संघीयता आए पनि प्रशासनिक र बित्तीय संघीयताको अझै अभ्यास गर्न सकिएको छैन: बिर्ख बहादुर बिष्ट, अध्यक्ष- सानीभेरी गाउँपालिका रुकुम पश्चिम्

अन्तर्वार्ता राजनीति समाचार

(रुकुम पश्चिम, सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिष्टसँग ‘६ प्रश्न’ का लागि द वाकर प्रतिनिधि रचना राना मगरले गरेको कुराकानी)
चैत्र २४ आइतबार,२०८१-
१.सानी भेरी गाउँपालिकाको विशेषता के छ?
-सानीभेरी गाउँपालिकको बिशेषता भनेको ११ वटा वडावाट बनेको गाउँपालिका हो । यसमा साबिकका ५ वटा गाबिसहरु छन् र यहाँको जनसंख्या २७,२९५ छ । यसै गरि यहाँका ७५% मान्छे कृषिमा निर्भर छन । त्यो पनि साना किसान र गरिब किसानहरुको नै बसोबास छ । अन्य रोजगारी काम गर्नेहरु २५% भन्दा नि कम हुनुहुन्छ ।सानीभेरी नदीको किनारमा राम्रो सिंचाइ खेती योग्य भुमी छ । सबै भन्दा अग्लो मौराखारा लेक ३००० मिटर, हराभरा भएको मैदान क्षेत्र,मालिका लेक,भेरी दह,सानीभेरी नदि लगायत यहाँका पर्यटकिय स्थल हुन । रिम्ना दोभान आकर्षणको केन्द्र हो । क्षेत्री,जनजाति, दलित र अन्य जातिहरु बसोबास गरेको ठाँउ हो । यहाँका मान्छेले हिन्दु धर्म लगायतका अन्य धर्महरु पनि मान्छन् । र यो एक हिसाबले असाध्यै सुन्दर र प्राकृतिक स्रोत साधनले भरिपुर्ण एउटा सुन्दर गाउँपालिका हो । यहाँको रहन सहन रितिरिवाज नेपालका अन्य पश्चिम केन्द्रित जिल्लासँग मिल्छ ।

२.अहिले सम्मकै आफैलाइ लागेको उत्कृष्ट कार्य के भएको छ?
-हामीले चुनावको समयमा प्रतिबद्धता जनाएको आधारमा सामाजिक क्षेत्रमा,शैक्षिक गुणस्तरका लागि विभिन्न क्रियाकलापहरु तालिमहरु, शैक्षिक भ्रमण,बिद्यालय मर्ज समायोजन शिक्षक सरुवा,सामाजिक क्षेत्रमा जेष्ठ नागरिक,बालबालिकालाई सेवा, सरसफाइ र खानेपानीमा पनि काम गरेका छौ । कृषि उत्पादन र पशुमा आधारित कार्यक्रममा पनि कृषिहरुलाई दिने अनुदान, सुत्केरी जेष्ठ नागरिकलाई दिने सेवा, आकस्मिक निशुल्क एम्बुलेन्स, विभिन्न खालका घटनाहरु घटे पछि आकस्मिक सेवा प्रवाह दिने गरिन्छ । २१ २२ % रहेको खानेपानी हामीले अहिले ४५ % मा पुर्याएका छौ । बाटोहरु ट्रयाक ओपन गरियो अहिले स्तरोन्नति गरेका छौ । बिद्यालय भवनहरु निर्माण गरेका छौ,भुकुम्पले थिलो थिलो परेको समुदायलाई हामीले गाउँपालिकाबाट संस्थाहरुसँग मिलेर जनतालाई पूर्ण राहत दिने काम गरेका छौ । अहिले १८० जनालाई ५० दिने तालिम, सिकर्मी, डकर्मी, प्लम्बर, हाउस वायरिङ्का लागि सीटीईभीटीबाट प्रमाण पत्र दिने खालका कार्यहरु भएका छन् । सबै विषयगत क्षेत्रहरुमा नराम्रो गरियो भन्ने अबस्था छैन ।

३.यहाँहरुले काम गर्दा मुख्य बाधाहरु के रहेका छन?
-पहिलो समस्या भनेको स्रोत साधन समस्या हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ८ बर्ष पूरा भएर ९ बर्षमा प्रवेश गरेको अवस्था छ तर प्रशासनिक संघीयता र बित्तीय संघीयता अझै अभ्यास गर्न सकिएको छैन । विभिन्न संघीय कानुनहरु आउन बाँकि छ । संघीय कानुन कै आधारमा हामीले विभिन्न पालिकाले बनाउने ऐन कानुन पनि त्यही एउटा बनायो भने कामहरु पनि सहज हुने थियो । मुख्य बाधक भनेको आयस्रोत र साधन नहुदा जनताकै अपेक्षा थुप्रै छन । जनताबाट ट्रयाक ओपन भएको सडक स्तरोन्नति माग भईराखेको छ, त्यो अहिले सकिदैन । बिद्यालयका पक्की भवन बनाउनु पर्ने छ । हरेक वडामा खेलमैदान भन्ने छ, कयौं बाख्रापालन फर्म,भैंसी फर्म छन;उहाँहरुले अनुदान दिनु पर्यो गोठ सुधार गर्ने भन्नू हुन्छ,त्यो तत्काल हामीले सक्ने भन्ने अबस्थामा छैन । हरेक वडा स्वास्थ्य केन्द्रमा औषधीको कमी छ आर्थिक स्रोतले सक्दैन । यसरी हरेक क्षेत्रमा अहिले जमाना अनुसार माग छ ।
अर्को कुरा जनताको सोचाइमा परिवर्तन आवश्यक छ,आफुले केही गर्नु पर्छ सरकारलाई मात्र गाली गरेर हुँदैन भन्ने छैन । भौगोलिक कठिनाईका कारणले पनि जनताको काम उपलब्ध श्रोत र साधानबाट गरि रहेका छौ ।

