नेपालमा निषाद समुदायको अवस्था बारे छोटो चर्चा-सत्यनारायण भगत बिन निषाद

राजनीति विचार

पुस १४,२०७९-

‘आज सम्मका दार्शनिकहरूले दुनियालाई बुझ्ने काम मात्र गरे मुख्य कुरो दुनियाँ बदल्नु हो !’ – कार्ल मार्क्स
शताब्दियों देखि नेपालमा मात्र होइन विश्वको कैयौं मुलुकमा निषाद समुदायको बसोवास रहेको तथ्य, तिनको कला संस्कृति र विभिन्न आलेख, अभिलेखहरूवाट स्पष्ट हुन्छ । दुनियाँका समाजशास्त्री दार्शनिकहरूको तर्क अनुसार निषाद समुदाय यो धर्तिकै सबै भन्दा सचेत, अग्रज र बुद्धिमान सर्वश्रेष्ठ मानव समुदाय थिए । जसकारण यो समाजमा आइपरेको हरेक समस्याको निदान ‘निषाद समुदाय’ ले नै गर्ने गर्दथ्यो । एक शब्दमा भन्नु पर्दा निषाद समुदाय सिंगो समाजको ‘मुखिया’ को रूपमा चिनिन्थ्यो । निषाद समुदाय को जन्मजात गुणहरू अहिले पनि निडर, लडाकु, शिकारी, इमान्दार, मेहनती, सोझा सिधा, इमान जमान ले परिपक्क स्वभावका हुन्छन् । यो समुदायको बसोवास विभिन्न तथ्य हरूलाई हेर्दा मुख्यतः भारतिय उपमहादिपवाट सिन्धु सभ्यताको विकास गर्दै भारत, नेपाल, बंगलादेश,श्रीलंका, अष्ट्रेलिया, अमेरिका, पेरू, अफ्रिका, मेक्सिको लगायत विश्वको कैयौं मुलुकमा फैलिएको जाति समुदाय को रूपमा चिनिन्छ । यस समुदायको प्राय: समुद्री तट, नदि नाला, खोला खोच, पानी तलाव, जंगल किनार, भिरालो अप्ठ्यारो, पाखा पखेरामा बसोवास रहेको इतिहास भेटिन्छ । यो समुदाय समाजको अगुवा , हरेक दृष्टिकोण ले सम्पन्न, कलाकौशलमा निपुण, ज्ञानमा अबल, इतिहासमा राजकाज चलाएको कैयौं राजामहाराजा, ऋषि महर्षि र धर्तिकै सम्राटको रूपमा कैयौं महापुरूषहरू चिनिने गर्दछ । इतिहासमा मानवजातिकै सचेत समुदायको रूपमा चिनिने ‘निषाद समुदाय’ आज यो संसार भरि हरेक दृष्टिकोणले पछाडि पारिएको समुदाय को रूपमा दर्ज भइरहेको छ । संसार भरिको शासन सत्तावाट चौतर्फि अन्याय अत्याचार , जालझेल, षड्यन्त्र, उपेक्षा, विभेदको शिकार बनाईएको समुदाय हो भने त्यो हो निषाद समुदाय । तसर्थ संसारभरि का राज्यद्वारा भइरहेको निषाद समुदाय माथिको विभेदवाट नेपाल को निषाद समुदाय माथि विभेद नहुने कुरै भएन । किनकी यो मानव समाजको सभ्यता र विकासको क्रममा निषाद समुदाय माथि जबरजस्त अन्याय, अत्याचार, षड्यन्त्र को श्रृंखलाहरू एक पछि अर्को थपिदै निषाद समुदायको समृद्धिमाथि धावा बोल्दै आर्थिक रूपमा धाराशाही गर्दै हरेक दृष्टिकोणवाट सिद्ध्याइएको विभिन्न ग्रन्थहरूमा भेटिन्छ । यस छोटो लेख मार्फत नेपालमा निषाद समुदायको अवस्थाबारे छोटो चर्चा गर्ने प्रयत्न गर्दैछु ।
