(गोर्खास्थित धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङसँग हाम्रो प्रतिनिधि पुष्पा महराले ‘६ प्रश्न’ का लागि तयार पारेको सामाग्री)
१. धार्चे गाउँपालिकाको विशेषताबारे केही बताइदिनुहोस् न ?
– धार्चे गाउँपालिका गोरखा जिल्लाको उत्तरी क्षेत्रतिर पगर्छ । भौगोलिक हिसावले अलिकति दुर्गम र अलि भिरालो छ । बुढीगण्डकी नदीको दायाँबायाँ जम्मा सात वटा वडा छन् । बुढीगण्डकी पारी तीन वटा र वारि चार वटा वडा रहेका छन् । हिमालहरु नजिकाबाट देखिने, विभिन्न प्रकारका जडीबुटी पाइने, प्राकृतिक रुपले सम्पन्न पर्यटकीय क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना धेरै रहेको छ । यहाँ तातोपानी छ, बनैभरी ढकमक्क लालीगुँरास फुल्ने गर्छन, यिनै हुन् यहाँको विशेषता । यहाँ करीब १५ हजार जनसंख्याहरु बसोबास गर्दै आइरहेका छन् । यहाँ कृत्रिम संरचनाभन्दा पनि प्राकृतिक दृष्टिकोणले पर्यटकीय संभावनाहरु प्रशस्त छन् । हिमाल, पहाड, डाँडाकाँडा, खोलानाला, ताल, तातोपानी, लालीगुँरास, झरना सबै प्रत्यक्ष हेर्न पाइन्छ । त्यहाँसम्म जानका लागि हामीले स्तरीय बाटाको मर्मत सम्भार गर्ने कामहरु गरिरहेका छौँ । कतिपय ठाउँहरुमा बनाएर पनि सकिएको छ भने केही बन्ने क्रम जारी छ । विशेष गरी यो मनास्लु ट्रेकिङ रुटमै नेपालमै पहिलो नम्बरमा पर्छ । यो धार्चेको बीचबाट जाने हो । यहाँ विदेशी तथा स्वदेशी पर्यटकहरुको आवातजावत हुने गर्दछ । मनास्लु जाने पर्यटकहरु वार्षिक १२ हजारदेखि २२ हजारसम्म यही बाटो भएर हिड्ने गरेको तथ्यांक छ । गाउँ–गाउँ घुम्ने, होम स्टे बस्ने, नमुना बस्ती घुम्न आउने, हिउँ खेल्न आउने आन्तरिक पर्यटकहरु पनि यहाँ आउने गर्छन् । अहिले बाटो राम्रो भएकोले आन्तरिक पर्यटकहरु पनि बढ्दै छन् ।
२. तपाईको पालिकाको मुख्य स्रोत के हो ?
– हाम्रो पालिकाको आर्थिक वृद्धि हुनसक्ने मुख्य स्रोत भनेको यहाँको जल नै हो भन्ने लाग्छ । जुन बगिरहेका जलस्रोतहरु छन्, तिनलाई सही सदुपयोग गर्न सकियो भने धार्चे धेरै माथि पुग्छ । अहिले झण्डै आठ सय मेगावाटको जलविद्युत आयोजना दर्ता भएर बन्ने तयारीमा छ । कुनै फ्रि कन्स्ट्रक्सन कुनै अण्डर कन्स्ट्रक्सन काम भइरहेको छ । यो बन्यो भने धार्चेको आन्तरिक स्रोत निकै बजबुद हुने पक्का छ । यो बनिसकेपछि एक वर्षमा २५ प्रशितशत कर मात्रै झण्डै ८० करोड हुन आउँछ । यसो हुँदा पाँच छ सय दक्ष जनशक्तिले यहाँ रोजगार पाउने सम्भावना रहन्छ । अझ तल्लो तहको ज्याला मजदुरी गर्नेहरुसहितको कुरा गर्ने हो भने यो हाइड्रो बनिसक्ने बेलासम्म झण्डै ६ हजार मानिसहरुले रोजगार पाउने अनुमान छ । यो हाइड्रोले हाम्रो धार्चेलाई धेरै नै अगाडि ल्याउने सम्भावना छ । यहाँ करिव पौने आठ सय मेगावाट जतिका हाइड्रोपावरहरु दर्ता भएका छन् । बुढीगण्डकीमा मात्रै ३ वटा ३४१ मेगावाट, १०३ मेगावाट, २२९ मेगावाट गरेर ७०० यहाँ नै छ । त्यस्तै कोही ४०, कोही ३०, कोही १६, कोही १०/५ मेगावाट गरेर ठाडो खोलाहरुमा पनि छन् ।
३. तपाईको पालिकामा पर्यटनको राम्रो सम्भावना, हाइड्रोको राम्रो सम्भावना भनेपछि कृषि र कृषकको अवस्था कस्तो छ ?
