगभग ८०% सकीएको छ । योजना आयोग र गाउँपालिकाको साझेदारीमा चाही करिब ७ करोडको शैक्षिक कार्यक्रम छुट्टै हामीले लागू गरिसकेका छौ । अपाङ्ग नेत्रहीन विद्यार्थीहरुको लागि छुट्टै बिद्यालय संञ्चालन गरेका छौ ।

२.पर्यटनमा के कस्तो सम्भावना छ र त्यसका लागि के आधार तयार पार्नु भएको छ?
-पर्यटनको कुरामा रोल्पा जिल्ला खासमा माडी गाउँपालिका धेरै सम्भावना बोकेको क्षेत्र त होईन, तै पनि हामीले वार टूरिज्म सेन्टरको रूपमा ती पर्यटकिय क्षेत्रलाई बनाउदै छौ । र यसको रिजल्ट एक दुई बर्ष पछि मात्र निस्किन्छ जस्तो लाग्छ । पर्यटकिय क्षेत्रमा वार टूरिज्म सेन्टरमा धार्मिक स्थलहरुलाई हाल केन्द्र बनाएर काम गरि रहेका छौ । अन्य सम्भावनाहरुको पनि खोजी गरेर आगामी योजना बनाउने छौ ।

३.महिला बालबालिका तथा जेष्ठ नागरिका लागि के पहल गर्नु भएको छ?
-जेष्ठ नागरिक अपांगहरुको हकमा यो बर्ष देखि कार्यनव्यन हुने स्वास्थ्य बिमा कार्यक्रम लागु गर्दै छौ । त्यसपछि वृद्ध भत्ता लगायतका सामाजिक भत्ता उहाँहरुले पाउनु नै भएको छ ।

४.तपाईंको पालिका युद्धकालको माओबादी आधार नै थियो शहिद घाइते परिवारलाई राहत दिन के गर्नु भएको छ?
-सहिद परिवार तथा घाइते परिवारहरुलाई राहत हुने गरि कार्य गरि रहेका छौ । अर्को कुरा आर्थिक अबस्था कमजोर भएका ब्यक्तीहरुका लागि रोजगारी दिने विषयमा हामीले केहि कार्यक्रम बनाएका छौ । जस्तै उनीहरुलाई जीवीकोपार्जनका लागि खेती योग्य जमिनमा अनुदान दिने कुरा छ । उनीहरुको खेत जमिन प्रयोगमा ल्याउनका लागि अनुदान दिने । त्यसैगरी बाख्रापालन, सुन्तला खेती र कृषि आय आर्जनको र साना उद्यमहरुमा समेत जोडने काम भएको छ । र दोस्रो कुरा आफ्नो हिसाबले संघीय सरकारले घोषणा गरेका कार्यक्रमहरु जाने नै भयो । त्यो सँगसँगै पालिकाले केही कार्यक्रमहरु मासिक रूपमा उनीहरुलाई हजार पन्ध्र सयका दरले भए पनि उपलब्ध गराउदै आएको छ । त्यसपछि आर्थिक रुपले पिछडिएका बालबालिकालाई पठन पाठनमा केही सौलियत गर्ने कुरा छ्दै छ ।

५.किसानका हकमा के के कामहरु भएका छन ?
-किसानहरुका हकमा किसान सूचीकरण सम्पन्न भएको छ । हाम्रो लगभग ४२०० घरधुरी हाम्रो गाउँपालिकामा छ । १३०० जति घरधुरीलाई संगठित गरेर उनीहरुलाई पार्ट पार्टमा सुन्तला खेती गर्नेहरुलाई सुन्तला समुह, लसुन खेती गर्नेलाई लसुन खेती समुह , किबि खेती गर्नेलाई किबि खेती समूह, बाख्रापालन गर्नेहरुलाई बाख्रापालन समूह,तरकारी खेती गर्नेलाई तरकारी खेती समूहमा विभाजन गरेर योजना बनाएका छौ । यसरी १३०० घरधुरीलाई उनीहरुको रुचि र अनुकुल मौसम अनुसार गोलबन्द बनाएर कृषि मै रोजगार बनाउने प्रयासमा छौ । यस कार्यक्रममा हामी लागेको करिब ३ बर्ष भयो ।
त्यस्तै गाउँपालिकाको कृषि गाडी खरिद गरेका छौँ र माडी गाउँपालिकाको काठमाडौंस्थित कालिमाटीमा आफ्नै स्टल रहेको छ । हाम्रो आफ्नै उत्पादन भएको सामान चाहिँ बिक्री गर्नेलाई प्रतिस्पर्धामा नै छुट दिन्छौं । कहिलेकाहीँ मात्र यस्तो समस्या आउँछ; धेरै यस्तो समस्या आएको छैन । अब बजार भाउ पाएन भने हामिले संकलन गरि कालिमाटीको स्टलमा हामी आफै पुर्याउछौँ ।

६.आगामी योजना के कस्ता रहेका छन?
-आगामी योजनाहरुका लागि अब कार्यकालका हिसाबले हाम्रो दुई बर्ष बाकी छ । २ बर्षमा यी कार्यक्रम हामीले जुन कार्यहरु गरि राखेका छौ; ती कार्यहरुलाई पुर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । अरु नयाँ कार्यक्रम बनाएर बिचमा छोडनु पर्ने हुन्छ, त्यसो भएर नयाँ हामीले जुन कार्य योजना ३ बर्ष अगाडी तयार गरेका थियौ यसलाई सम्पन्न गर्ने गरि हामी लागी परेका छौ । अहिले हाम्रो सोच भनेकै हामीले कोरेका योजना सफल बनाउने हो ।