यो धर्तिमा मानव जातिको उत्पति र विकास संगसंगै समाज विकासको क्रममा निषाद समुदाय भारतिय उपमहादिप मा सिन्धु सभ्यताको जननी एवं त्यसको विकास मा अतुलनिय योगदान पुर्याएको, संबृद्ध मानव संगठित समुदाय हुन । विभिन्न ईतिहासकारका तर्कअनुसार बुझ्ने हो भने नेपालको पहिलो राजा (निषाद बंशीय) किराँत राजा यलम्बर थिए । यो समुदायको वारेमा दुनियाँ को दार्शनिक, समाजशास्त्री, इतिहासविद, धर्मशास्त्री निषाद समुदायलाई मानव समुदायकै सर्वश्रेष्ठ प्राणी मानेका छन । ऋगवेद, अजुर्वेद, रामायण, महाभारत, बृहद विष्णुपुराण, शिवपुराण, भागवत गीताले आ- आफ्नै तरीकाले ‘निषाद समुदाय’ को बारेमा सविस्तार व्याख्या गरेका छन । जब यो धर्तिमा ब्राह्मणवादको उदय भयो त्यति बेला देखिनै निषाद समुदायको मान सम्मान पहिचान माथि आक्रमण हुन थाल्यो । ब्राह्मणवादी चिन्तन को धर्मशास्त्री धुरन्धरहरू, लेखकहरू, बिधिविधानका निर्माताहरूले निषाद समुदायलाई तल्लो जाति समुदाय भएको ठहर गर्दै हाम्रो स्वाभिमान, पहिचानमाथि धावा बोल्दै हाम्रो उन्नति र समृद्धिको बाधक बन्दै गए । ईतिहास देखि वर्तमान सम्मको सूक्ष्म विश्लेषण गर्ने हो भने निषाद समुदायलाई राज्य र राज्य संचालक को मतियार हरूद्वारा चौतर्फि आक्रमण भएको जग जाहेर छ । जसले गर्दा आज यो समुदाय पहिचान विहिन अवस्थाबाट गुज्रिरहेको छ । नेपालको राजनितिक वृत्तलाई हेर्ने हो भने निषाद समुदाय विशुद्ध भोट बैंकको रूपमा चिनिन्छ । कुनै राजनैतिक पार्टी भित्र निषाद समुदायको प्रतिनिधिहरू को समुचित पहुँच छैन, राज्यमा कहि कतै स्थान छैन, सरकारी सेवामा सन्तोषजनक उपस्थिति छैन, संवैधानिक अधिकारबाट बञ्चित गरिएको छ, शिक्षामा स्थान छैन, आर्थिक जटिलताको शिकार भएको छ, समाजमा सम्मान छैन, अपहेलित, कुण्ठित, हिनताबोधका साथ बाँच्नु परेको छ । यो देशमा निषाद समुदाय दसौं लाखको हाराहारीमा उपस्थिति भए पनि दश हजार बीस हजार जनसंख्या भएको जाति समुदायको भोटर, प्रचारक, नोकर चाकर वा गुलाम भएर बस्नु परेको विवशता छ भने यो तितो यथार्थ छ । निषाद समुदाय माथि हुने राजनैतिक बेईमानी, आर्थिक शोषण , समाजिक अत्याचार यहाँको शासक, यहाँ भएको संपूर्ण राजनितिक दलहरू, नेताहरू सबैलाई राम्ररी थाहा छ । एउटै विषय थाहा छैन त्यो हो राजनैतिक अग्राधिकार; किनकी राजनैतिक अधिकार संख्याको अधारमा दियो भने त्यसले अनैतिक रूपमा उपभोग गरि रहेको अधिकार बाट कटौति हुन्छ । जुन विषय उनीहरूलाई पाच्य हुँदैन । मानौ हाम्रो निषाद समुदायको को राजनैतिक अधिकार राजनैतिक तस्कर, बिचौलिया, माफिया, दलाल र गुण्डाहरू को गिरफ्तमा रहेको छ ।
आज नेपालमा निषाद समुदाय को अवस्था हरेक दृष्टिकोणवाट प्रताडित र उत्पिडनको बिचमा दबाइएको छ । निषाद समुदाय संग प्रयाप्त जनसंख्या छ, युवाशक्ति पौरख र श्रम छ, कला र सीप छ, ऐतिहासिक काल देखि बसोबास गरेको नेपाली नागरिता छ, इमान्दारीता छ, साहस छ, तर पहिचान छैन, संवैधानिक अधिकार छैन, सचेत संगठन र संगठित छैनौ, हामी संग आवश्यक अर्थ छैन, हाम्रो शिक्षामा पहुँच छैन, न्याय र अन्याय पहिचान गर्ने हामीसंग ज्ञान छैन । जसले गर्दा राजनैतिक बहिषकरण समाजिक अन्याय र राज्यको पहुँच भन्दा धेरै टाढा हामी छौ । इतिहास देखि वर्तमान सम्म निषाद समुदायको बुद्धिजीवी, अगुवा, राजनैतिक कार्यकर्ता, विभिन्न संघ, संस्था संगठन निर्माण गर्दै निषाद समुदाय