– धार्चेमा कृषि क्षेत्रमा भने घाटा नै छ । यहाँ जीवन निर्वाहका लागि किसानहरुले कृषि गरि रहेका छन् । व्यापार–व्यवसायको लागि भने घाटा छ । यहाँ कृषिमा भएको आधुनिकरणलाई प्रयोगमा ल्याउन सकिएको छैन । हिजोको जस्तो परम्परागत कृषि उत्पादन प्रणाली थियो, त्यसैलाई अंगालेर खेती किसानी गर्दा उत्पादन लागत महंगो पर्न जाँदो रहेछ । त्यसकारण बजारसँग प्रतिस्पर्धा गर्न सकिँदैन । आफू खान र परिवार पाल्नका लागि कृषि पेशा गरिरहेका भएपनि कृषि व्यापारका लागि भने यो घाटा नै छ । त्यस्तै पशुपालनमा भने घाटा छैन । यहाँ झण्डै झण्डै ४ हजार घरधुरीहरु छन् । जसमा ५० प्रतिशत जनता पशुपालनमा निहित छन् । भेडा, बाख्रा र गाईपालन गर्छन् । बेशीतिर भैसी पालन पनि गर्छन् । हिमाल नजिक भएकाले बस्ती पनि कम छन् ।
हाम्रो पालिकामा अहिले सुरु गरेको आयोजना सम्पन्न भयो भने एउटै पालिकामा पौने आठ सय मेगावाट विजुली उत्पादन हुने पहिलो गाउँपालिका बन्ने छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता पनि हाइड्रोलाई दिइएको छ । त्यसपछि पर्यटन प्रवद्धनमा जोड दिने गरेका छौं । त्यसैबाट आर्थिक अवस्था राम्रो बनाउने मुख्य योजना रहेको छ ।
४. तपाईले गर्नुभएको सन्तोषजनक काम के हो ?
– मलाई त यहाँको विकास निर्माणमा भन्दा पनि नीतिगत कुरामा परिवर्तन गर्न मन छ । यहाँ बसोबास गर्ने जनताको विचारमा परिवर्तन ल्याउने कुरामा प्रयत्नरत छु । हामीले के पायौं भन्दा पनि के त्याग गर्न सक्यौं भन्ने कुरा ठूलो हो जस्तो लाग्छ । मैले गरेको केही त्यागले कसैको राम्रो हुन्छ भने त्यसमा पछि पर्नुहुन्न भन्ने मेरो धारणा हो । मैले केही गुमाउन सके पो पालिकाको पनि विकास हुन सक्छ भन्ने विचार परिवर्तन गराउनु पर्ने छ । काम गर्दा ‘म’ भन्ने शब्द छोडेर ‘हामी’लाई अंगाल्न सक्यो भने सफल हुन्छौं भन्ने हो । हिजो म चुनावमा हिँड्दा मेरा अगाडि पछाडि १०० जना मानिसहरु हिँड्ने गर्थे । मैले व्यक्तिगत ढंगबाट उनीहरुका लागि केहि गरेको छैन । तर, मैले व्यक्तिको अनुहार हेरेर, गुटका भरमा कहिले व्यवहार गरिन । अनुभवका आधारमा, उत्पादनका आधारमा जो गर्छु भन्छ त्यसलाई हामीले जो भए पनि सहयोग गर्यौ । फिल्डमै प्राविधिक गएर त्यहाँको उत्पादनको लेखाजोखा गरेर मात्रे हामीले पैसा दिएका हौं एउटा फर्मलाई २ लाखसम्म पनि दिइरहेका छौं । जसले राम्रो काम गरेर देखाउँछ उसले पैसा पाउँछ, नगर्नेले पाउँदैन । नत्र त काम नगर्ने, कागजपत्र बनाउने, झोलामा हाल्ने, पशुपालन गर्ने भन्ने, खोर बनाउने, पशु नहाल्ने, त्यस्ता गलत नियतबाट पालिकाबाट अनुदानका लागि प्रयास पनि नभएका होइनन् । कसैको गोठ हुन्छ गाईभैंसी हुँदैन, कसैको खोर बाख्रा हुँदैन, कसैले सानो पोखरी छ, तर माछा हुँदैन । त्यो हुने हुनाले पनि त्यतिकै मागेको आधार पैसा वा अनुदान दिने गर्दैनौं । त्यस्ता फर्जी काम गर्नेहरुलाई चिनेर हामीले अनुदान रोक्का गरेका हौं । हामीले वास्तविक फिल्डमै उत्रिएर वास्तविकता पहिचान गरी अनुदान दिएका हौं । उदाहरणका लागि कुखुराको लागि अनुदान दिँदा ४० दिन कटेपछि त्यो खोरमा कति खुकुरा छ ? एउटा कुखुराको ६०, ७०, ८० अर्थात चल्लाको पैसा बराबर दिन्छौं । खसी, बोका वा रागोका लागि पनि दिन्छौं, माउको लागि भने दिँदैनौं । पशुपालनमा उत्पादन गरिसकेपछि सुरुवाती लागत पालिकाले दिने व्यवस्था गरेका छौं । त्यो पनि खोरमा गएर हेर्ने कस्तो छ, कसरी गरिरहेका छ ? त्यो सबै जाँचबुझ गरे मात्र उत्पादनका आधारमा दिने गर्दछौं । यद्यपि आफ्नो प्रयोग वा खानका लागि नभई उत्पादन गरेर बेच्नको लागि हो भने मात्रै अनुदानको व्यवस्था छ । तरकारी, फलफूलमा पनि कसको धेरै उत्पादन भएको छ, कसको कम उत्पादन भएको छ भनी प्राविधिक कृषि टोलीहरु गएर जाँचबुझ गरेर इस्टिमेट गरेको आधारमा चाहिँ अनुदान दिने गछौं । यो काम प्रभावकारी रुपमा अगाडि बढीरहेको छ ।
५. देशमा संघीयता आएर तीन तहका सरकारहरु बनेका छन्, त्यो संघीयता पूर्णरुपमा कार्यान्वयन भएको जस्तो लाग्छ तपाईंलाईं ?