४.कृषि र स्वास्थ्यमा के नयाँ काम गर्नु भएको छ?
-स्वास्थ्यमा अति गरिबहरुका लागि स्वास्थ्य बिमा बनाएका छौ । गाउँपालिका हस्पिटलमा त्यो बिमा लागू भएको छ । उपचार गर्न नसक्नेलाई पनि हामीले कार्यलयमा बोलाएर र उपचारको व्यवस्था गरेका छौ । गाउँपालिकाबाट अन्य थुप्रै खालका रोगको उपचारका लागि शिबिरहरु सञ्चालन गरेका छौँ । र क्यान्सर भएका बिरामीहरुलाई गाउँपालिकाले मासिक ५००० प्रदान गर्ने गरेका छौँ ।
कृषिमा किसानले जति पनि उत्पादन गर्छन त्यसको बिक्रि गरेको आधारमा हामीले अनुदान दिएका छौ । पशुमा विभिन्न खालका रोगहरु लाग्ने र त्यसका आधारमा हामीले उपचार केन्द्रहरु निर्माण गरेका छौ ।

५.तपाईको पालिका बिगतको माओवादी आधार थियो युद्ध पर्यटनका लागि के गर्नु भएको छ?
-२०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सञ्चालन गरेको जिल्ला हो रुकुम । यसमा ६५५ जना हाम्रा आदरणीय सहिदहरुले योगदान दिनु भएको छ । राज्य पक्षबाट निर्दोष जनता पनि दाउरा घाँस गर्न गएको बेला, राति सुति रहेको अवस्थामा ठुलो यातना बलात्कारसहित बर्बरतापुर्वक मारीएका छन । धेरै आमाका काखहरु रित्तिएका छन र धेरै दिदिबहिनी विदुवा भएका छन । हाम्रा कैयौं साथीहरू अङ्गभङ्ग भएका छन ।
पर्यटकिय हिसाबले २०५२ साल फागुन १ गतेलाई स्मरण गर्दै गुरिल्ला म्याराथुनको आयोजना हुन्छ । म्याराथुन दौडको रूपमा प्रत्येक बर्ष सानीभेरीको मौराखारा लेकमा तत्कालीन जनमुक्ति सेनाले प्लाटुन नम्बर १ र २ ले २०५३ सालमा तालिम गरेको अवशेषहरु मौराखारा ठुलो लेकमा अहिले पनि त्यहाँ रहेका छन् । त्यसलाई हेर्नको लागि केही संरचनाहरु बनाइ रहेका छौ । त्यहाँ गएर घुमेर आउने बाताबरण पनि बनाएका छौँ । हामीले युद्ध संग्रहालय भवन पनि बनाएका छौँ । हिजो कसरी युद्ध लडेका थिए माओवादी भनेर त्यो कुरा पनि जनतालाई बुझाउन महत्त्वपूर्ण कामको सुरुवात गरेका छौ र सम्पन्न भएको छैन ।

६.आगामी योजना के रहेका छन?
-आर्थिक बर्ष ८२,८३ को लागि हामी योजना तर्जुमामा अब जाँदै छौ । २०८० कार्तिक १७ को भुकुम्पले ६,३३८ घरहरु पूर्ण रूपमा क्षती भएका छन । अहिले ढिलै भए पनि लाज लाग्दो अबस्थामा अहिले पुनर्निर्माण हुने अबस्थामा हामी भर्खरै निर्णय गर्दैछौ । बनी सक्नु पर्ने अबस्थामा मुल्यांकन भईराखेको छ । पहिलो प्राथमिक घर बनाउने त्यस पछि भत्केका संरचनाहरु,विद्यालय सामुदायक संरचनाहरु बनाउने रहेका छन । यो सँगसँगै जनतालाई जिबिकोपार्जन सम्बन्धी विभिन्न कार्यक्रमहरु,उत्पादन,रोजगारी भूकुम्पसँग जाेडेर विभिन्न संघ संस्थाहरुसँग काम गर्छौ । शिक्षामा डिजिटल प्रविधिबाट काम गर्ने योजना चलिरहेको छ । स्वास्थ्यमा पनि केही सुधारका लागि काम गर्ने यस पटक पनि योजना बनाएका छौ । खासगरी साना कार्यक्रमहरु प्रभावकारी कृषि र पशु सम्बन्धि पनि उल्लेखनीय जनतालाई मन छुने यस पटक हामीले योजना बनाएका छौ र बालबालिका जेष्ठ नागरिक महिला अति गरिब र दलितका लागि पनि थप केही नयाँ सेवा सुबिधा कार्यक्रम यसमा ल्याउने हामीले योजना बनाएका छौँ ।