माथिको पीडा, निषाद समुदायको इतिहास, निषाद समुदाय लाई संगठित गर्ने र परिचालन गर्ने जमर्कोहरू न भएको होइन । विगत देखि हुँदै आएको छ । तर जुन गतिमा निषाद समुदाय अगाडि बढनु पर्ने हो त्यो गति प्राप्त भइरहेको छैन । यसको मूल कारण नितिगत सैद्धान्तिक बिचारको प्रतिपादन न हुनु, संगठन लाई अधिकार प्राप्तिका लागि गतिशिलतामा न बुझ्नु, उचित कार्यक्रम संचालन नहुनु, कुशल नेतृत्व र व्यापक नेता कार्यकर्ताहरू उत्पादन नहुनु, निरन्तर कार्यक्रम बनाई अभियान नचलाउनु, संगठन प्रति आशा भरोसा र विश्वास पैदा नहुनु जस्ता समस्याहरू उब्जिरहेको छन । यहिनेर सर्वहारा वर्गको मुक्तिदाता कार्ल मार्क्स भन्नु हुन्छ :- ‘आज सम्मका दार्शनिक हरूले दुनियाँ लाई बुझ्ने काम मात्र गरे मुख्य कुरो त दुनियाँ बदल्नु हो ।’ ठीक त्यसरी नै आज नेपाल को निषाद समुदायको सन्दर्भ मा भन्ने हो भने पुरातनवादी सोंच, चिन्तन , बिचार, बुझाईले निषाद समुदायको अवस्था परिवर्तन असंभव छ । सत्ता प्राप्तिको मिशन र भिजनकासाथ पुरानो सोंच, नक्कलवादी चिन्तन, र आयातित गरिएको संगठन र बिचार, सिद्धान्त पद्धतिवाट हाम्रो समुदाय को मुक्ति संभव छैन । अहिले सम्मको निषाद समुदायको संगठनले निषाद समुदायको बारेमा बुझ्ने काम मात्र गरेका छन जबकी मुख्य कुराको निषाद समुदायको समस्या सामाधान र अवस्था बदल्नु हो । त्यसकारण नेपाल को निषाद समुदायले नयाँ ढंगबाट, युग सुहाउँदो चेतना र बिचार को जगमा नयाँ हिसाबले सोच्नै पर्छ । सबैको भावना लाई समेटने गरि नयाँ चेतना र संघर्षनै जीवन को दोस्रो नाम हो । निर्भिक्तापूर्वक अगाडि बढनै पर्छ । हामीलाई राम्रोसंग थाहा छ :- ‘केही पाउन को लागि केही गुमाउनै पर्छ’ शुभास चन्द्र बोस ले भनेका थिए :- ‘तुम खुन दो मै अजादी दुंगा’ यो सार्वभौम सत्य हो । समाज विज्ञानको नियम लाई हेर्दा ‘जहाँ शोषण र दमन, त्याहाँ बिद्रोह र विस्फोट’ स्वभाविक बन्न जान्छ । यो विज्ञान संवत् विषय हो । तसर्थ हामीले यसरी संगठनलाई अगाडि बढाउदै जनचेतना बढाउँदै, जनस्तरमा संगठनको प्रभाव जमाउनु, संगठनलाई अधिकार प्राप्तिकालागि संघर्षमा उतार्नु र जब संघर्ष हुन्छ अनि राज्य बाट दमन हुन्छ र जब राज्य दमन गर्न आउँछ हामीले हाम्रो अधिकारको निमित प्रतिरोध अनिवार्य गर्नै पर्छ । जब हामी प्रतिरोध गर्छौ त्यहाँबाट मात्रै सत्ताको जन्म हुन्छ । त्यसकारण आउनुहोस् हाम्रो समुदाय माथि हुने हरेक प्रकारको विभेदको अन्त्यका लागि हाम्रो समुदायको अग्रज विद्वान, संगठित राजनैतिक कर्मीहरू, क्रान्तिकारी युवाहरू, शिक्षक, बिध्यार्थी, पत्रकार, वकिल, प्राध्यापक, कर्मचारी, महिला सवै तह तप्काका ब्याक्तित्व खुलेर छलफल गरौं, बहस गरौं र निश्कर्षकासाथ अधिकार प्राप्तिका निम्ति महासमरको यात्रामा अघि बढौं । आज सम्मको इतिहास निर्माण संघर्ष र केवल संघर्षकै बिचबाट निर्माण भएको छ । यात्रा हाम्रो केही जटिल हुन सक्छ तर जीत हाम्रै हुनेछ । धन्यवाद !
जय निषाद को अभिवादन !!