– कुनै पनि काम एकैचोटी त हुँदैन । संघीयता आएपछि स्थानीयलाई अधिकार चाहिँ थुप्रिदैं आएको छ तर बजेट चाहिँ कम छ । मु्ख्य समस्या पनि यही हो । हिजो सानो काम पर्दा पनि जिल्ला सदरमुकाम वा काठमाडौं धाउनु पर्ने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । अहिले काम पर्यो भने वडा वा पालिकामा आएपछि काम तत्काल समाधान हुने अवस्था छ । कथमकदाचित समाधान गर्न नसकेतापनि आमने सामने भएर समस्याका विषयमा छलफल गर्न पाउने अवस्था छ । त्यसैले संघीयता आएकोले यो एउटा फाइदा चाहिँ भएको छ । प्रष्टरुपमा जनतालाई बुझाउन पाइएको छ । काम गर्ने क्रममा प्रशासनिक रुपमा केही स्वायतत्ता छ । कसरी चलाउने भन्ने कुरा चाहिँ जनप्रतिनिधिको हातमा हुन्छ । कसरी गर्ने भन्ने चाहिँ माथि संविधान बनाउनेको हातमा हुन्छ । स्थानीय सरकार २०७४ त्यो भित्र टेकेर नै हामीले हाम्रो आवश्यकताहरु कसरी पूरा गर्ने भन्ने सोचेका छौं । यहाँको प्रमूख प्रशासकीय अधिकारी बाहेक सबै कर्मचारी प्रदेश सरकारबाट खटाउने हो । त्यसैले कर्मचारीको सम्बन्धमा सिधा प्रदेशसँग सरोकार हुन्छ ।
६. माओवादीको दशवर्षे जनयुद्धमा योगदान पुर्याउनु भएका सहीद, घाइते तथा द्वन्द पीडितहरुका लागि के कस्ता कामहरु गर्नुभएको छ ?
– हाम्रो पालिकामा केही सीमित बाहेक द्वन्दपीडितहरु छैनन । जति हुनुहुन्छ उहाँहरुलाई समय–समयमा सम्मानसहित आर्थिक सहयोगहरु गर्ने गरेका थियौं । अहिले जनयुद्ध पार्क निर्माण गर्ने भनि बजेट नै छुट्याइएको छ । सडकको पहुँच पालिका भित्र सबै वडाहरुमा पुगिसकेको छ । वर्षामा भने केही समस्या हुन्छ । बुढीगण्डकी पारि भर्खरै दुई वटा बेलीव्रिज पुलको शिलान्यास गरेका छौं । अर्काे एउटा पनि शिलान्यास गर्दैछौं । त्यो सम्पूर्ण चाहिँ हाइड्रोलाई जिम्मा लगाएको छु । ती पुलहरु बने भने यहाँको आवत–जावतमा जनतालाई धेरै सुविधा पुग्नेछ । पठनपाठनका लागि विद्यालयहरु पनि राम्रै छ । हाम्रो प्राथमिकता भनेकै शिक्षा, स्वास्थ्य, सडक हो । शिक्षा स्तर मध्यमस्तरकै छ । विद्यार्थीको कमी भएपपछि पाँचवटा विद्यालयलाई मर्ज गरी अगाडि बढेका छौं । आधारभूत स्वास्थ्य अस्पताल चाहिँ १८ वटा छन् । कूल दुई जना एमबीबीएस डाक्टरहित २० जना कर्मचारी हुनु हुन्छ ।